शनिबार, ८ वैशाख २०८१

जहाँ समस्या हुन्छ, त्यहाँ काम गर्न मज्जा हुन्छ : झलकप्रसाद खनाल

समयपोष्ट २०७४ माघ ११ गते १२:१०

लुम्बिनी विकास बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?

Advertisement

लुम्बिनी विकास बैंक गएको २०७४ आषाढ २५ गते लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी लिमिटेडलाई आफूमा मर्ज गराएर लुम्बिनी विकास बैंकको नामबाट अपरेसनमा आएको हो । मर्जपछि हामीले पहिलो प्राथमिकतामा दुवै सिष्टमहरूलाई एकआपसमा मिलाएर एकीकृत कारोबार अगाडि बढाउने, त्यसरी नै कर्मचारीहरूलाई एक अर्कोमा घुलमिल गराउने, तालिम दिने, सिष्टमप्रति उनीहरूलाई अभ्यस्त गराउने र भैरहेको दुईतिरको बिजनेसलाई एकीकृत गर्ने काममा लाग्यौं । पहिलो त्रैमास हाम्रो त्यो मिलाउँदामिलाउँदै समाप्त भयो । त्यसपछि दशैं तिहारजस्ता चाडबाडहरू आए । त्यसपछि कात्तिकदेखि यता हामी बैंकको काममा लागिपरेका छौं ।

बैकिङ क्षेत्र बीचमा केही राम्रो देखिए पनि अहिले फेरि बजार बिजनेसलाई बढावा दिनेखालको होलाजस्तो देखिएन । निक्षेपको ब्याजदर एकाएक बढ्न थालेको छ र बजारमा कर्जायोग्य तरलताको अभाव हुने हो कि भन्ने संकेत तथा अन्योलको स्थिति छ । तर पनि लुम्बिनी विकास बैंक राम्रोसँग अगाडि बढेको छ ।

यहाँहरू १० प्रतिशत हकप्रद निष्कासनको दिशामा अगाडि बढिसक्नुभएको छ । हकप्रदपछि पुँजी कति हुन्छ र लगानीकर्ताले कहिलेदेखि प्रतिफल पाउँछन् ?

१० प्रतिशत हकप्रद दिँदा आउने भनेको करिब २० करोड रुपैयाँ हो । त्यो २० करोड रुपैयाँ आएपछि अहिले हामीसँग चुक्ता पुँजी २ अर्ब ८८ लाख र हाम्रो स्वाप रेसियोका कारणले क्यापिटल रिजर्भमा गएर बसेको करिब ३६ करोड गर्दा करिब २ अर्ब ३७ करोड पुँजी भइसकेको छ । जब हाम्रो हकप्रदबाट २० करोड आउँछ, त्यसबाट हाम्रो २ अर्ब ५७ करोड रपैयाँ हुन्छ ।

अहिले बैंकहरूमा लगानी योग्य पुँजीको अभाव देखिन्छ, यो के कारणले आयो ?

लुम्बिनी विकास बैंकको कुरा गर्दा अभाव भएको स्थिति छैन । तर, संकेत के गर्यो भने आजको पुँजीको लागत बढ्यो । निक्षेपको लागत बढ्यो । हिजो जति सहज, सरल र सस्तोमा दिन सकिन्थ्यो अब प्रेसर के भयो भने कर्जाको ब्याजदर पनि बढ्ने हो कि भन्ने हुन गयो । जुन बजारमा ग्रोथका लागि वाञ्छनीय अवस्था होइन । यो खासगरी सिष्टममा देखिएको कुरा हो । हामी हाम्रो लुम्बिनीको मात्र नभनेर समग्र बैंकिङ उद्योगमा अहिले देखिएको संकेतलाई भन्न खोजेको हो ।

