बिहीबार, १५ चैत २०८०

चमेलिया जलविद्युत् आयोजनाले माग पूरा नगरेको भन्दै आमरण अनशनमा

समयपोष्ट २०७४ फागुन १८ गते ४:१२

आफ्ना माग पूरा नभएको भन्दै शैल्यशिखर नगरपालिका–१ बारीलका स्थानीय चमेलिया जलविद्युत्को विद्युत् गृह नजिक बिहीबारबाट आमरण अनशनमा बसेका छन् ।

Advertisement

चमेलिया जलविद्युत् आयोजनाले निर्माण कार्य शुरु गरेदेखि नै आफूहरुसँग गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै उनीहरु आमरण अनशनमा बसेका हुन् । सो ठाउँका स्थानीय खानेपानी मूल संर्घष समिति गठन गरेर आमरण अनशनमा बसेका हुन् ।

संघर्ष समितिले आयोजना निर्माणका क्रममा सुकेका खानेपानी र सिँचाइको स्थायी र दीर्घकालीन समाधान गर्नुपर्ने, आयोजनाबाट प्रत्यक्षरुपमा विस्थापित शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका र बैतडीको डिलाशैनी गाउँपालिकाभरिमा निःशुल्क विद्युत्को व्यवस्था गर्नुपर्ने, चालु आर्थिक वर्षभित्र दार्चुला र बैतडी जिल्लालाई विद्युत् भार कटौती मुक्त जिल्ला घोषणा गर्नुपर्ने माग राखेको छ ।

यस्तै बाँध स्थलदेखि टेलरेससम्म चमेलियामा पानी छोड्नु पर्ने, आयोजना निर्माणका क्रममा भएको भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने र स्थानीयसँग आयोजनाले गरेका सम्झौता तत्काल कार्यान्वय गर्नुपर्ने माग राखेका छन् । फागुन ११ गते संर्घष समितिले एक अपिल जारी गर्दै आयोजनासँग उक्त माग राखेको थियो ।

आयोजनाले आफूहरुका जायज मागलाई कुनै वास्ता नगरेका कारण आमरण अनशन बस्नुपरेको खानेपानी मूल संर्घष समितिका सचिव सुरेन्द्र तितराले जानकारी दिनुभयो ।

संर्घष समितिका अध्यक्ष शंकर खडायत, सचिव सुरन्द्र तितरा तथा समितिका सल्लाहकार सदस्य परमानन्द खडायतले बिहीबारबाट आमरण अनशन शुरु गर्नुभएको छ ।

चमेलिया विद्युत् गृहको सुरक्षा र काममा बाधा नपर्ने गरी स्थानीय प्रशासन सुरक्षा निकायमा जानकारी गराइ आफूहरुले वडा नम्बर १ को नवनिर्मित भवनको प्रांगणबाट अनशन शुरु गरेको समितिका अध्यक्ष शंकर खडायतले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री