बिहीबार, १३ वैशाख २०८१

‘समाज सेवा गरेर जीवनमा आनन्द लिने कला नै शिक्षा हो’

समयपोष्ट २०७५ वैशाख ३ गते ५:०७

करिब २७ वर्षअघि फादर बन्ने उद्देश्यसहित नेपाल प्रवेश गरे फादर जर्ज पि.एम. एस.जे. । दक्षिण भारतको केरलास्थित इसाई परिवारमा जन्मिएका उनी कक्षा १२ उत्तीर्ण गर्नेबित्तिकै आफ्नो जीवन मानव सेवामा समर्पित गर्ने उद्देश्यसहित नेपाल भित्रिए ।

Advertisement

नेपालको वातावरण राम्ररी बुझिसकेपछि बस्ने कि नबस्ने भन्ने अन्तिम निर्णय आफ्नो हुन्थ्यो । जर्जले नेपालको परिवेश राम्ररी बुझेपछि अन्ततः नेपालमै बस्ने अन्तिम निर्णयमा पुगे । नेपाल आएपछि करिब चार वर्ष त उनले नेपाली र अङ्ग्रेजी सिक्नमै खर्चिए । त्यसपछि भने उनले सन् १९९९ देखि २००१ सम्म गोदावरीको सेन्ट जेभियर स्कुलमा अध्यापन गरे । सन् २००४ बाट झापाको सेन्ट जेभियर्स स्कुल देवनियामा करिब ७ वर्ष प्रिन्सिपलको रूपमा काम गरेका उनले झापामा मात्र लगभग दश वर्ष बिताए । त्यति बेला झापामा जेसुट संस्था अर्को दुईवटा स्कुल स्थापना गर्न चाहन्थ्यो । संस्थाको उद्देश्यअनुरूप उनी सफल पनि भए । उनले झापाको सडकवाडी भन्ने ठाउँमा सेन्ट जेभियर्स सडकवाडी स्कुल सुरु गरे । लगत्तै दुई वर्षपछि सिमरवाडी भन्ने ठाउँमा लोयोला स्कुल स्थापना गरे । हाल झापामा मात्र जेसुट संस्थाअन्तर्गत चारवटा स्कुलहरू सञ्चालनमा छन् ।

झापाको लामो बसाइपछि उनले उपत्यकाको सेन्ट जेभियर स्कुलमा शिक्षण पेसाको सुरुआत गरे । हरेक अभिभावकको पहिलो रोजाइको रूपमा रहेको उही विख्यात विद्यालयकोे कमाण्ड सम्हालिरहेका फादर जर्जसँग नेपालको शिक्षा क्षेत्र, सेन्ट जेभियर्सको अवस्था, शिक्षण शैलीलगायतका विषयमा समयबोधले गरेको कुराकानी –

२७ वर्षको अवधिमा नेपालको शिक्षा क्षेत्र कस्तो पाउनुभयो ?

माओवादी आन्दोलनपछि नेपालमा व्यापक रूपमा स्कुलहरूको वृद्धि भएको छ । मैले लामो समय झापा जिल्लामा बिताएँ । त्यहाँका ग्रामीण भेगमा यसअघि स्कुलहरू थिएनन् । अहिले त्यहाँ थुप्रै स्कुलहरू स्थापना भएको देखेको छु, जुन निकै नै सकारात्मक पक्ष हो ।

साथै, शिक्षामा गुणस्तरको कुरा गर्दा हाल काठमाडौँमा पहिलेको भन्दा निकैै गुणस्तरीय स्कुलहरू स्थापना भएका छन् । समग्रमा भन्नुपर्दा जिल्लाबाहिर पनि राम्रा स्कुलहरू स्थापना भएको मैले पाएको छु । मैले नेपाली सिक्दा मेरा गुरुजीले सधैँ एउटा वाक्य दोहो¥याउने गर्नुहुन्थ्यो– खानु र पिउनु जीवन भए जीवन भए के ? यो वाक्यभित्र निकै नै गम्भीर र महत्वपूर्ण भाव लुकेको छ । हामीले पनि बालबालिकाहरूलाई कसरी खाने र पिउने भन्ने मात्र सिकाउने हो भने त्यो शिक्षा पूर्ण हुँदैन । यसकारण हामी हाम्रा विद्यार्थीहरूलाई कसरी आध्यात्मिक बनाउन सकिन्छ, त्यतातिर केन्द्रित छौं । मैले हरेकको मुखबाट सुन्ने गर्छु कि नेपाल अत्यन्तै राम्रो छ । जसरी प्राकृतिक रूपमा नेपालले मानिसहरूलाई लोभ्याएको छ, त्यसै गरी यहाँको सामाजिक व्यवस्थाले मानिसलाई तान्न सकेको छैन ।

