शुक्रबार, १६ चैत २०८०

मोदीको नेपाल भ्रमण र बहसका विषय

समयपोष्ट २०७५ जेठ १४ गते ४:४०

वामदेव क्षेत्री (घिमिरे)

Advertisement

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८–२९ नेपाल भ्रमणमा आएर फर्किएका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चैत्र २३–२५ भारत भ्रमण र एक महिनाको अन्तरालमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले दुवै देशको कूटनीतिक सम्बन्ध नेपाल भ्रमणपछि केही विवादित यो विषय कार्यान्वयनले देखाउने छ । तर भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणपछि केही विवाद र विरोधका स्वरहरू देखा परे । यी सबै दृश्यहरू देखिरहँदा भारतका समाजवादी चिन्तक सुधीन्द्र भरोरियाले नेपालप्रति गरेको टिप्पणी याद आयो । उहाँ भन्नुहुन्छ– ‘नेपालका राजनीतिक दलहरू सबै प्री. इन्डियन प्रा. चाइनिज छन् । उनीहरू कहिल्यै एन्टी इन्डियन वा एन्टी चाइनिज छैनन् । बरु उनीहरू प्रा. सेल्फी छन् । व्यक्तिकेन्द्रित प्रवृत्ति जब छिमेकी सम्बन्धमा हावी हुन्छ, त्यहाँ देश अपमानित हुन्छ ।’ हामी नेपाली लामो समयदेखि यही नियतिमा बाँचिरहेका छौँ ।

नेपाली जनताको चाहना थियो– नेपाल र भारतका प्रबुद्ध समूहले गर्ने काममा सहयोग होस्, राजनीतिक नारा व्यवस्थापन मात्र नभएर अब दुई देशको सुरक्षाको चासो, आपसी सहयोग, अप्ठ्यारा परेका सीमाका समस्या र परस्पर सम्बन्धको बारेमा छलफल होला भन्ने आशा गरेका थिए तर त्यसो हुन सकेन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन दिनेबारे पक्ष र विपक्षी बहस हुँदा नेपालले उठाउनुपर्ने विषयहरू नै ओझेलमा परेको देखिन्छ । सरकारले प्रधानमन्त्री मोदी भ्रमणबाट नेपाललाई के फाइदा हुन्छ भन्नेबारे स्पष्ट बुझाउन नसक्दा सामाजिक सञ्जालहरूमा नकारात्मक टिप्पणीहरू धेरै देखा परे । नेपाली जनताले भारतका प्रधानमन्त्री विगतको नकाबन्दीको बारेमा के बोल्छन् ? किन नाकाबन्दी लगाइयो ? र किन खोलियो ? भन्ने सोचेका थिए तर एक शब्द पनि बोलेनन् । बरु नाकाबन्दीपछि भारतका बुद्धिजीवी र जनताले नाकाबन्दीका कारण छिमेकी देश नेपालसित सम्बन्धमा तिक्तता भयो र नेपाल चीनतिर ढल्कियो भन्ने कथनको पुष्टि गर्ने र अर्को वर्ष भारतमा हुने लोकसभा चुनावमा असर पर्ने हुँदा बिग्रेको छविलाई नेपालमा नै जनकपुर धाम र मुक्तिनाथ धामको दर्शन गर्दै प्रतिस्थापित गर्ने प्रयास गरेको पाइन्छ ।