यो वर्ष दुई ठूला चुनावहरू पनि सम्पन्न भए, ती चुनावमा खर्च भएका पैसा बैंकिङ सिष्टममा आएनन् कि के भयो, त्यसले के–कति प्रभाव पार्यो ?
यसको हामीसँग पारदर्शी तथ्यांक छैन । वास्तवमा चुनावमा तीन प्रकारका खर्चहरू भए । एउटा उम्मेदवारले गर्ने खर्च । अर्को सुरक्षामा गरिने खर्च । तेस्रो निर्वाचन आयोगले नोमिनेसन गराउँदा गर्ने खर्च । यी खर्चहरूलाई हेर्दा निर्वाचन आयोगले गराएको खर्च र सुरक्षाका लागि गरिएका खर्च तत्काल नै बजारमा आए । यी दुईवटा खर्च भए । खर्चका कारणले गर्दा होला दशैं तिहार, मंसिरसम्म र पुसको १५ सम्म पनि त्यति नराम्रो अवस्था आएको देखिएन, राम्रै देखियो । तर, सबै उम्मेदवारले मिलाएर कति खर्च गरे । त्यो खर्च भएको रकम के–कस्तो रूपमा कति प्रतिशत बजारमा आयो, कति प्रतिशत आएन, नआउनुको कारण के हुन् अथवा त्यो पैसा कहाँ छ भन्ने कुरा प्रस्ट रूपमा भन्न सकिने अवस्था छैन ।

अहिले ब्याजदर धेरै तल–माथि भैरहेको अवस्था छ, यस्तो बेला राष्ट्र बैंकले ल्याएको ब्याजदर करिडोर कत्तिको प्रभावकारी होला ?

राष्ट्र बैंकले ल्याएका स्प्रेडदर, ब्याजदर करिडोर, बेस्डदर, सिसिडी यी कुराहरू काम गर्न नसक्ने भन्ने हुँदैन । ती जसरी पनि कार्यान्वयन गर्नुपर्छ । राष्ट्र बैंकले इन्फोस्र्ड गराउने नै कुरा हुन् । यी कुरा नेपालमा वित्तीय सुशासन, वित्तीय विकास, सुदृढ, सबल बैंकिङ सिष्टमका लागि ल्याइएका हुन् । यी कुराहरू फेल हुने, लागू हुन नसक्ने भन्ने कुरै हुँदैन । राष्ट्र बैंकले आफ्नो इन्स्ट्रुमेन्टमार्फत ब्याजदर करिडोरलाई ३ र ५ भन्ने गरिरहेको छ, त्यो गर्छ नै । अहिले भर्खरै राष्ट्र बैंकले बजारबाट ५ अर्बको उपकरणहरू किनेको छ । किनेपछि ५ अर्बबराबरको तरलता बजारमा प्रवाह गरेको छ । पूर्वसंकेतहरू नियमित रूपमा ५ अर्बको दरमा प्रत्येक हप्ता प्रवाह गर्ने गर्यो भने पनि त्यसले राम्रो नतिजा ल्याउँछ । पुस मसान्तमा करिब ४० अर्ब जति राजस्वमा गएर एड्भान्स ट्याक्स बस्छ भन्ने जुन पुर्वानुमान छ, त्यो यथार्थ नै हो । त्यो कुरालाई रिप्लेस गर्न यसले केही न केही मद्दत गर्छ । त्यसकारण राष्ट्र बैंकले आफ्नो उपकरणहरूमार्फत त्यसलाई सफल बनाउँछ ।

अहिले बैंकहरूमा मुख्य चुनौतीका रूपमा आईटी सेक्युरिटी रहेको छ, यसलाई कसरी व्यवस्थित गर्न सकिएला ?

हामी आधुनिक प्रविधिसँग नगएर सुखै छैन । संसार ग्लोबलाइज्ड भएको अवस्थामा नयाँ–नयाँ प्रविधिसँग हामीले आफूलाई समाहित गरेर लेजानैपर्छ । तर, यथार्थ के हो भने जति नयाँ प्रविधि आउँछन् तिनीहरू सबै जोखिममुक्त छैनन् । जब हामीले प्रविधिलाई अंगीकार गछौं, केही न केही जोखिम पनि मोल्छौं। त्यसमा खासखास जोखिम के हुन्छन् भन्नका लागि कतिपय अवस्थामा त्यसको गहिराइमा पुगेर यति नै जोखिम छ भनेर आँकलन पनि गर्न नसक्ने अवस्था छ ।

जस्तो हामीले अहिले प्रयोग गरिरहेको बैंकिङ सफ्टवेयर ह्याक गर्न सक्ने सम्भावना कत्तिको छ भनेर पुर्वानुमान कसैले गर्न सक्दैन । अहिलेसम्म त्यसलाई रोक्ने जति पनि सफ्टवेयर छन्, त्यसलेमात्रै प्रयोग गर्ने कुराहरू हो । तर, त्योभन्दा स्ट्रोङ नयाँ कसैले इन्भेन्ट गरेर ल्यायो भने सायद त्यो असुरक्षित हुन पनि सक्छ । जस्तो अहिले अमेरिकाको सफ्टवेयर ह्याकिङ भयो । कहिले उत्तर कोरियाले त रसियाले गर्यो भन्ने कुराहरू आइरहेका छन् । दोषारोपण र छानबिन पनि भइरहेको छ । त्यस्तो शक्तिशाली मुलुकमा त्यस्तो हुने अवस्था छ भने हामीले प्रयोग गरेको सफ्टवेयरको कत्तिको स्ट्रेन्थ छ भन्ने कुराको आँकलन गर्न हामीलाई गाह्रो छ ।

