बिहीबार, १५ चैत २०८०

म्याग्दीमा भेटियो अनौठो शिवमूर्ति

समयपोष्ट २०७५ जेठ १४ गते ८:०५

म्याग्दीको मंगला गाउँपालिका–१ कुहूँस्थित तल्लो नुनथला जंगलको बीच भएर बग्ने छहरा खोलामा अनौठो शिवमूर्ति फेला परेको छ ।

Advertisement

घना जंगलको बीचमा, खोलको किनारमा रहेको ओढारमा फेला परेको सो शिवमूर्तिमा पहराबाट पानी रसाएर प्रत्येक ३२ सेकेण्डमा अभिषेक हुने गर्दछ ।

घाँस दाउरा गर्ने क्रममा स्थानीय कालीमाया राम्जाली र पञ्चबहादुर राम्जालीले ओढारको पहरामा शिव आकृतिको मूर्ति, नाग, गणेश र पाञ्चायन देवताको मूर्ति देखेपछि गाउँलेलाई खबर गरेका थिए ।

पहराको विशाल पत्थरमा प्राकृतिकरुपमा नै बनेको शिवमूर्तिमा नागदेवताको आकृतिसमेत रहेको छ । त्यसको दाहिनेतर्फ भगवान् गणेश आकृति र अन्य विभिन्न देवी देवताका आकृति रहेका छन् ।

गाउँको सिरानमा, जंगलको बीचमा रहेको यस स्थानको प्रचारप्रसार र आवश्यक भौतिक पूर्वाधारको निर्माण गर्नसक्ने हो भने यो स्थान आकर्षक धार्मिक एवं पर्यटकीय स्थान बन्न सक्ने दीपशिखा मावि कुहूँका पूर्व प्रधानाध्यापक एवं स्थानीय वुद्धिजीवी भद्रबहादुर जिसीले बताए ।

‘नाग र शिवको मूर्ति रहेका थाहा पाएपछि स्थानीयले पूजाआजा गर्ने र रेखदेख गर्ने गरेका छन्’, जिसीले भने, ‘अहिले स्थानीयको पहलमा सामान्य संरक्षणको काम भएको छ अब यसलाई व्यवस्थित गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्ने आवश्यकता छ ।’

त्यसैगरी अनौठो मूर्ति अवलोकनका लागि त्यहाँ पुग्नुभएका गैरसरकारी संस्था मिलन म्याग्दीका उपाध्यक्ष शिव बानियाँले यस्तो अनकण्टार ठाउँमा अनौठो मूर्ति भेटिनु, प्रत्येक ३२ सेकेण्डमा पत्थरबाट पानी रसाएर अभिषेक हुनु आफैँमा आश्चर्यजनक रहेकाले यसको प्रचारप्रसार गर्नु आवश्यक रहेको बताए ।

त्यसैगरी कुहूँका भूतपूर्व वडाध्यक्ष उदय रोकाले यस स्थानको प्रचारप्रसार गरी आवश्यक पूर्वाधार निर्माणमा जोड दिइने बताबताए ।

अहिले सो स्थानमा स्थानीयले कलश, डमरु र घण्ट लगेर चढाएका छन् । स्थानीयले अबीर, केशरी र अन्य रङले पूजा गर्दा मूर्तिमा रहेका आकृति स्पष्टरुपमा देख्न नसकिने भएको रोकाले बताए ।

मूर्ति अवलोकन र पूजाका लागि स्थानीय भक्तजन आउने क्रम बढ्न थालेपछि पाइपमार्फत पानी ल्याएर खानेपानीको सुविधा पु¥याइएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री