शुक्रबार, १६ चैत २०८०

विदेशमा नेम र फेम अनि फ्रिडम छैन : आस्था राउतसँग अन्तरंग

समयपोष्ट २०७४ असार २ गते ४:४३

१२ बर्षको उमेरमा अल नेपाल गायन प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि गायनक्षेत्रमा प्रवेश गरेकीे हँसिली र फरासिली देखिने आस्था राउत गायनकै माध्यमबाट समाज परिवर्तनमा भूमिका खेल्न सकियोस् भन्ने चाहना राख्छिन् । उनको घरको माहोल पनि सांगीतिक छ । उनका पिता हरिबहादुर राउत लोकगायक हुन् भने माता सावित्री राउत रचनाकार हुन् । मातापिताको संगीतप्रतिको माया देखेर हुर्किएकी आस्था आफैँ पनि संगीतलाई धेरै माया गर्छिन् । त्यही भएर पनि होला सायद, अमेरिका पुगेकी उनी त्यहाँ टिक्न सकिनन् र नेपालै फर्किइन् । ‘खासमा मलाई अमेरिकाले तान्न नसकेकै हो । विदेशमा पैसा त कमाइएला तर आफ्नो नेम र फेम अनि फ्रिडम छैन,’ उनी भन्छिन्, ‘म सधैँ संगीतमै केही गरौँ भन्ने सोच राख्थेँ । मेरो गायकी कला नेपालीबाहेक अरूले कसले चिन्न सक्ला र ?’ समयबोधले उनीसँग गरेको कुराकानी ।

Advertisement

गीत–संगीतमा कहिलेदेखि र किन लाग्नुभयो ?
म गीत–संगीतमा लागेको कक्ष ६/७ मा पढ्दादेखि नै हो । म सानै हुँदादेखि नै गीत गाउने गर्थें । म कक्षा सातमा हुँदादेखि नै बालगीत प्रतियोगितामा भाग लिँदै आएकी हुँ । अल नेपाल सिङ्गिङ कम्पिटिसनमा दुईपटक दोस्रो भएँ भने काठमाडौं भ्याली सिङ्गिङ कम्पिटिसनमा लगातार तीनपटक पहिलो भएकी थिएँ । ‘कोभन्दा को कम’ नामको रियालिटी शोमा पनि पहिलो भएकी थिएँ । अझैसम्म पनि मेरो मनको नजिक रहेको गायनको पल भनेको त्यही सानोछँदाको पल नै हो । अर्को म गीत–संगीतमा लाग्नुका कारण पारिवारिक हो । मेरो बाबा हरिबहादुर राउत वरिष्ठ लोकगायक हुनुहुन्छ । आमा सावित्री राउत लिरिस्टिक हुनुहुन्छ । मेरो परिवारको वातावरण नै म्युजिकल भएकाले बच्चादेखि नै गीत–संगीततिर झुकाव बढ्दै गयो । यस्तै सुरेश अधिकारी मेरो गीत–संगीतको गुरु हुनुहुन्छ । मेरो बाबा आमा र सुरेश अधिकारीका कारण नै म गीत–संगीतको क्षेत्रमा प्रवेश गरेँ । 


