मंगलबार, ११ वैशाख २०८१

खेतीयोग्य जमिनमा विस्तार हुँदै सिँचाइ सुविधा

समयपोष्ट २०७४ फागुन २४ गते ९:५५

किसानका खेतबारीमा सिँचाइको पहुँच बढेको छ । खेतीयोग्य जमिनमा सिँचाइ हुने क्रम बढेको सिँचाइ विभागका प्रवक्ता दानरत्न शाक्यले बताउनुभयो ।

Advertisement

किसानले परम्परागत रुपमा सञ्चालन गर्दै आएको कुलोको सुधारका साना योजना र दातृ निकायको अनुदानमा सञ्चालित ठूला आयोजनाका कारण सिँचाइ हुने जमीन बढेको हो । वर्षाको समयमा अहिले १३ लाख ५० हजार हेक्टर जमीनमा सिँचाइ पुगेको विभागको तथ्यांक छ । देशभरमा खेतीयोग्य जमीन जम्मा १७ लाख २६ हजार हेक्टर रहेको छ । उहाँ भन्नुहुन्छ, “सिँचाइमा सञ्चालित ठूला योजनाका कारण सिँचाइको क्षेत्रफल बढिरहेको छ ।”

वर्षाको तुलनामा हिउँदमा कम जमीनमा सिँचाइ हुने प्रवक्ता शाक्यले बताउनुभयो । हिउँदमा पानी कम हुँदा कम क्षेत्रफलमा सिँचाइ हुने गरेको हो । हिउँदमा जम्मा खेतीयोग्य जमीनको ३५ प्रतिशतमा मात्रै सिँचाइ हुन्छ । विभागका अधिकांश जिल्लामा कार्यालय रहेको छ । दातृ निकायको सहयोगमा सञ्चालित ठूला आयोजना विभाग आफैँले समन्वय गरिरहेको छ । साना योजना र मर्मतका काम जिल्लास्थित कार्यालयले गरिरहेका छन् । उहाँले भन्नुभयो, “हामीले सिँचाइ सजिलै हुने अधिकांश खोलामा सिँचाइ शुरु गरेका छौँ ।” कतिपय खोलामा भने सिँचाइसँगै बिजुली निकाल्ने बहुउद्देश्य योजना शुरु भएका छन् ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री