शुक्रबार, १४ वैशाख २०८१

चीनको सरकारको सहयोगमा सिंहदरबार झलल

समयपोष्ट २०७४ चैत २७ गते ११:०४

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ ।
चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आज आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

Advertisement

सौर्य ऊर्जा उत्पादनका निम्ति प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, ऊर्जा मन्त्रालयसहित सिंहदरबारस्थित २१ वटा भवनका छतमा सौर्य प्यानल जडान गरिएको छ । दुई वर्षअघिदेखि ती प्यानल राख्न थालिएको थियो ।

करीब रु ६० करोड लागत रहेको ‘चाइना एड फोटोभोल्टिक परियोजना’ सोलार बत्ती नेपाल विद्युत् प्राधिकरणको ग्रिडमा जोडिनेछ ।

सो अवसरमा चिनियाँ राजदूत यु होङले विकास र समृद्धिका लागि दुई देशबीच लामो समयदेखि समन्वयात्मक सहकार्य रहँदै आएको र त्यसको पछिल्लो उदाहरण सौर्य ऊर्जा महत्वपूर्ण परियोजना भएको उल्लेख गर्नुभयो ।

चीन विश्व अर्थतन्त्रको शक्तिशाली मुलुक भएको र पर्यटनको हिसाबले पनि अथाह सम्भावना रहेको भन्दै उहाँले नेपालको आर्थिक विकासका लागि नयाँ सम्भावनाका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने योजना रहेको सुनाउनुभयो ।

यसअघि उक्त परियोजना चीन सरकारको तर्फबाट नेपालको ऊर्जा मन्त्रालयलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो । ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे र नेपालका लागि चिनियाँ राजदूतावासका इकोनोमिक काउन्सिलर वाइ पिङले सम्पन्न परियोजनामा हस्ताक्षर गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओली, चिनियाँ राजदूत होङलगायतले प्रधानमन्त्री कार्यालयमा जडान गरिएको सौर्य प्रणालीको अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री