SAMAYAPOST

‘सबैभन्दा बढी उत्पादनशील क्षेत्र अटोमोबाइल हो’

    

सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)को अध्यक्ष भएका छन् । २६ चैत्रमा भएको निर्वाचनमा प्रतिस्पर्धी राम कँडेललाई भारी मतले पराजित गर्दै उनी अध्यक्षमा विजयी भए । टाटा मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदीमा २२ वर्षदेखि काम गर्दै आएका उनीसँग अटोमोबाइल क्षेत्रबारे राम्रो ज्ञान छ । नाडामै विभिन्न पदमा रहेर १२ वर्ष काम गरिसकेका उनी नाडाले हरेक वर्ष गर्ने नेपालको सबैभन्दा ठूलो अटो शोको पनि संयोजकको भूमिका निभाउँदै आएका छन् । पतञ्जली योग पीठका अध्यक्षसमेत रहेका उनले हरेक कुरालाई सकारात्मक पाटोबाट हेर्ने गर्दछन् । जे बोलिन्छ, जे भनिन्छ, त्यही गरौँ भन्ने सोचका उनीसँग नेपालमा अटो क्षेत्रको अवस्था, सम्भावना र नाडाको अबको कार्ययोजनाबारे समयबोधले गरेको कुराकानी :

नाडामा मैले काम गरेको १२ वर्ष भएछ । त्यसमा पाँच वर्ष नाडा अटो शो संयोजक भएर काम गरेँ । नाडासम्बन्धी राम्रो ज्ञान हासिल गरिएछ भन्ने अनुभूति भएको छ । समस्या कहाँ छ, कसको अपेक्षा के छ, कसरी जानुपर्छ र सरकारकै अपेक्षा के भन्ने कुरा पनि मैले बुझेको छु ।

यहाँ मुख्य समस्या भनेको बढी नकारात्मक सोच छ । बाराक ओबामा र विवेकानन्द मेरा आदर्श व्यक्ति हुन् तर चुनाव भइसकेपछि मानिस नेगेटिभिटीतिर ढल्किहाल्दो रहेछ । हामी त्यसलाई योगमा राक्षसी प्रवृत्ति भन्छौँ । तर मैले त्यसलाई चुनावीरूपमा मात्र लिएको छु । धेरै वर्ष सँगै काम गरेका साथीहरू हुनुहुन्छ । राम कँडेल सरसँग ३५ वर्षको अनुभव रहेको छ । त्यसले मलाई खासै प्रभाव पारेको छैन । उहाँसँग कुनै क्षमता छ भने म त्यसलाई पनि प्रयोग गर्न सक्छु भन्ने आत्मविश्वास मलाई छ ।

म हरेक बिहान नकारात्मक सोच नआओस् भनेर प्रार्थनासमेत गर्ने गर्छु । किनकि सकारात्मक पक्षतिर मात्र हामीले हेर्नुपर्ने हुन्छ । त्यसो गर्दा व्यक्तिगत जीवन र संस्थाको काम फटाफट अगाडि बढ्छ । मेरो मुख्य स्ट्रेन्थ भनेकै टिमवर्क हो र सिप्रदी पनि त्यसरी नै बनेको हो । सही व्यक्तिलाई सही ठाउँमा उसको मर्यादामा आँच नआउने गरी काम लगाउन सक्ने क्षमता मसँग छ । यसरी टिमवर्ककै माध्यमबाट नाडामा हामी अगाडि बढ्दै जाने हो ।
विभिन्न समितिमा विभिन्न मुद्दाहरू रहेका छन् । जस्तो– सवारी साधनमै पनि दुई पाङ्ग्रे, चार पाङ्ग्रे, स्पेयर पार्टस्लगायतका अङ्गहरू रहेका छन् । यी सबैका मुद्दाहरू हामी समितिकै माध्यमबाट हल गर्ने छौँ ।
हाम्रो मुख्य फेस भनेको नाडा अटो शो नै हो । त्यसको कन्स्ट्यान्टलाई ध्यानमा राख्दै, व्यवस्थापकीय दक्षतालाई ध्यान दिँदै विश्वको कुनै पनि स्थानको भन्दा कम नहोस् भन्ने हाम्रो धेय रहेको छ ।

