शनिबार, १५ वैशाख २०८१

ऊर्जामन्त्रीको पदबहाली : ढिलासुस्ती र अनियमिततालाई नियन्त्रण गर्छौ

समयपोष्ट २०७४ चैत २ गते १६:३५

नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज मन्त्रालयमा पद वहाली गर्दै आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा ऊर्जा क्षेत्रको उन्नयनका लागि सबै उपाय अबलम्बन गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

Advertisement

विगतका सरकार र मन्त्रीले अगाडि सारेको सकारात्मक कार्ययोजनालाई अक्षरशः कार्यान्वयन गर्ने र काम गर्ने वातावरण बनाउने उहाँको भनाइ थियो । “विगतमा धेरै राम्रा कार्ययोजना बनेका छन् । अस्थिर राजनीतिक प्रणालीका कारण ती कार्ययोजना कार्यन्वयन हुन सकेनन् । अब हामी पाँच वर्ष स्थिर सरकार दिने लक्ष्यका साथ आएका छौँ”–नवनियुक्त ऊर्जामन्त्री पुनले भन्नुभयो ।

ऊर्जा मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनामा रहेको ढिलासुस्ती र अनियमिततालाई नियन्त्रण गर्ने समेत उहाँको कथन थियो । माथिल्लो तामाकोशी आयोजनालाई समयमै सम्पन्न गरिने, सिँचाइ आयोजनाका रुपमा रहेका रानी जमरा, कुलरिया, सिक्टा जस्ता आयोजनाको निर्माण कार्यलाई गति दिने र समयमै सम्पन्न गर्ने मन्त्री पुनले स्पष्ट पार्नुभयो ।

नवनियुक्त मन्त्री पुनले बिएलसम्म अध्ययन गर्नुभएको छ । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा रोल्पा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका मन्त्री पुन अप्ठ्यारोमा काम गर्न स्क्ने क्षमता भएका नेताका रुपमा परिचित हुनुहुन्छ ।

विगतमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेर पनि बजेट ल्याउन नपाएको भन्दै उहाँले यस पटक इतिहास राख्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री पुनले भेरी नदीमा निर्माण हुने भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको जग्गा प्राप्तिसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा ऊर्जा, सिँचाइ र जल तथा ऊर्जा आयोगका सचिवहरुले आ–आफ्नो कार्यक्षेत्रको विषयमा मन्त्री पुनलाई जानकारी गराउनुभएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री