शुक्रबार, ७ वैशाख २०८१

‘रेमिट्यान्सको केही अंश बीमा गर्नुपर्छ भनेर गाउँ–गाउँमा कार्यक्रम सञ्चालन गर्दै छौं’

समयपोष्ट २०७४ फागुन २९ गते ५:४८

आईएमई लाइफको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?

Advertisement

यो कम्पनी स्थापना भएको अहिले छैटौँ महिनामा प्रवेश गरेको छ । अहिलेको हाम्रो पहिलो प्राथमिकता भनेको शाखा विस्तार र मानव संसाधनलाई तालिम दिने कुरामा बढी केन्द्रित भएका छौँ । सबै शाखाका ह्युमन रिसोर्सहरूले पोलिसी त्यहीँबाट जिम्मा लिएर जारी गर्न सक्ने बनाउन त्यहीअनुसारका पूर्वाधारहरू निर्माण गर्न हामी बढी केन्द्रित भएका छौँ । त्यही सिलसिलामा आर्थिक वर्षको पहिलो पौष मसान्तसम्म लगभग ४२ वटा शाखाहरू विस्तार गरिसकेको अवस्था छ । सम्बन्धित शाखाबाटै बीमा पोलिसी जारी गर्न सक्ने अवस्थामा हामी पुगिसकेका छौँ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रूपैयाँ रहेको छ । दुई अर्ब जारी पुँजी भयो भने अधिकृत पुँजी ३ अर्ब हो । हालसम्म चालू आर्थिक वर्षको ६ महिनाको यो अवधिमा लगभग साढे ११ करोड प्रिमियम सङ्कलन गरेको अवस्था छ । बीमितहरू पनि लगभग १२ हजारको हाराहारी पुगेको छ । हामीले एजेन्टहरू पनि साढे १२ सयको हाराहारीमा उत्पादन गरेर काम गरिसकेको अवस्था छ । हाम्रो लगभग ६ करोड ५३ लाख रूपैयाँ जगेडा कोषमा छ । जीवन बीमा कोषमा २ करोड ५१ लाख रूपैयाँ रहेको छ । गएको पौष मसान्तसम्म हामीले ६ करोड १८ लाख रूपैयाँ नाफा सञ्चित गरेका छौँ ।

कस्ता खालका प्रडक्टहरू तपाईंहरूले सञ्चालन गरिरहनुभएको छ ?

अहिले हामीसँग नौवटा प्रडक्टहरू छन् । त्यसमा एउटा सावधिक बीमा, आजीवन बीमा, दुईवटा बालबालिकाहरूका लागि, त्यसमा एउटा बीचमा पैसा फिर्ता गर्ने र अर्को समय सकिइसकेपछि पाउने योजना छन् । दुईवटा सिङ्गल प्रिमियमवाला पनि ल्याएका छौँ । दुईवटा बीचमा पैसा फिर्ता गर्ने योजना पनि छ । त्यस्तै, वैदेशिक रोजगार र लघुवित्त बीमा योजना रहेका छन् ।

आईएमईले आफ्नै खालको ब्रान्ड लिएर अगाडि बढेको छ । स्तरीय सेवा दिने हिसाबमा हाम्रो कम्पनी अगाडि बढिरहेको छ । हाम्रो कम्पनीले ल्याएका नौ प्रडक्टमा केही यस्ता प्रडक्टहरू छन्, जुन अन्य कम्पनीहरूले ल्याएका छैनन् । पुराना कम्पनीले नल्याएका प्रडक्टहरू परिस्कृत ढङ्गबाट सुरक्षा र रिटर्नलाई मध्यनजर गर्दै बनाएका छौँ । त्यस्तै, हाम्रो यस्तो प्रडक्ट पनि छ– यदि केही भइहाल्यो भने बीमितले त्यसको साढे तीन गुणासम्म पाउने गरी बजारमा ल्याएका छौँ । त्यो अलि बढी बिक्री भइरहेको छ । एकल प्रिमियम, दुई किस्ता, तीन किस्ता गरेर तिर्ने पनि हामीले बजारमा बढी फोकस गरेर ल्याएका छौँ । त्यसको पनि राम्रो रेस्पोन्स आइरहेको छ । समग्रमा हाम्रा प्रडक्टहरूले बजारमा राम्रो प्रतिक्रिया पाइरहेका छन् ।

बीमा साक्षारताको लागि तपाईंको कम्पनीले केही नयाँ योजना तथा कार्यक्रम सञ्चालन गर्दैछ कि ?