एक–अर्काका परिपूरक

ठूला–साना व्यवसायी अथवा घरानाभन्दा पनि मुख्य आयातकर्ता नै उहाँहरू हुनुहुन्छ । जस्तो– सिप्रदीकै उदाहरण लिऔँ । हाम्रो डिलर लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस् हो । समस्या साना–ठूला भन्दा पनि एउटै हो । ठूलाको सरकारसँग लबिङ गर्ने क्षमता र याक्सपर्टिज पनि ज्यादा रहेको हुन्छ । त्यस कारण ठूलाको सहयोग चाहिन्छ । ठूलासँग जुन स्रोत र साधन हुन्छ, त्यो सानासँग हुँदैन । त्यसलाई सबै व्यवसायीको हितमा प्रयोग गर्न सकिन्छ । त्यस कारण दुवै अपरिहार्य छ । उहाँहरू ठूलाका या रिटेलर हुन्छन् या होसेलर, हामी एक–अर्काको इस्यु छुट्ट्याउनै मिल्दैन ।

सङ्घीयतामा नाडा

अहिलेको तत्कालीन मुद्दा भनेको सङ्घीयताको हो । जुन तुरुन्तै गर्नुपर्ने छ । सातै प्रदेशमा नाडाको एक एकवटा रिप्रिजेन्टटेटिभ संस्था त चाहियो, ताकि केही समस्या आइहाले त्यहीँ समाधान होस् । काठमाडौँमा आएर त सम्भव हुँदैन । त्यसको लागि साथीहरूसँग छलफल गर्नुपर्छ । तर पनि हामी एउटा फ्रेमवर्क बनाउँछौँ । जस्तो– नाडामा २२ जना पधाधिकारी छन् भने त्यहाँ ११ जना बनाइदिने । अनि ७ जना पधाधिकारी बनाइदिने । त्यसलाई फर्म गर्न एउटा कार्यविधि बनाउँछौँ । फर्म बनाउँदा कसरी कार्यविधि बनाउने, कसरी सदस्य बनाउने भनेर गाइड गर्छौं । एक–एक जना साथीहरूलाई सातैवटा प्रदेशमा एउटा संयोजक बनाएर जिम्मा दिन्छौँ । हाम्रो कार्यविभाजन त्यसरी हुन्छ । त्यस्तो फ्रेमवर्क दिमागमा छ । हामी वकिलको सहयोग लिएर संस्था तुरुन्त बनाइहाल्छौँ । त्यो तत्काल आवश्यक परिसक्यो । तर पोलिसी लेबलमा कार्यसमितिले पास गर्नुपर्ने हुन्छ । विधान नबन्दासम्म त्यहाँकालाई आमन्त्रित भनेर बोलाइदिने । विधान एजीमबाट पास गर्नुपर्ने हुन्छ । अनि आमन्त्रितलाई फेरि रेगुलरलाइज गरिदिने । सातवटा प्रदेशमा जति हुन्छ, त्यसरी गर्ने हाम्रो सोच छ । त्यो हामी फटाफट नै गर्छौं ।

सरकारलाई बुझाउन सकेनौँ

सर्वसाधारणको पहुँच गाडीमा पुर्याउन भन्सार दर कम गर्नुपर्छ भनेर नाडाले बारम्बार राख्दैै आएको छ । तर हामीले त्यो कुरा सरकारलाई बुझाउनै सकेनौँ । कम्पनीमा काम गर्ने सीईओ र त्यहाँका कर्मचारीहरू एकदमै आत्मीय हुन्छन् । उनीहरूको सम्बन्ध अभिभावक र छोराछोरीको जस्तो हुन्छ । अभिभावकले छोराछोरीले सवारी साधन नचढोस् भन्ने चाहँदैन । सिप्रदीको म बारम्बार उदाहरण दिने गर्छु । पहिले एउटा गाडी सीईओले चढ्ने गथ्र्यो भने अहिले सयभन्दा बढी कर्मचारीहरूले आफ्नै सवारी चढ्छन् । सबै साथीहरूको ग्रोथ भएको देख्दा मलाई पनि गर्व लाग्छ । सवारी अहिले अत्यावश्यक नै भइसक्यो । त्यस कारण सरकारलाई हाम्रो अनुरोध भनेकै कुनै खास तप्काका व्यवसायिलाई मात्र हित हुने गरेर काम नगर्नुहोस् । सरकारले आफ्ना नागरिकको सुविधाको बारेमा त सोच्नुपर्यो । सवारी साधनलाई सरकारले कसरी हुन्छ, सर्वसाधारणको पहुँचमा पुर्याईदिनुपर्यो । यो हाम्रो विशेष अनुरोध हो ।

