SAMAYAPOST

पुँजी पुगे पनि मर्जरको ढोका खुल्ला नै राखेका छौं : सुदेश खालिङ

     Views 911

बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?

गएको आर्थिक वर्षमा हामीलगायत वाणिज्य बैंकहरू पुँजी ८ अर्ब पुगेपछि निकै आक्रामक देखियौं । सबैलाई व्यवसाय विस्तारको चटारो छ र त्यो गर्नैपर्छ । प्रमोटर, लगानीकर्ताहरूलाई इच्छाएको प्रतिफल दिनका लागि त केही न केही गर्नैपर्ने हुन्छ । हामीले त्यहीअनुरूप गर्यौं। तर, आत्तिएर जता पनि लगानी गर्ने, कर्जा विस्तार गर्ने पक्षमा भने हामी छैनौं । हाम्रो रणनीति भनेको बृद्धिमा एकदमै एकरुपता ल्याउने हो । जसले लक्ष्मी बैंकलाई नियालेर हेरेको छ, उसलाई त्यो प्रस्ट थाहा छ ।

तर बीचमा आएर तरलताको चाप भएपछि बढेको ब्याजमा लिने अनि त्यहीअनुरूप गर्ने जस्तो आक्रामक रूपमा गएनौ । र, अहिले हामी स्टेबल छौं । वित्तीय अवस्था राम्रो छ, सन्तुलित किसिमको ग्रोथ छ । वर्षैपिच्छे हेर्दा २० देखि २५ प्रतिशतको ग्रोथ छ । हामीले त्यहीअनुरूप काम गरिरहेका छौं। यो वर्ष यस्तै किसिमको अवस्था रह्यो भने हामीलाई लाग्छ यो अवस्था सर्ट टर्म हो । राष्ट्र बैंक, अर्थ मन्त्रालय, एनबीएको पहलमा चाँडै लिक्विडिटीको अवस्था सरल हुन्छ भन्ने लाग्छ । त्यो किसिमको तरलता भएन भने अलिकति चाप पर्ला । भनेकोजस्तो ग्रोथ नहोला तर पनि हाम्रो लक्ष्यअनुसार नै हुन्छ ।

मर्जमा जाने भन्दाभन्दै आफै पुँजी पुर्याउनुभयो । पुँजी पुर्याएपछि तरलताको समस्या आयो । यसले कत्तिको असर गरेको छ ?

हाम्रो क्यापिटल प्लान भनेको मर्जरबाट पुँजी पुर्याउने थिएन । राष्ट्र बैंकले पुँजी वृद्धिको कुरा गरेपछि हामीले राइट सेयरबाट पुँजी वृद्धि गर्ने भन्यौं । हामीले बुझाएको क्यापिटल प्लान हेर्ने हो भने पनि त्यही नै छ । हामीले क्यापिटल प्लानमा सुरुवातका दिनदेखि नै कुनै परिवर्तन गरेनौ । पुँजी वृद्धि भैसकेपछि अर्गानिक इनअर्गानिक ग्रोथ हामीले जुन हिसाबले व्यवसाय गरेका छौं, त्यो हिसाबले व्यवसाय गर्दा समय लाग्छ । त्यहीबीचमा कुनै राम्रो बैंकसँग मर्ज गर्न पायौं भने साइज त बढ्यो नि । आकार ठूलो भएपछि क्यापिटल बेस बढ्ने, बलियो हुने हुँदा त्यसले बजारमा डोमिनेसन गर्न सहज हुन्छ । त्यही भएर मर्जरका लागि हामीे ढोका खुला राखेका हौँ । तर, पुँजी वृद्धिकै लागि भने हामीले त्यो विकल्प कहिले पनि ल्याएनौ । अहिलेको हाम्रो मुख्य चाहना भनेको आकार बढाउने नै हो ।

तर, एभरेष्ट बैंकसंग मर्ज गर्ने कुरा बजारमा निकै हल्ला चल्यो, पछि किन रोकियो ?

एभरेष्टमात्र होइन, हामीले अन्य विकास बैंकसँग पनि छलफल गरिरहेका छौं । तर, यही नै बैंकसँग हुन्छ भन्ने छैन । आजसम्म हाम्रो एमओई साइन भएको छैन । कुरामात्र भएको हो । कतिपय कुरा पोजेटिभ हुँदाहुँदै पनि पछि हट्छन् । र, हामीले यसको ढोका भने खुल्ला नै राखेका छौं।

तरलताको समस्याले बैंकलाई कत्तिको असर गरेको छ ?

