SAMAYAPOST

अव बीमा क्षेत्रमा हिजोको सोँचले काम गर्दैन : दीपप्रकाश पाण्डे

     Views 418

नेपालको अर्थतन्त्रमा बीमाको योगदान कस्तो छ ?

नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा त धेरै कम छ । करिब दुई प्रतिशत होला । बीमाको पहुँच बढिरहेको हुँदा परिवर्तन भइरहेको छ । यसअघि बीमा कम्पनीहरू सहरमुखी भए भन्ने गरिन्थ्यो तर अहिले गाउँ–गाउँमा बीमाको पहुँच पुगेको छ । बीमाको इतिहास हेर्ने हो भने यो जहिले पनि फोर्स मार्केटको रूपमा विकास भएको छ । आवश्यकता भन्दा पनि कुनै एउटा फ्याक्टले त्यसलाई जहिले पनि धकेल्नतिर लाग्यो । नेपाल बैङ्कको प्रवद्र्धनमा नेपाल इन्स्योरेन्स आयो । त्यसपछि वृद्धि भएको द्वन्दकाल अवधिमा हो । किनभने मानिसलाई डरले धकेल्यो । त्यसले थर्ड पार्टी दायित्व बढायो ।

त्यसपछि कृषि बीमा, जसले सकारात्मक भूमिका निर्वाह गरेको छ । मानिसले भूकम्पपछि बीमाको महत्व बुझ्न थालेका छन् । त्यसमा पनि सबैले होइन, केही पक्षले बुझेका छन् । यसअघि बीमासँग जनमानसको विश्वास थिएन । नाफा वृद्धि गर्न चाहने कम्पनीले दाबीमैै सम्झौता गर्न थाले कि ? अलि झन्झटिलो पनि थियो होला । त्यस कारण जनमानसको विश्वास आएन । अहिले त्यो झन्झटिलोपन हटेको छ । दाबी तिरेको छ, जसले गाउँ–गाउँमा बीमाप्रति मानिसको विश्वास बढाएको छ । अब बीमाले गति लिँदै छ । सायद बीमाले गति लिएपछि जीडीपी पनि बढाउला । गाउँ–गाउँमा जीवन बीमा कम्पनीहरूले शाखा खोलेर रोजगारीको अवसर प्रदान गरेका छन् ।

हाम्रो कम्पनीले मात्र प्रत्यक्ष र अप्रत्यक्ष तरिकाले मात्र वर्षको झन्डै असी–नब्बे करोडको कर तिर्छ । यो वर्ष अझ राम्रो भए झन्डै एक अर्बकै तिर्छौं होला । त्यो भनेको एउटा राम्रो पाटो आएको छ । यसले सकारात्मक दिशा लिएको छ, तीन–चारवटा कोणबाट । एउटा, बजार स्वाभाविक वृद्धि भएको होला । बीमा कम्पनीको पुँजी बढ्यो, रिस्क वहन गर्न सक्ने क्षमता बढ्यो । म्यानेजमेन्टलाई व्यवसाय वृद्धि गर्नुपर्छ भनेर एउटा प्रेसर पनि आयो । त्यो सबै पक्षले बीमा क्षेत्रमा सकारात्मक शक्ति जिर्सना गरेको छ । त्यसैले बीमा क्षेत्रको भविष्य राम्रो छ ।

बीमाको पहुँच विस्तार गर्न नयाँ कम्पनीहरू आएका छन् । यससँगै बीमा क्षेत्र पनि प्रतिस्पर्धी भयो । यसलाई कसरी हेर्नुभएको छ ?