व्यवसायीलाई कष्टम छुट दिएर ज्यादा बिक्री हुन्छ भन्ने सरकालाई होला तर त्यो बाइप्रडक्ट हो । तर सबैभन्दा ठूलो उद्देश्य भनेको सर्वसाधारणको पहुँचमा होस् । जुन सुविधा दुई–तीन प्रतिशतले पनि उपभोग गर्न पाएका छैनन्, त्यो ज्यादाले गर्न सकून् भन्ने उद्देश्य हो । त्यो हामीले सरकारलाई बुझाउन नसकेको नै हो ।

गाडीमा कालोबजारी हुँदैन

केही समयअघि गाडी डिलरहरूले बढी कमिसन लिए भनेर छापा मार्यो। त्यो व्यवसाय कसरी हुन्छ भन्ने नबुझेर मात्र छापा मारेको जस्तो लाग्छ । हामीले अर्थ मन्त्रालयमा सबै कर एसएसमेन्ट गराइसकेको, खर्च छुट दिइसकेको अवस्थामा अर्को मन्त्रालय आएर यो मान्यता दिन्न । तैँले नाफाखोरी गरिस् भन्छ । मुनाफाखोरी भनेको आवश्यक वस्तुहरू जस्तो दाल, चामल, तेल जस्ता सर्वसाधारणले प्रयोग गर्ने वस्तुमा हुन्छ । गाडीमा कसरी कालोबजारी हुन्छ रु गाडीमा ओभर प्राइस गरियो भने त बजारमा जाँदै जाँदैन । बजारमा यति धेरै प्रतिस्पर्धा छ । सुरुको आकर्षण बेग्लै हुने हुँदा सुरुमा व्यवसायीले कष्ट उठाउन खोज्छ । अर्को एक वर्षपछि त्यो सुरुको मूल्यमा नजान पनि सक्छ । व्यवसायीले त्यो पनि हिसाब गरिरहेकै हुन्छ । त्यसपछि धेरै छुट दिएर पनि जान सक्छ । जस्तो– तीन वर्ष पुरानो गाडी हामीसँग छ भने कहिले १० प्रतिशत भ्यालुमा पनि दिनुपर्ने अवस्था आउन सक्छ । त्यो व्यवसायिक मान्यता हो । त्यो बुझाइमा कमी भएको हो तर त्यसमा फेरि कमजोरी हाम्रै हो । हामीले नै बुझाउन नखोजेको हो ।

नेपालमै उद्योग खोल्ने सम्भावना

हामी नेपालमा एसेम्बिलिङ उद्योग खोल्नुपर्छ भनेर लागेको हो । सुरुमा जोस पनि थियो । धेरै साथीहरूले खोल्नुभएको पनि छ । जस्तो– बजाजको एसेम्बिलिङ प्लान्ट बुटवलमा लगाइएको छ ।

हामीले काम गर्दा नेपालको बजार सानो छ भन्ने सोच राखेर गर्नुपर्ने हुन्छ । एसेम्बिलिङ प्लान्ट भनिसकेपछि म्यानुफ्याक्चरिङमै जाने हो । त्यसको लागि सय विगाहभन्दा कम ठाउले पुग्दैन । एउटा सहर नै बनाउनुपर्ने हुन्छ । त्यसको लागि कस्ट पनि थुप्रै लाग्ने भयो । लागत उठाउन नेपाली बजारले भ्याउँदैन । निर्यात नै गर्नुपर्ने हुन्छ । त्यसको लागि सरकार र व्यवसायी एक ढिक्का भएर विश्वासका साथ काम गर्नुपर्ने हुन्छ । त्यसो भयो भने काम हुन्छ, नभए हुँदैन ।

भारतमै हेर्ने हो भने टाटा भनेको मर्सिडिजबाट सुरु भयो । अशोक लेल्यान्ड, लेल्यान्ड यासेम्बिलिङ प्लान्टबाट सुरु भयो । त्यो भनेको स्टेप बाई स्टेप जाने चिजहरू हो । पैसा कमायो भनेर चित्त दुखाउने अवस्था भयो भने त्यसमा लाग्नै सकिँदैन ।