सबैभन्दा ठूलो कमजोरी यहाँका नेताहरूबाट भएको सुनिन्छ । सञ्चार माध्यम तथा सार्वजनिक यातायातमा नेपालका नेताहरूको बारेमा निकै आलोचना भएको देख्न र सुन्न पाइन्छ । नेताहरूको आलोचना हुनुको कारण के त ? शिक्षा अभावमा उनीहरूको आचरण नराम्रो भएको त पक्कै होइन । उनीहरू पढे–लेखेकै छन् आखिर कमजोरी कहाँ छ त ? यसको मतलब नेपालको शैक्षिक प्रणालीमै त्रुटि छ ।

शिक्षामा हामीले केमा ध्यान दिइरहेका छौ ? यो प्रश्न निकै गम्भीर छ । नेपालमा अत्याधिक भ्रष्टाचार बढेको छ । भ्रष्टाचार गर्ने को हो ? सबै उच्च शिक्षा हासिल गरेर उच्च तहमा पुग्नेबाटै नेपालमा भ्रष्टाचार हुने गरेको छ । यसको मतलब हाम्रो शिक्षण पद्धतिमै समस्या छ । हामीले दिने शिक्षामा धर्मबोध भन्ने नै भएन । हामीले विद्यार्थीलाई मात्र पैसा कमाउन पढायौँ । तर मानिस भएर समाजमा कसरी रहने भन्ने कुरा सिकाउन कमजोरी भएको छ ।

पढाउन त हामीले विज्ञान, गणित सबै पढाउँछौँ तर स्कुलबाट जुन मूल्य–मान्यता विद्यार्थीहरूले सिक्नुपर्ने हो, त्यो सिक्न पाएनन् । हामी सधैँ देशमा भ्रष्टाचार बढ्यो भनेर विलाप गर्छौं । भ्रष्टाचारको मुख्य कारण के हो, त्यो पहिल्याउनतिर हामी कहिल्यै लागेनौँ । विद्यार्थीहरूलाई सच्चा नागरिकको रूपमा विकास गराउनतर्फ स्कुलहरूले कहिल्यै ध्यान दिएनन् । अब हरेक विद्यालयको ध्यान त्यतातिर जानुपर्छ ।

त्यस्तो शिक्षाको लागि के चाहिन्छ ?

गुणस्तरीय शिक्षामा दया, माया, करुणा र विश्वास हुनुपर्छ । अहिले शिक्षालय जीवन धान्नका लागि सीप प्रदान गर्ने कारखाना भएका छन् । गुणस्तरीय शिक्षा भनेको एक्लै रमाउने होइन समाजलाई सेवा गरेर सुखद जीवन जीउने कला प्रदान गर्नु हो । शिक्षामा सामाजिक मूल्य र मान्यता स्थापित गरियो भने बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ ।

शिक्षा केवल आफ्नो बारेमा सोच्ने विषय होइन् । यो समाजलाई सेवा गरेर जीवनमा आनन्द लिने कला हो । शिक्षालाई जीवन धान्न आवश्यक पर्ने सीपका रुपमा मात्र अगाडी बढाइनु हुँदैन । शिक्षा विश्वलाई सेवा गर्ने माध्यमका रुपमा धारण गर्नु पर्छ । यसैगरी शिक्षा प्रदान गर्ने शिक्षक शिक्षिकालाई योग्य बनाउनु आवश्यक छ । शिक्षक शिक्षिका मार्फत किताव पढाउने मात्र होइन बालबालिकालाई जीवन जिउने कला पहिचान गराउन सकियो भने गुणस्तरीय शिक्षाका लागि योगदान दिन सकिन्छ । शिक्षक शिक्षिकाहरुलाई पूर्ण जिम्मेवार बनाउनु पर्छ । यसैगरी पढाइको तह निर्धारण गर्ने र माथिल्लो तहमा जानका लागि अनिवार्य रुपमा हासिल गर्नुपर्ने ज्ञानको मापदण्ड निर्धारण गराउन सकियो भने गुणस्तरीय शिक्षा प्रदान गराउन सकिन्छ ।

सामुदायिक र निजी स्कुलहरूबीचको दूरी हटाएर एकैखाले शिक्षा विद्यार्थीहरूमाझ पुर्याउन सरकारले के गर्नुपर्ला ?