अन्य आधारभूत आवश्यकताका चिज जस्तै बीमा पनि आवश्यक छ है भनेर मानिसहरूमा चेतना अभिवृद्धि गराउने खालको कार्यक्रम लैजाने हाम्रो कम्पनीको सोच छ । अहिलेसम्म मानिसहरूमा बीमा भनेको बाध्यकारी जस्तो मात्र भएको छ । त्यो सोचलाई हामी परिवर्तन गर्न चाहन्छौँ । बीमामा गरिएको लगानी भनेको पहिले आफूलाई र आफू नहुँदा परिवारलाई, यसले जीवनमा आवश्यक पर्ने कुनै पनि कुरालाई सहजीकरण गर्छ भन्ने सोचका साथ अगाडि जाने हाम्रो योजना हो ।

हामीले हरेक जिल्लाका स्थानीय तहमा पुगेर नयाँ पुस्ताका लागि त्यहाँका शिक्षण संस्थामा गएर बीमासम्बन्धी जनचेतना जगाउने कार्यक्रम गर्न प्रयासरत छौँ । ग्रामीण भेग, जहाँ मानिसलाई बीमाबारे थाहा छैन, त्यहाँका केही समूहलाई लिएर बीमाबारे जानकारी दिँदा, बुझाउँदा उनीहरूले त्यही कुरा आफ्नो ठाउँका मानिसहरूलाई बुझाउन सक्छन् । हामीले अहिले त्यही अभिप्रायले काम गर्न सुरु गरेका छौँ ।

वैदेशिक रोजगारीमा गएकाले पठाउने रेमिट्यान्स जति पनि नेपालमा भित्रिएको छ, त्यो रेमिट गाउँ–गाउँमा पुगेको छ । त्यसको पनि केही अंश बीमा गर्नुपर्छ भनेर अभिप्रेरित गर्नेखालको कार्यक्रम सञ्चालन गर्ने हाम्रो अर्को योजना रहेको छ ।

बीमा समितिले तोकेको पुँजी कसरी पुर्याउँदै हुनुहुन्छ ?

बीमा समितिले समयसीमा तोकिदिएको छ । त्यो समयसीमाभित्र त्यहीअनुसारको योजना बनाएर पु¥याउने हाम्रो योजना छ । त्यसको लागि सुरुवातका केही कामहरू पनि अगाडि बढाइरहेका छौँ । समयसीमाभित्र पुँजी पु¥याउने हाम्रो अठोट छ र हामी पुर्याउँछौँ पनि ।

कम्पनीका आगामी याजना के–के छन् ?

मानिसहरू अहिले नयाँ कुरा चाहन्छन् । भइरहेको परम्परागत प्रडक्टभन्दा नयाँ किसिमका बीमा योजनाहरू ल्याउँदै छौँ । नयाँ पुस्तामा बीमासम्बन्धी चेतना अभिवृद्धि गर्ने कुरामा, कागजी प्रक्रियाहरू कम गर्ने कुरामा, अहिलेको डिजिटल जमानाअनुसार मोबाइलबाटै रकम तिर्न मिल्नेखालको प्रडक्ट ल्याउने कुरामा प्रयासरत छौँ । केही कुराहरू अगाडि बढिसकेका पनि छन् । छिटोछरितो सेवा दिनेखालका प्रडक्ट हामी ल्याउँदै छौं । केही समयभित्र हामी त्यो ल्याउँछौँ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री