प्रतिस्पर्धा दुईवटा कोणबाट हुन्छ । एउटा, नीति नियम उलङ्घन गर्ने र अर्को, रेटमै प्रतिस्पर्धा हुने हो । त्यसले उपभोक्तालाई फाइदा गर्छ । नन्ट्यारिफ रेन्सहरूमा रेट घटाएर सरभाइभ गर्छ भने म त्यसलाई स्वस्थ प्रतिस्पर्धा भन्छु । किनभने अन्ततः त्यसले फाइदा कस्टमरलाई नै पुग्छ । तर नीति–नियम भ्वायोलेट गर्ने अथवा अस्वस्थ अरू अभ्यासहरू ल्याउने गलत प्रक्टिसेस हुनु भएन । तर प्रतिस्पर्धा बढेपछि यो एउटा पासिङ फेज हो । अलिअलि हुन्छ र चाँडै नै निराकरण पनि हुन्छ । यो दीर्घकालीनरूपमा जाँदैन ।

नयाँ कम्पनीहरू अब कसरी अगाडि जानुपर्ला ?

नयाँ कम्पनीहरू आएको भर्खर ६ महिना भयो । बजारको अवस्था हेरेर कुन किसिमको प्रडक्ट हो, ग्राहकको अपेक्षा कस्तो हो, त्यो किसिमले नयाँ प्रडक्टमा जाने हो । नभए जीवन बीमा कम्पनीहरू जाने भनेको त्यही परम्परागत मनिव्याक पोलिसीमा हो । सकारात्मक पक्ष भनेको रिच बढेको छ । मान्छेहरू गाउँ–गाउँमा पुगेका छन्, एजेन्टहरू विकास गरेका छन् । तालिम दिएका छन्, क्रियाकलापहरू बढेका छन् । रोजगारी सिर्जना भएको छ । तर चाँडै नै नयाँ–नयाँ प्रडक्टहरू पनि आउँछन् । भएकै प्रडक्टहरूमा पनि अतिरिक्त फाइदा राखेर कम्पनीहरू प्रतिस्पर्धीरूपमा आउँछन् ।

बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभावले हो ?

एक त यहाँ तालिम दिने संस्था छैन । अर्को, बीमा कम्पनीहरूको वृद्धि, रिटर्न टु सेयर होल्डर्स, व्यवसायिकता थिएन । त्यो कम्पनीको पुँजी व्यवसायमा निर्भर हुने कुरा हो । कम्पनीले राम्रो गर्न सकेन कर्मचारीलाई भन्ने कुरा परिवर्तन भइसक्यो । हिजो थिएन भन्दिनँ तर आज राम्रो छ । सबै कोणबाट भोलि झन् राम्रो हुनेछ । बढ्दो बजारमा दक्ष जनशक्तिको जहिले पनि कमी हुन्छ । कसरी बढाउने, त्यो कम्पनीमा निर्भर हुन्छ ।

अन्य कम्पनीमा जाने त्यो कम्पनीका कर्मचारीहरूको अधिकारको कुरा हो । हाम्रो कम्पनीमा आजका दिनसम्म झन्डै ४ सय २५ जना कर्मचारी पुगिसके । हामी १५ जनाबाहेक अन्य सबैको पहिलो जब अनुभव भनेको शिखर नै हो । विकास गर्यो भने सकिने रहेछ त । सुरु–सुरुमा गाउँमा जाँदा यस्ता समस्या आउँछन्, आखिर गरेपछि त सकिँदो रहेछ । हामी आममानिसमा कोसिस नै नगरी पहिले नै सक्दिनँ होला भन्ने सोच रहेको छ । हामी अन्य बाटो खोज्नतिरै लाग्दैनौँ । अव हिजोको सोँचले काम गर्दैन । हाम्रो दिमागमा भएको सोच निकालेर अगाडि बढ्ने र गरेपछि के हुन्छ बल्ल थाहा हुन्छ । हामीलाई पनि पहिले पुँजी कम हुँदा डर लाग्थ्यो । अहिले पुँजी र नाफा बढेको छ । अब अलिकति रिस्क लिन सक्ने क्षमता सबैमा भएको छ । त्यसले गर्दा कम्पनीले आफैँले गर्न सक्नुपर्यो ।