astha 3

अहिलेसम्म कति गीत गाउनुभयो, कति गीतिएल्बम निकाल्नुभयो ?
मेरो पहिलो डेब्यु एल्बम ‘आधार’ हो । तर, झन्डै ३० गीत गाएँ हुँला । अरूको कलेक्सन एल्बम र १२/१५ फिल्ममा पनि गीत गाएकी छु । रिमिक्स पनि धेरै गाएँ । यसैगरी ३/४ वटा भोजपुरी गीत गाएकी छु । 
तपाईंका गीत कुन वर्गका लागि लक्षित छन् भन्ने लाग्छ ?
मेरा गीतमा त्यस्तो लक्षित समूह भन्ने नै छैन । बच्चादेखि बु्रजुकसम्मका लागि हुन् । मेरो लक्ष्य भनेको थोरै गाउँ, राम्रो र सबैका लागि गाऔं भन्ने हो । मेरो झुम्केबुलाकी भन्ने फ्लो बेस र रक प्mयुजनमा छ । तीन मोरको धागो फोल्क प्याटर्नकै एउटा रोमान्टिक गीत हो । कदम चाल भन्ने फोल्कमै नाच्नेखालको छ । यस्तै म रुँदा सँगै रुने धेरै पाइन्छ, मलाई त आँसु पुछ्ने साथी चाहिन्छ भन्नेचाहिँ युथका लागि लक्षित गीत हो । त्यसैले मैले सबैलाई समेट्ने गीत गाउने गर्छु । 
तपाईंको सोख गीत गाउनुमात्र हो कि मोडलिङ पनि ?
बच्चैदेखि फिल्ममा खेल्न मलाई धेरै अफर आउने गर्थे । पहिले म डान्सर थिएँ । तर, मलाई मम्मीबाबाले पढाइ बिग्रन्छ भनेर फिल्म क्षेत्रतिर जान दिनुभएन । पछि फिल्मभन्दा पनि गायनतिर ढल्किसकेको हुँदा फिल्म मेरो क्षेत्र होइनजस्तो लाग्न थाल्यो । झुम्केबुलाकी भन्ने मेरै एल्बममा तिमी नै मोडलिङ गर्नुपर्छ भनेर सबैले भनेपछि मोडलिङ गरेकी हुँ । 

astha raut 2
कलाकारितामा आर्थिक अभावका कारण धेरै कलाकार पलायन भएका छन् । तपाईं यही क्षेत्रमा भविष्य बिताउन सक्छु भन्ने कन्फिडेन्स छ ?
मेरो आफ्नो गायनमा कन्फिडेन्ट छ । तर, यसले मलाई पाल्छ पाल्दैन, कतिसम्म होला भन्ने पछिका लागि सोचेकी छैन । म अहिलेका लागि भने बाँच्छु र सोच्छु । अहिले राम्रै भइरहेको छ । आधार एल्बम म आफैँले पैसा जोगाएर निकालेकी हुँ । यो मेरो आफ्ना सोखले गरेकी हुँ । मैले म बाँच्न सक्ने आधार बनाएकी छु । धेरै कमाउने पैसा भनेपछि मरिहत्ते गर्ने मेरो स्वभाव छैन । भविष्यमा पनि म गाएरै बाँच्न सक्छु भनेर सोचकी छैन । अरू साइड काम पनि गर्छु । 
तपाईंले गीत गाएर आएको पहिलो कमाइ के गर्नुभयो ?
स्कुलको समय बालगीतको होला, नेपाल कम्पिटिसनमा सेकेन्ड हुँदा तीन हजार रुपैयाँ पाएँ । यो नै मेरो पहिलो कमाइ थियो । त्यो पैसाले मेरो घरको र मामाघरको हजुरआमालाई साडी किनिदिएँ । त्यसपछि हजुरआमाहरू एकदमै खुसी हुनुभयो । अहिले हजुरआमाहरू हुनुहुन्न, त्यो क्षण सम्झँदा अहिले पनि आँखामा आँसु आउँछ । 

astha 4
यति सुन्दरी हुनुहुन्छ, कत्तिको प्रेम प्रस्ताव आउँछन् ?
हा.हा..हा.. खासमा म छुच्चीपाराको भएर होला, प्रायः मान्छे मसँग डराउँछन् । जिस्काउने आँट पनि गर्दैनन् । स्कुल पढ्दाको बेला पछि लाग्ने, लभलेटर लेख्ने गर्थे । तर, मलाई मन पर्दैनथ्यो । मेरो व्यहोरा नै केटा मान्छेको जस्तो छ । त्यसैले प्रेम प्रस्ताव आउँदैनन् । म रिसाउनेपाराले पनि होला । 
तपाईंलाई मनपर्ने आफ्नो शरीरको अंग कुन हो ?
धेरैले मेरो आँखाको नजर र मेरो ओठ राम्रो भन्नुहुन्छ । मलाई पनि बेलामौकामा राम्रै छ जस्तो लाग्छ तर म खासै आप्mनोभन्दा अरू मान्छेकै राम्रो लाग्छ, हा.हा..हा.. 

प्रतिक्रिया

सम्बन्धित सामाग्री