अर्को हाम्रो एटीएममा विदेशीहरूले ट्र्याप राखेर एटीएमबाट पैसा निकालेर ठगी गरेको पनि देखिएकै हो । ती विदेशीहरूले हाम्रो एटीएम सिष्टम कमजोर देखेर त आएका हुन् । त्यही कुरा उनीहरूको देशमा गर्न सक्ने अवस्था रहेनछ । त्यसकारण हामीले हाम्रो प्रविधिमा के–कति कमजोरी छन् भन्ने बुझ्नुपर्यो। हामीले यसमा अझै सिक्नपर्ने र अगाडि बढ्नुपर्ने हुन्छ ।

समस्याग्रस्त भिभोर विकास बैंकलाई उठाएर धेरै संस्थासँग मर्ज गराउँदा लुम्बिनी विकास बैंक बनाउनुभयो, अब आगामी योजना के छन् ?

भिभोर विकास बैंक ठूलो समस्यामा थियो । त्यहाँबाट टेक ओभर गरेको हुँ मैले । सोसाईटी डिभलपमेन्ट बैंकमा गुड फर पेमेन्ट भन्ने घटनाले ठूलो क्षति पुगेको थियो । अर्बभन्दा बढीको क्षति पुगेको बैंक पनि मैले त्यसमा मर्ज गरेर ल्याएको हुँ । र, हालसालै लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनीलाई गाभियो । त्यो पनि १२, १३ प्रतिशत खराब कर्जा भएको फाइनान्स कम्पनीलाई समाहित गरेर ल्याएको हो ।

मेरो प्रयास समस्या भएका–भएका जोडिएर पनि समस्या नभएको एउटा ठूलो संस्था बन्न सक्छ भन्ने उदाहरण देखाउनु थियो । अर्को जहाँ समस्या हुन्छ, त्यहाँ काम गर्न मज्जा हुन्छ । समस्या नभएका ठाउँमा त सिष्टमले काम भैरहेको हुन्छ । थोरै आफ्नो स्ट्राटिजी लगाउनेबित्तिकै भैहाल्यो । समस्या भएकोमा त हरहमेसा चनाखो भएर लाग्नुपर्ने हुन्छ ।

अहिले भर्खरै गरेको निष्कर्षमा परिवर्तन गर्नुपर्ने हुन सक्छ । नयाँ समस्या देखिएर नयाँ प्रकारले डिल गर्नुपर्ने हुन सक्छ । त्यसकारण एकदम डाइनामिक अप्रोचहरू लिएर जानुपर्ने हुन्छ । बजारकै निक्षेप परिचालनका कुराहरू होस्, एकातिर बजारमा यी समस्याग्रस्त संस्थाहरू हुन् भन्ने पूर्वाग्रह रहिरहेको हुन्छ । अनि बजार पनि प्रतिकूल हुन्छ भने त्यस्तो बेला बिजनेसलाई बढाएर लिएर जानु भनेको थप चुनौती हो । हामीले हाम्रो संस्थालाई त्यो गर्दै लिएर आयौँ । एउटामात्र लक्ष्य भनेको यी सबैमा भएका समस्या समाधान गरेर पुँजी पूरा भएको बलियो संस्था बनाउने नै हो । त्यो अब बन्यो । चैत मसान्तसम्म जाँदा यी सबै कार्यभारहरू पूरा हुन्छन् । वैशाख १ बाट तपाईंले यो बैंकलाई २ सय ५७ करोडको नयाँ बलियो सुदृढ बैंकका रूपमा देख्नुहुन्छ । असार मसान्तमा जाँदा विकास बैंकमध्ये सके टप ३ नभए टप ५ भित्र पाउनुहुन्छ । त्यसपछि जुन उभार आउँछ त्यो उभारले नयाँ दिशा दिन्छ । असार मसान्तको लक्ष्य पूरा गरेर लगानीकर्ताहरूलाई प्रतिफल दिने त्योमात्र लक्ष्य छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री