नयाँ आएका कम्पनीहरूको पुँजी पनि धेरै छ । त्यसकारण उनीहरू दक्ष जनशक्ति विकासमा अगाडि बढ्नुपर्यो । अन्य ठाउँबाट जनशक्ति तान्ने भनेको अल्पकालीन समाधान हो । भोलि त्यो मान्छे अरूले तान्न सक्छ । त्यो सोच कम्पनीमा आउनुपर्यो । अर्को, बीमा समिति र बीमा कम्पनीहरू मिलेर दक्ष जनशक्ति बढाउन एकेडेमी कसरी खोल्ने, तालिम केन्द्रहरू कसरी अगाडि बढाउने भनेर अल्पकालीन र दीर्घकालीन उद्देश्य लिएर अगाडि बढ्न खोज्दै छौँ । यो समस्या छिट्टै समाधान हुन्छ ।

दाबी भुक्तानी पहुँच हुनेले छिटो पाउने र पहुँच नहुनेलाई गाह्रो पर्ने हुनाले मानिसहरूको बीमाप्रति आकर्षण नभएको भन्ने सुनिन्छ नि ?

त्यो हिजोको सोच हो । आजको दिनमा त्यस्तो छैन । पोलिसीमै ग्राहकले नियम र सर्तहरू मिलाएको छैन भने पहुँच पुर्याउने हो । साधारण मान्छेलाई बीमा कम्पनीले दाबी भुक्तानी सहजरूपमा दिँदैन भने त्यो कम्पनीको अस्तित्वमै प्रश्नचिह्न खडा हुन्छ । १७ वटा कम्पनीहरू छन् । निर्जीवन बीमातर्फ तीनवटा कम्पनीहरू थपिँदै छन् । जीवन बीमा कम्पनीहरूमा त अझ म त्यस्ता समस्या नै देख्दिनँ । निर्जीवनतर्फ त्यस्तो भयो भने त्यो कम्पनी नै टिक्दैन ।

शिखर इन्स्योरेन्सको वित्तीय अवस्था कस्तो छ ?

हामी १४औँ वर्षमा प्रवेश गरिसकेका छौँ । हामीले झन्डै ३ सय ५७ करोडको लक्ष्य लिएर अगाडि बढिरहेका छौँ । आजको दिनमा झन्डै १ सय ८५ करोड पुगेको छ । अहिलेको अवस्था हेर्दा ३ सय ४० करोड पुग्छ जस्तो लाग्छ । बजार कसरी जान्छ, त्यसमा भर पर्छ । हाम्रो मुख्य चिन्ता भनेको तरलताले गर्दा बीचमा लोनहरू नजाला भन्ने हो । बीमाको बजार बढ्ने भनेको बजारीकरणले नै हो । पहुँच छ, हामी पुगेका पनि छौँ तर त्यहाँ बजार त क्रियट हुनुपर्यो । वित्तीय क्षेत्र पुगे भने न बीमा कम्पनी पुग्ने हो । हामीले त्यसको लागि डिष्ट्रिव्युसन च्यानलहरू अलिकति परिवर्तन गरेका छौँ ।

नयाँ नीति लिएर अगाडि बढेका छौँ । यसपालिको हाम्रो नेट वर्थ भनेको २ सय २५ करोडजतिको हुन्छ होला । आजभन्दा १४ वर्षअगाडि साढे १२ करोडको पुँजीबाट यतिसम्म पुग्नु भनेको राम्रो ग्रोथ जस्तो लाग्छ । कम्पनी सक्षम छ तर हामी के विश्वास गर्छौं भने एउटा असन्तुष्ट कस्टमर भयो भने त्यसले कम्पनीलाई धेरै नराम्रो असर गर्न सक्छ । त्यस कारण हामी कस्टमरको सन्तुष्टिमा नै केन्द्रित छौँ । यो त्यति सजिलो काम पक्कै होइन । तपाईंको उद्देश्य राम्रो छ र गर्न सक्छु भन्ने चाहना छ र गर्छु भन्ने भावना लिएर अगाडि बढे सकिन्छ जस्तो लाग्छ ।

तपाईंहरूले पछिल्लो पटक प्रस्ताव गर्नुभएको थप साधारण सेयर (एफपीओ) के भएको छ ?

