शनिबार, ८ वैशाख २०८१

अनिश्चितकालसम्म राष्ट्रपति बन्न चिनियाँ राष्ट्रपतिलार्इ खुल्यो बाटो

समयपोष्ट २०७४ चैत ३ गते ८:१७

चीनको संसदमा शनिबार बिहान भएको निर्वाचनबाट चिनियाँ वर्तमान राष्ट्रपति सि चिनफिङ नै फेरी निर्वाचित हुनु भएको छ ।

Advertisement

चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकंग्रेसको जारी बैठकले उहाँलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

केन्द्रिय सैन्य आयोगको अध्यक्षमा समेत निर्वाचित हुनु भएका सि हाल ६४ बर्षको हुनुहुन्छ ।

उहाँले निर्वाचित भएलगत्तै संविधानअनुसार ग्रेट हल अफ द पिपुल्समा सपथ ग्रहण पनि गरिसक्नु भएको छ । चिनियाँ राष्ट्रपतिले यस्तो तरिकाले सपथ लिएको यो पहिलो पटक हो ।

गत अक्टोबरमा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा निर्वाचित हुनु भएको थियो ।

गत सन् २००७ मा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटिकल व्युरोको स्थायी समिति सदस्यका रुपमा केन्द्रिय नेतृत्वमा जोडिनु भएका सि छोटो समयमै अहिले सर्वाधिक शक्तिशाली नेता बन्न सफल हुनुभएको छ ।

उहाँ अवदेखि अनिश्चितकालसम्म राष्ट्रपति बन्नुहुने भएको छ । गत हप्ता चिनियाँ संसद्ले राष्ट्रपतिको कार्यकालसम्बन्धी सीमा संविधानबाट हटाउने निर्णय गरेको थियो ।

राष्ट्रपति सीले आफ्ना सम्भावित उत्ताराधिकारी प्रस्तुत गर्ने प्रचलन गत अक्टोबरमा बसेको कम्युनिष्ट पार्टीको महाधिवेशनमा तोडिदिनु भएको थियो । त्यसपछि नै उहाँको कार्यकाल लम्विने स्पष्ट भएको थियो ।

उहाँले राजनीतिक शक्ति आफूमा केन्द्रित गर्दै पार्टीको विधानमा आफ्नो नामसहितको राजनीतिक विचारधारा लेखाउन सफल हुनु भएको छ ।

संसद्ले सिका निकट मानिनुहुने भ्रष्टाचारविरोधी अभियान्ता वाङ चिसानलाई पनि शनिबार नै उपराष्ट्रपतिमा निर्वाचित गरेको छ ।

राष्ट्रिय जनकंग्रेसको १३औ बैठकको पहिलो चरणमा सहभागी झण्डै तीन हजार सांसदहरुले उहाँलाई निर्वाचित गरेका हुन् ।

उहाँ निर्वाचित भएको घोषणा भएलगत्तै उहाँसँग नवनिर्वाचित राष्ट्रपति सि चिनफिङले हात मिलाएर बधाई दिनुभएको थियो । उपराष्ट्रपति वाङले पनि शनिबार नै सपथग्रहण गरिसक्नु भएको छ ।

सन् १९४८ मा जन्मिनु भएका वाङ विगत केही बर्ष देखि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय तहमा रहनु भएको थियो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री