यसले हामीलाई मात्र भन्दा पनि सम्पूर्ण बैंकलाई असहज बनाएको छ । तरलता नभएको खण्डमा डिपोजिट त्यसै प्राप्त गर्न गाह्रो छ । डिपोजिट प्राप्त गरे पनि महँगो ब्याजदरमा मात्र प्राप्त हुन्छ । त्यो पनि कम्पिटेटिभ छ, कम भएपछि । हामीले चाहेर अथवा ब्याज बढी तिरेर पाइने अवस्था पनि छैन । मैले अलि बढी दिए भने अर्कोले त्योभन्दा अलि बढी दिएर तान्ने भयो । त्यसो हुँदा बैंकहरूले समझदारीमा यसो नगरौँ, यसले कसैलाई फाइदा भएन भन्ने भयो । किनभने एसेट इन्डष्ट्रिमा त बढेको छैन । एउटा बैंकले अर्काको तान्ने काममात्र भैरहेको छ । यसले हामीलाई मात्र भन्दा पनि सबै बैंकहरूलाई असहज बनाएको छ ।

यसका लागि राष्ट्र बैंक अर्थ मन्त्रालयले पनि केही पहल गरिरहेको छ । चाँडै नै केही स्टिमुलस प्याकेज लिएर आउँछ भन्ने हामीलाई लागेको छ । तर फेरि त्यो भनेकै स्थायी समाधान भने होइन । अहिले बैंकहरू आत्तिएर डिपोजिट रेट बढाए । डिपोेजिट रेट बढाएर डिपोजिटरहरूलाई त फाइदा भयो साथमा त्यसको मर्का कर्जा लिनेलाई पनि पर्यो । त्यो अवस्थामा पनि अस्थायी नै हो । हाललाई लिक्विडिटी क्रञ्चले सबै बैंकहरूलाई गाह्रो बनाएको छ ।

कमर्सियल बैंकका सीईओहरूबीच ब्याजदर नबढाउने भद्र सहमति पनि भयो भन्ने सुनियो नि ?

भद्र सहमतिभन्दा पनि हामी बसेर सल्लाह गर्दा बैंकहरूले आपसमा प्रतिस्पर्धा गर्दा अरूले फाइदा लिने भए । त्यस्तो किन गर्ने नगरौं भन्ने सल्लाह भएको हो । हामीले ओभरअल हेर्दा पोजेटिभ ग्रोथ त छैन । त्यो गर्दा क्रम पनि नटुट्ने भयो । आज ११ भयो भोलि १२ गर्दा १४ सम्म पुगिसकेको थियो । १४ मा रोकिएको थिएन फेरि त्यो बढ्थ्यो, सायद २० सम्म पुग्थ्यो अनि कर्जाको रेट कति गर्ने । त्यो सम्भव हुँदैन, त्यसो नगरौँ संयमित भएर जाऔँ । हाललाई एउटा सर्टेन लेभलमा राखौँ, ११ प्रतिशत भन्ने अन्डरस्ट्यान्डिङमा जाऔँ भन्ने भयो । त्यसपछि हामीले राष्ट्र बैंक र अर्थ मन्त्रालयमा पनि पहल ग¥यौं । उहाँहरूले पनि ब्याजदर बढाएर कसैलाई फाइदा नहुने र संयमित भएर जाँदा राम्रो हुने सुझाव दिनुभयो । हामीले पनि के गर्न सक्छौँ  हेरौँ भन्नुभयो । त्यसपछि हामी सर्टेन डेटसम्म होल्ड गरेर पनि बस्यौँ । किनभने केही सहयोग आउँछ भने किन आत्तिने ।

तरलता समस्या अघिल्लो वर्ष पनि यही समयमा आयो । अहिले पनि यही समयमा आयो । यो बारम्बार दोहोरिरहन्छ । यसको स्थायी समाधान के हुन सक्छ ?