हामीे कुनै नीति–नियमको विरुद्ध गएको होइन । हामीले प्रक्रिया पुर्याएर एजीएमबाट पास गराएर कम्पनी रजिष्ट्रार, बीमा समितिबाट स्वीकृत गराएर गएका हौँ । धितोपत्रले नयाँ नियम ल्यायो, हामी त्यसलाई स्वागत नै गर्छौं । अगाडि आउँदा अहिले पनि अवसरहरू छन् । अर्को दुई वर्षको कुरा हो, अहिले हामीलाई त्यति जरुरी पनि छैन ।

यसअघिको बीमा ऐनमा निर्जीवन बीमा कम्पनीलाई २ अर्बको पुँजी चाहिने व्यवस्था थियो । त्यो अनुसार यो भयो भने हामी सहज हुन्छौँ भन्ने छ । नयाँ आयो भने त्यो बेलासम्म हामी थप साधारण सेयरमा जान सक्षम हुन्छौँ । तर त्यो जरुरी छैन । २ अर्बको क्यापिटल पुर्याउन ३ वर्षको समय भयो भने हामी त्यति पुँजी पुर्याउन सक्छौँ ।

यस कम्पनीका नयाँ योजना के छन् ?

हामीले नयाँ–नयाँ योजनाहरू नै ल्याइरहेका छौँ । हामीले वेदर इन्डेक्स गरेकै छौँ । जुम्लामा त्यसको राम्रो नतिजा आएको छ । हामीले अघिल्लो वर्ष मात्र क्लेम तिर्यौं । मानिसहरूमा आत्मविश्वास बढेको छ । युनिटी लाइफ जस्तोले त्यहाँको बजार नै बिगारेको थियो । बीमाप्रति जनचेतनाको नै कमी थियो । त्यतातिर हामी गई नै रहेका छौँ । जुम्लाको कृषकले फाइदा उठाएकाले नै हुम्लाले हामीलाई पनि गरिदेऊ भनिरहेको छ । शाखा मात्र हाम्रो आजको दिनमा ६५ वटा पुग्न लागिसकेको छ । यो आर्थिक वर्षसम्म हामी ७५ वटा शाखा खोलेर अगाडि बढ्छौँ ।

यस्तै, वेदर इन्डेक्स प्रोजेक्टमा हामी नगदे बालीतिर जाँदै छौँ । त्यसले पनि बजार विस्तार गर्छ होला । गाउँ–गाउँमा मानिसहरूको आवश्यकता जहाँ–जहाँ छ, त्यहाँ कसरी जाने ? कृषि, पशुमा हामीले धेरै नै कसरत गरेर अगाडि बढेका छौँ । त्यसले अरू बीमा क्षेत्र बढाएको छ ।

हामी स्वास्थ्य बीमामा पायोनियरको रूपमा आयौँ । एक्सरसाइज गर्दै छौँ । थर्ड पार्टी एडमिनिष्टेटरको भूमिका क्लियर भएपछि सायद हामी त्यतातिर पनि अगाडि बढ्छौँ होला । अब हामीले शिखर इन्स्योरेन्स व्यवसायिक रूपमा म्यानेज, विश्वासिलो कम्पनी हो, यो स्ट्रङ छ, यहाँ बीमा गर्यो भने मलाई अन्याय हुँदैन है भन्ने आमनागरिकको विश्वास जित्नु छ । त्यतातिर लागिपरेका छौँ ।

Back to Top