सरकारले सबैभन्दा पहिले विद्यालयमा हुने राजनीति हटाउनुपर्छ । हरेक विद्यालयका शिक्षकहरू कुनै न कुनै राजनीतिक दलमा आबद्ध भएका हुन्छन् । राजनीतिक दलमा आबद्ध भएकै कारण कुनै एक शिक्षक विद्यालय हाजिर नहुँदा त्यहाँका प्रिन्सिपलले त्यो शिक्षकको विरुद्ध कुनै कदम चाल्न सक्दैनन् । केही भइहाले पार्टीले उसलाई मद्दत गर्न आइहाल्छ । त्यस कारण सबैभन्दा पहिले सरकारले स्कुलमा हुने राजनीतिक गतिविधिलाई बन्देज लगाउनै पर्छ । साथै, कडाखालको नीति–नियम बनाउनुपर्छ ।

दोस्रो, शिक्षक कक्षामा गएर के पढाए, के सिकाए भन्ने थाहा पाउने रेकर्ड गर्ने सिस्टम स्कुलमा हुनुपर्छ । कक्षा र उमेरअनुसार शिक्षकले विद्यार्थीलाई पढाएको छ कि छैन अथवा विद्यार्थीले कति जान्यो, त्यसमा ध्यान दिनु अति जरुरी छ । चेक एन्ड व्यालेन्स हुनै पर्छ । जति सिकाउनुपर्ने हो, विद्यार्थीलाई शिक्षकले सिकाएको छैन भने त्यस्ता शिक्षकलाई विद्यालयमा राखिराख्नु जरुरी पनि छैन ।

सेन्ड जेभियर्सको शिक्षण विधि कस्तो छ ?

सबै बालबालिकाहरू क्षमतावान् हुन्छन् । विद्यार्थीहरूलाई सबै कुरा शिक्षकले सिकाइरहनुपर्दैन । कसैले प्रत्यक्ष सहभागी भएर सिक्न सक्छन् भने कसैले देखेर अथवा कसैले सुनेर सिक्न सक्छन् । त्यसका लागि कक्षागत शिक्षकले विद्यार्थीहरूलाई कक्षामा कसरी प्रत्यक्ष सहभागी गराउने भनेर समय निर्धारण गर्छ । साथै, विद्यार्थीहरूलाई प्रोजेक्ट वर्क, ग्रुप वर्क गर्न लगाइन्छ । हामी विद्यार्थीहरूका लागि विद्यालयमा त्यो किसिमको वातावरण तयार गरिदिन्छौँ, जहाँ उनीहरूले आफैँ सिर्जना गर्ने मौका पाउँछन् ।

कक्षामा एउटा विषय पढाएपछि शिक्षकले त्यसको डिक्टेसन गर्न सक्छन् तर हाम्रो विद्यालयमा शिक्षकहरूले कहिल्यै त्यो गर्दैनन् । हामी विद्यार्थीहरूलाई आफैँ गर्न लगाउँछौँ । विद्यार्थीहरूले गल्ती गर्न सक्छन् तर उत्तर आफैँले दिने बनाउँछौँ । विद्यार्थीे आफैँले सिर्जना गर्नुप¥यो । त्यसले विद्यार्थीहरूलाई विस्तारै आफैँ उत्तर दिने बानी पर्दै जान्छ । शिक्षक आफैँले उत्तर लेखाउने हो भने विद्यार्थीले जाँचमा एकदम राम्रो गर्छ । सबै उसको नम्बर देखेर खुसी पनि हुन्छन् तर भविष्यमा त्यो विद्यार्थी बजारमा टिक्न सक्दैन ।

हाम्रा विद्यार्थीहरूले करिब २५ वर्षअघि एसएलसीमा बोर्ड फस्ट ल्याएका थिए तर अहिले ल्याउन सकेका छैनन् । तर हामीलाई गर्व लाग्ने विषय भनेको जब हाम्रा विद्यार्थी बजारमा जान्छन्, उनीहरू टिक्छन् । हामी विद्यार्थीहरूलाई मानवीय मूल्य–मान्यतामा आधारित शिक्षा दिन्छौँ । शिक्षकहरूले विद्यार्थीहरूको अनुशासनलगायत विषयमा विशेष ध्यान दिनुहुन्छ ।

अर्को कुरा हाम्रो स्कुल अन्य विद्यालयभन्दा उत्कृष्ट छ म भन्दिनँ । हाम्रो भन्दा उत्कृष्ट विद्यालयहरू काठमाडौँमा छन् । हामी टिचिङ लर्निङमा काठमाडौँका अन्य स्कुलसँग प्रतिस्पर्धा गर्नै सक्दैनौँ । हाम्रो फोकस भिन्दै छ । तर प्रायः अभिभावकहरू ओभर अल हेर्नुहुन्छ । हामीले कक्षा १ देखि ५ सम्म बढीमा ३५ विद्यार्थी लिने गरेका छौँ । ५ देखि एउटा सेक्सन घटाएर बढीमा ४५ विद्यार्थी राख्छौँ । अहिले कुल २ हजार १ सय २० विद्यार्थी यहाँ अध्ययनरत छन् ।

अभिभावकले सेन्ट जेभियर्स नै किन रोज्ने ?

