बिहीबार, १३ वैशाख २०८१

पुवाखोलामा निर्माणाधीन पुलको काम ९८ प्रतिशत पूरा

समयपोष्ट २०७४ चैत २ गते ४:३१

मेची राजमार्गअन्तर्गत इलामको पुवाखोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ ।

Advertisement

फुटपाथसहित दुई लाइन गाडी कुद्न सक्ने पुलको काम ९८ प्रतिशत पूरा भएको हो । इलाम सडक डिभिजन कार्यालय, इलाममार्फत निर्माणाधीन यो पुल पूर्वी क्षेत्रकै पहिलो नयाँ प्रविधिबाट तयार गरिएको हो ।

मेची राजमार्गले पूर्वी पहाडी जिल्लालाई तराई जोड्न पुलको काम गरिरहेको छ । यो पुलले इलाम हुँदै पाँचथर, ताप्लेजुङसम्म जान स्थानीयलाई सहज हुनेछ ।

यहाँ रहेको पुल जीर्ण भएपछि ठूला सवारी सञ्चालनमा समस्या भएकोमा अब भने सहज हुनेछ । यस सडकले दैनिक उपभोग्य वस्तु घरघरमा लैजान र उत्पादित वस्तु सहजरुपमा बजारसम्म लैजान मद्दत गरेको छ ।

यस राजमार्गमा पर्ने धेरै स्थानमा पुराना पुल जीर्ण भएका छन् । पुल पुरानो भएका कारण नयाँ पुल निर्माण गरिएको डिभिजन सडक कार्यालय इलामका इञ्जिनियर ध्रुवकुमार झाले जानकारी दिनुभयो ।

निर्माणाधीन पुल (प्रिस्टे«स कन्क्रिट) प्रविधिबाट निर्माण भएको जनाइएको छ । यस प्रविधिबाट निर्माण गरिएको पुल नेपालमा कमै रहेको इञ्जिनियर झाले बताउनुभयो । झाले भन्नुभयो– “अब सवबेस र पेन्टिङको मात्र काम बाँकी छ, तत्कालै पूरा हुन्छ ।”

उक्त पुल निर्माणका लागि रु चार करोड १३ लाख ९० हजार २९५ को लागतमा २०७१ असार २७ गते ठेक्का सम्झौता भएको र एलिट कन्स्ट्रक्सनले काम गरिरहेको छ । ठेक्का सम्झौता लिएको तीन वर्षमा सक्नुपर्ने भएपनि नयाँ प्रविधि भएकाले सामग्रीको अभावका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जानकारी दिएको छ ।

उक्त पुलको लम्बाइ ४१ मिटर छ भने चौडाइ ११ मिटर रहेको छ । यस प्रविधिबाट निर्माण भएको पुलको आयु लामो हुने प्राविधिकको भनाइ छ ।

सम्पन्न भएको पुल आगामी ०७५ वैशाख १ गते एक कार्यक्रमबीच उद्घाटन गर्ने लक्ष्य राखिएको छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री