यो समस्या २०१० सालपछि २०१६ सालमा देखियो । त्यतिबेला बैंकमा व्यापक तरलता थियो । ट्रेजरी बिलको ब्याजदर जुन आज ५/६ प्रतिशतमा भएको ब्याजदर त्यो बेला अलमोस्ट शुन्य–शून्य लेभलमा गएको थियो । शून्य–शून्य लेभलमा गएको ट्रेजरी बिलको ब्याजदर आज १ पनि पुगेको छैन । त्यो हिसाबले त तरलता सधैं यही हिसाबमा फिर्ता हुन्छ भन्न गाह्रो हुन्छ । तर, कर्जाको ग्रोथ त भैरहन्छ । त्यसका लागि डिपोजिट चाहियो । डिपोजिट नभएपछि सन्तुलन बिग्रिहाल्छ । हामीले पनि सरकारी खर्च कति हुन्छ, रेमिट्यान्सबाट कति आउँछ, अरू स्रोत के–के हुन् भनेर बैंकले स्ट्राटिजी बनाउँदा गभर्मेन्टको इकोनोमिक फोकास्टहरू हेरेर सर्टेन भिजन राख्ने हो । तर, त्योअनुरूप नभएपछि संकुचन आउने नै भयो । तरलता यसरी नै फर्कन्छ, यसको साइकल यो भन्ने हुँदैन । आजको दिनमा यो चाप छ । यो कहिले सहज हुन्छ । सहज भएपछि के हुन्छ त्यो प्रेडिक्ट गर्न सकिँदैन । यहाँ त एकाध बैंकहरू बढी आक्रामक भएर पनि यो अवस्था आएको हो ।

फेरि भोलि तरलता स्थिति सहज भएपछि बैंकहरू आक्रामक हुँदैनन् भन्ने होइन झन् आक्रामक हुन सक्छन् । त्यो अवस्थामा फेरि चाप आउन सक्छ । डिपोजिटभन्दा बढी कर्जाको ग्रोथ भयो भने यो चाप त जहिले पनि रहने नै भयो । तर, डिपोजिटका लागि निरन्तर स्रोत भने हुनैपर्यो । अहिले त यो संक्रमणकालले गर्दा पनि होला । संघीय संरचनाको कुराहरू आइरहेको छ । यी सबै कुरा ठीक भइसकेपछि, प्रादेशिक रूपमा पनि सरकार गठन भैसकेपछि उहाँहरूले बजेट आफ्नो किसिमले फ्लो गर्ने, विकास निर्माणका क्रियाकलापहरू बढ्ने भएपछि बजारमा प्राकृतिक रूपमै आउँछ । अहिले त ट्याक्सका रूपमा, कस्टम ड्युटीका रूपमा, भ्याटका रूपमा सरकारको ढुकुटीमा गएर बस्छ । त्यो बाहिर निस्केन भने प्रशोचनमात्र भइरह्यो । राष्ट्र बैंकले ल्याउने लिक्विडिटी भनेको त त्यो लोनयबल फन्ड हुँदैन । त्यो ल्याउने भनेको सिसिआरहरूका लागि हो । त्यसले गर्दा पनि त्यो सहज हुँदैन । राष्ट्र बैंकले आफ्नो तर्फबाट त गरिरहेकै छ । कोरिडोर, इन्टररेस्ट भन्ने कुराहरू पनि ल्याइरहेको छ । तर, यसको समयावधि यति हो । यति भएपछि यो सकिन्छ भन्ने चक्र हुँदैन । जुन बेला पनि हुन सक्छ ।

ब्याजदरमा यस्तो प्रतिस्पर्धा भैरहेको बेला ब्यजादर करिडोर कत्तिको प्रभावकारी होला ?

ब्याजदर करिडोर र बैंकहरूले ग्राहकसँग लिने डिपोजिट र दिने कर्जामा लिंक गर्न मिल्दैन । ब्याजदर करिडोरले सर्टटर्म फन्डहरूलाई नियन्त्रण गर्ने हो । राष्ट्र बैंकको अपेक्षा के थियो भने हामीले ३ टु ५, त्यो भनेको ३ भन्दा तल जान नदिने । जस्तो ट्रेजर बिल इन्टरबैंक रेट ३ भन्दा तल गयो भने उसले डिपोजिटको पैसा बजारबाट ३ मा उठाइदिने । ५ भन्दा माथि भयो भने उसले बैंकहरूलाई पैसा दिने त्यो मेन्टेन गर्ने । तर, त्यो पैसा लिएर हामीले लोन मेन्टेन गर्न मिल्ने होइन । त्यो सर्टेन लेभलमा नियन्त्रणमा आयो भने उहाँहरूले अपेक्षा गरेजस्तै सेभिङहरूको रेट अलिकति बढ्छ भन्ने हो तर त्यो भएको छैन । बैंकहरूकै कारणले गर्दा रेगुलेटरीले नै सम्पूर्ण कुराहरू नियन्त्रण गर्नुपर्ने जस्तो कुरा आयो । बैंकहरू आफैं अनुशासित, परिपक्व हुने हो भने सबै कुरा केन्द्रीय बैंकले नियन्त्रण गर्नुपर्ने अवस्था नहोला । तर, आजको दिनमा राष्ट्र बैंकले नै सबै कुरा तोक्नुपर्ने अवस्था आइसकेको छ ।

तपाईंहरूले नयाँ नयाँ प्रविधि पनि ल्याइरहनुभएको छ । प्रविधिको प्रयोगसंग चुनौती पनि बढ्दो छ, चुनौतीबाट बच्न कस्तो सावधानी अपनाउनुभएको छ ?