बजाजकै कुरा गर्दा दुई वर्षसम्म उहाँहरूले उत्पादन नै गर्न सक्नुभएन । त्यसमा हडलहरू नआउँन् । त्यस्ता हडलहरू आए भने सरकासँग सहकार्य गर्नुपर्ने हुन्छ । तात्कालीनरूपमा त्यस्तो समस्या देखिँदैन कि ! भारतमा यस्ता व्यवसायीलाई निकै प्रोत्साहन गरिएको हुन्छ । जमिन, बिजुलीलगायत सरकारले दिन सक्ने सबै निःशुल्क दिएकोे हुन्छ तर नेपालमा त्यसो हुँदैन ।

यसको लागि सरकारले सबैभन्दा पहिले कस्ट नै कम गराउनुपर्ने हुन्छ । कमसेकम छिमेकी मुलुक भारतको जति त कस्ट कम होस् । किनकि हामीले निर्यात गर्ने भनेकै भारतलाई हो र हामीलाई सहज पनि छ । त्यसको लागि साँचो इच्छाशक्ति भयो भने त्यो गर्न सकिन्छ ।

अटोमोबाइलबिना अहिलेको जीवन नै चल्दैन

अटोमोबाइल क्षेत्रबिना अहिले जीवनको कल्पना पनि गर्न सकिँदैन । विकास निर्माणका कामहरूका लागि मेसिनरी सामानहरू, लोडर, डोजर, ट्रिपरलगायतका साधनहरू नभई हुँदैन । कतै जानुपर्दा आफ्नो लेबलअनुसार बस, गाडी चाहियो । त्यस कारण अटोमोबाइल क्षेत्रजत्तिको उत्पादनशील क्षेत्र अन्य कुनै छैन ।

अनुउत्पादनशील भनेर यो क्षेत्रलाई ट्याग लगाउन मिल्दैन । जो–कोही पनि आफ्नो व्यवसायमा लेबलवाइज जाने हो । आम्दानी पनि विस्तारै बढ्दै जान्छ । जस्तो– हामी सबै गाउँबाट आयौँ । एउटा लेबलमा पुगिसकिएको छ । मैले ४० लाखको गाडी किनेको छु । मेरो आम्दानी पनि भयो । कर पनि तिरेको छु । त्यसो हुँदा मलाई प्रोत्सान गर्नुपर्छ । अनुत्पादक भनेर त्यसको कुनै अर्थै छैन । अनुत्पादनक भन्ने हो भने बैङ्कले कहाँ लगानी गर्ने रु रिस्क त डिभाइड भइरहेकै छ । त्यसरी हतोत्साहित गर्दा जेनुयिन मानिसहरू विदेश पलाएन हुने कारण नै त्यही हो । आम्दानी राम्रो भएको छ भने कमाउ र चढ भन्न सक्नुपर्छ । घर, जग्गा, गाडी यी अनुत्पादक कुरामा लगानी भयो भन्नु बेतुकका कुरा हुन् ।

१० करोडको गाडी छ भने त्यसले सरकारलाई कर त तिर्छ । हाम्रो भनाइ भनेको त्यसलाई नकारात्मक नबनाऊँ । कानुनको दायराभित्र आम्दानीको स्रोत छ भने समस्या नै भएन ।

२०७५ सालमा अटो क्षेत्र

यो क्षेत्रमा ग्रोथ त भई नै हाल्छ । जीवनअगाडि नै बढेन भने त त्यो मृत्यु हो । हामी सधैँ अगाडि हेरेरै अघि बढिरहेका हुन्छौँ । त्यस कारण अटो सेक्टर पनि २० देखि ३० प्रतिशत माथि जान्छ । फेरि यसमा चुनौतीहरू पनि छन् । जिन्दगीमा चुनौती नभए, चुनौतीसँग लड्न नसके त्यो जिन्दगी नै भएन । चुनौतीसँग मिलेर सामना गर्दै पार पाउँदै जाने हो । त्यस कारण ग्रोथ हुन्छ । तर यति भन्दाभन्दै पनि अहिलेसम्म तरलताकै समस्या समाधान भइसकेको छैन । तर पनि अर्थमन्त्रीज्यूले भाषणमा फरेन डाइरेक्ट इन्भेष्टमेन्टलाई डिपोजिट राख्न अलाउड गरिएको छ भन्ने सुनेको थिएँ । केही न केही उपाय निस्किँदै जान्छ तर सकारात्मक रूपमा जानुपर्छ ।

Back to Top