पहिलो कुरा त यहाँको भौतिक पूर्वाधार नै हो । अर्को, यहाँ विद्यार्थीहरूका लागि खुला ठाउँ धेरै छ । भनिन्छ नि, खुला ठाउँ धेरै भयो भने मन पनि खुल्छ । मन भनेको प्यारासुट जस्तै हो, जुन खुलेपछि मात्र काम गर्छ । त्यस कारण हामी विद्यार्थीको मन खुलाउने काम मात्र गर्छौं ।
दोस्रो, यस स्कुलमा पढाइने सबै स्वदेशी टिचरहरू हुनुहुन्छ । हामी यस स्कुलमा जोडिन आउने शिक्षकहरूका लागि सर्वप्रथम हामीले दिने शिक्षाको मुख्य उद्देश्य के हो, त्यो लगायतका विषयवस्तु समेटेर तालिम दिन्छौँ । त्यसपछि टिचरहरू विद्यार्थीमाझ जानुहुन्छ । अर्को, समय–समयसमा हामी विद्यालयमा सम्बन्धित विषयका विज्ञहरू ल्याएर विद्यार्थीहरूसँग अन्तरक्रिया गराउँछौँ । अभिभावकहरूसँग समय–समयमा छलफल गर्ने साथै अभिभावकहरूका लागि समेत विज्ञ बोलाएर कक्षा सञ्चालन गर्ने गर्छौं । हुन त हामीसँग निकै शिक्षित अभिभावकहरू हुनुहुन्छ तर उहाँहरूलाई आफनो बच्चासँग कसरी प्रस्तुत हुने भन्ने कुरा थाहा नहुन सक्छ ।

अर्को, हामीले यस विद्यालयमा एकदम निम्न र मध्यमवर्गीय परिवारका विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्थासमेत गरेका छौँ । त्यसले गर्दा निम्नवर्गीय परिवारले पनि आशा गर्ने गरेका छन् । हामीले सक्दो छात्रवृत्ति पनि उपलब्ध गराएका छौँ । कहिलेकाहीँ हाम्रै अभिभावकहरूले सहयोग गरिरहनुभएको हुन्छ । हामी उहाँहरूलाई तपाईं कुनै अर्को एक बच्चा पढाइदिन सक्नुहुन्छ भनेर कुरा राख्छौँ । कतिपयले पढाइदिइराख्नुभएको पनि छ । हामीले हाम्रा विद्यार्थीहरूका लागि बहुमुखी प्रतिभाको कुरा गरेका छौँ । पहिले जो गणित, साइन्समा राम्रो छ, ऊ विद्वान् कहलिन्थ्यो तर अहिले हामीले त्यही इन्टेलिजेन्सलाई नै म्युजिकल इन्टेलिजेन्स, केनेस्थेटिक इन्टेलिजेन्समा भाग गरेका छौँ । यस्ता विभिन्न इन्टेलिजेन्स भएका विद्यार्थीहरू यस स्कुलमा होलान् । ती सबै विद्यार्थीहरूलाई हुने गरी शिक्षा कसरी दिने ? हामी त्यसरी लागेका छौँ ।

हाम्रो विद्यालयमा अतिरिक्त क्रियाकलापहरू बढी नै हुने गर्छन् । साथै, प्रत्येक कक्षाका विद्यार्थीहरू त्यसमा अनिवार्य सहभागी हुन्छन् । अभिभावक दिवसमा देखाउने हरेक कार्यक्रमको कोरियोग्राफर हाम्रा विद्यार्थी हुन्छन् । नाटक लेख्ने, त्यसमा प्राण भर्ने, डान्स कोरियोग्राफ गर्ने सबै विद्यार्थी आफैँले गर्छन् । साना विद्यार्थीहरूका लागि टिचरले गाइड गर्नुहुन्छ । सबैभन्दा मुख्य कुरा हाम्रो विद्यालयले उत्पादन गरेको विद्यार्थी भविष्यमा कोही पनि बेरोजगार बस्नुपर्दैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री