प्रविधिमा लक्ष्मी बैंक पाइनियोर नै मानिन्छ । इण्डष्ट्रीमा लिटररी च्यानलहरू इन्ट्रड्युस गराउने काम सबैभन्दा पहिले दस÷पन्ध्र वर्षअगाडि लक्ष्मी बैंकले नै गर्यो। त्योअनुरूप हामीले प्रविधिमा हुने खतराहरूमा पनि धेरै अगाडिबाट पहल पनि गरेका छौं र लगानी पनि गरेका छांै । सेक्युरिटी कसरी सेक्योर गर्ने विशेषगरी नेटवर्कहरू । खालि विकसित मुलुकमा मात्र यस्ता अट्याक्कहरू हुन्छन् भन्ने छैन । नेपालमा पनि हुन्छ । फेरि विदेशमा बसेर नेपालमा अट्याक्क गर्न सकिन्छ । नेपालमै हुन जरुरी छैन ।

भर्खरैमात्र हामीले एनआईसी एसियाको काण्ड सुन्यौं । पैसा त सबै विदेशमै गएको हो । त्यो हिसाबले हामीले गर्ने हाम्रो सेक्युरिटीहरू, आन्तरिक रूपमा गर्नुपर्ने सबै कुराहरू र यसबाट हुने कारोबारहरू जस्तो अनलाइन, मोबाइलबाट गर्ने कारोबारलाई अझ सुरक्षित गर्न लागिरहेका छौं । जस्तो मेरो युजर याक्सिस लिएर कसैले याक्सिस गर्न चाह्यो भने अनअथोराइज याक्सिस गर्छ भने अल ट्रेड हामीले सेक्युरिटी पनि दिइरहेका हुन्छौँ । सहजै गर्न सकिँदैन त्यो । सबै कुरा आफ्नै लापरबाहीले छाडिदिने हो भने त्यो कन्ट्रोल हुँदैन । त्यो हाम्रै नेटवर्कका इन्क्लुड गरेरभन्दा पनि अरू कस्टोमरहरूको पासवर्ड, युजर आईडी कसैले सेयर गर्छ या चोरेर गर्छ भनेमात्र हो । नभए हामीले हाम्रो आन्तरिक सुरक्षा समयानुसार अपग्रेड पनि अपडेट पनि गरिनै रहन्छौं ।

हामीले इन्भेष्टमेन्ट गरेको  नेटवर्क सेक्युरिटीमा खेर गएको छैन । त्यही सम्बन्धमा कुनै पनि सेक्युरिटी ल्याउँदा पब्लिक याक्सिसबाट विशेषगरी पब्लिकलाई याक्सिस गर्ने सेक्यिुरिटीमा अलिकति सेक्योर बनाउन पहल गर्नैपर्छ । यसमा धेरै रिस्कहरू छन् ।

बैंकको आगामी योजना के छन् ?

फुल फाइनान्सियल सर्भिस प्रोभाइड गर्ने हाम्रो स्ट्राटिजी हो । त्यसकारण कुनै लगानीको हिसाबले कुनै सब्सिडरीको हिसाबले लघुवित्त, क्यापिटल, इन्स्योरेन्स पनि छ । त्योबाहेक भेन्चर क्यापिटल अरू किसिमको वित्तीय सेवा के गर्न सकिन्छ भनेर एजीएमबाट हामीले पास गरिसकेका छौं । त्यहीक्रममा राष्ट्र बैंकसँग छलफल गर्नेक्रममा छौं । पछि बैंकहरूलाई ब्रोकर लाइसेन्स दिनेलगायत अरू एभिन्युजहरू पनि हामीहरूले हेरिरहेका छौं । हामी बैंकिङमा मात्र सीमित नभएर सम्पूर्ण वित्तीय सेवा हाम्रा क्लाइन्टहरूलाई दिन सकौं भनेर अन्य क्षेत्र पनि हामीले हेरिरहेका छौं ।

Back to Top