नेपाल १८१६ को सुगौली सन्धिपश्चात् नेपालको संरचनागत रूपमा नै बाह्य संसारमा परिवर्तन भएको छ । भारत र चीन दुवै छिमेकी मुलुकसँग बदलिँदो भू–राजनीतिक सम्बन्धलाई ध्यान दिए उनीहरूसँगको सम्बन्ध पुनः परिभाषित गर्न आवश्यक छ । त्यसैले नेपालको परराष्ट्र नीति तय गर्दा साना देशको सानो सार्वभौम र ठूला देशको ठूलो सार्वभौम होइन, समानताका आधारमा सम्मान हुनुपर्दछ । हामीले विश्व शान्ति, मानवता, सद्भाव र मैत्रीपूर्ण सम्बन्धलाई विस्तार गर्ने नीति अवलम्बन गर्न आवश्यक छ । दोस्रो, हामीले राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमिकता रक्षा गर्दै छिमेकी एवं मित्रराष्ट्रसित संयुक्त राष्ट्रसङ्घको बडापत्र पञ्चशीलको आधारमा असंलग्नता सिद्धान्त अपनाउनुपर्छ । आत्मसमर्पणवादी मान्यतालाई निरुत्साहित गरी स्वाभिमान अपनाउनुपर्छ । हामीले हीनताबोध गर्नुहुँदैन र कसैको हस्तक्षेप स्वीकार गर्नुहुँदैन । भारतका प्रधानमन्त्री मोदीजी अहिले नेपाल भ्रमणमा आउँदा सार्वभौम नै खलल हुने गरी ५०–६० जना भारतीय सुरक्षा फौज लिएर आउनु अस्वाभाविक हो वा नेपालको सुरक्षाप्रति विश्वास भएन । बहसको विषय बनेको छ । अर्को, भारतका लोकसभा सदस्यद्वारा जनकपुरलाई भारतमा मिलाउने भन्नु कूटनीतिक मर्यादाविपरीत हो, नेपालको झन्डा प्रदेश नं. २ का मुख्यमन्त्रीको भाषण, नेपालका संवेदनशील क्षेत्रमा भारतीय मिडियाले फोटो लिनु थुप्रै कारणले कूटनीतिक मर्यादाविपरीत भएकाले प्रधानमन्त्री मोदीजीका जति सकारात्मक काम भए पनि यिनी विषयले नेपाली जनतामा नकारात्मक प्रभाव परेको छ ।

नेपालको विदेश नीति भनेको आन्तरिक राजनीतिक रूप हो । हामीले आन्तरिक नीतिलाई जति प्रभावकारी, पारदर्शी र स्पष्ट बनाउन सक्छौँ, विदेश नीति पनि त्यसैमा भर पर्ने हो । हामीले विकास र समृद्धिको नारासहित अभियान चलाउँदा मित्रराष्ट्रसँग सहयोगको अपेक्षा गर्नु अन्यथा हुँदैन । हामीले पूर्वाधारको विकास, रेल, विद्युत्, कृषि, उद्योग, शिक्षा र स्वास्थ्यको क्षेत्रमा विकाससहित गरिबी उन्मूलनका लागि मित्रराष्ट्र विशेषतः दुई छिमेकी मुलुकसँग सहयोगको अपेक्षा गर्नु स्वाभाविक हो तर भनाइ र गराइमा फरक पर्दछ । आजभन्दा चार वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र भोदी नेपाल भ्रमणमा आउँदा पशुपतिनाथको दर्शन गर्दा २५ करोड दिने घोषणा गर्नुभयो तर त्यसको अत्तोपत्तो छैन । अहिले जनकपुर र अझ मुक्तिनाथको विकासलाई सेर्पा बनिदिने भन्ने र आर्थिक घोषणा गर्दा कत्तिको भरोसा गर्ने ? नेपाली जनताबीच बहस नै सुरु भएको छ । भारतले राजनीतिक, कूटनीतिक भेटघाटमा भएका आर्थिक घोषणा पुजारीहरूले विद्यालयको विकासलाई महायज्ञ लगाएर व्यक्तिहरूले घोषणा गर्ने तर नदिने जस्तै भएको छ । यो कथनी र करनी कत्तिको पुष्टि हुन्छ, हेर्न बाँकी नै छ ।

नेपाल सरकारले पनि आफ्नो मर्यादा याद गर्नुपर्ने थियो । विवेकशील पार्टीको कार्यालयको व्यानर हटाउनु, वैद्य माओवादीको कार्यालयमा छापा मारेर गिरफ्तार गर्नु, जनमुक्ति पार्टीले शान्तिपूर्ण विरोध गर्दा लाठी चार्ज र गिरफ्तार गर्नु प्रजातन्त्रको देशमा निरङ्कुशता लाद्नु स्वाभाविक थिएन । स्वाभिमान नेपालीले झन्डा, नेपालको भूगोल, भारतमा मिलाउने भाषण मन पराउने कुरा भएन । अझ गठबन्धनमा रहेको पार्टी माओवादी केन्द्रबाट ऊर्जामन्त्रीसँग सरोकार नगरी अरूण– ३ को शिलन्यासले जनतामा बहस सिर्जना गरेको छ । यसले वाम एकतामा समेत असर पारेको देखिन्छ ।

नेपालको राष्ट्रियता सार्वभौम अखण्डताप्रति खलल पुग्ने र शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारलाई वञ्चित गर्नुहुँदैन । सरकार पनि कूटनीतिक मर्यादादेखि बाहिर जानुहुँदैन । अहिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले केही सकारात्मक र केही नकारात्मक मिश्रितरूपमा नै फलदायक देखिएको छ । समयबोध म्यागेजिनबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री