SAMAYAPOST

अवसर पाएँ भने राजनीतिमा जान्छु : मिस नेपाल शृङ्खला खतिवडा (भिडियो सहित)

     Views 2095

पेसाले आर्किटेक हुन् यस वर्षकी मिस नेपाल– २०१८ । मकवानपुरको हेटौँडामा कम्युनिस्ट परिवारमा जन्मिएकी उनको बाल्यकाल उतै बित्यो । विद्यालय तहको शिक्षा हेटौँडामै पूरा गरेर राजधानी आएकी उनले पल्स टु शिक्षा गोल्डेन गेट कलेजबाट हासिल गरिन् । स्नातक तह शिक्षा भने उनले पुल्चोक इन्जिनियरिङ कलेजबाट गरेकी हुन् । आफ्नो आवाज अरू सामु पुर्याउने एक मात्र सशक्त माध्यमको रूपमा मिस नेपाल प्रतियोगितालाई लिएकी उनले स्नातक तह सक्नेबित्तिकै आफूलाई त्यही प्लेटफर्ममा उभ्याउन पुगिन् । आर्किटेक्ट शृङ्खला खतिवडा भनेर पहिचान बनाइसकेकी यी २२ वर्षीया सुन्दरी अन्ततः मिस नेपाल वल्र्ड २०१८ भनेर चिनिन सफल भएकी छिन् । डबल आइडेन्टिटी बोकेकी उनै सुन्दरीसँग समयबोधले गरेको कुराकानी :

मिस नेपालमा सहभागी हुने सोच कहाँबाट आयो ?

मिस नेपालका शोहरू टीभीमा हेर्दा मलाई लाग्थ्यो– यो शो देशभरिका मानिसहरूले हेरिरहेका छन् । म पनि एक दिन त्यो ठाउँसम्म पुग्न योग्य हुन सक्छु कि सक्दिनँ भन्ने सानैदेखि लाग्थ्यो । स्नातक सकेपछि एक पटक कोसिस गर्छु भन्नेमा म दृढ थिएँ । मलाई मेरो आवाज सबैसामु पुर्याउन अन्य माध्यमभन्दा उपयुक्त मेरो लागि यही हुन्छ भन्ने लाग्यो । त्यसैले स्नातक सकिनेबित्तिकै यो प्लेटफर्म रोजेँ ।

एकाएक सेलिब्रेटी हुनुभयो, कस्तो महसुस भइरहेको छ ?

व्यक्तिगतरूपमा खासै भिन्नाता पाएको छैन । तर बाटोमा हिँड्दा र सामाजिक सञ्जालहरूमा धेरै मानिसहरूले चिन्छन् । त्यो बेला सेलिब्रेटी भएछु भन्ने लाग्छ । अर्को मुख्य कुरा, मिस नेपाल भएपछि जिम्मेवारीबोध भएको छ । मिस नेपाल हुनुअघि घरपरिवार, साथीहरू माझ मात्र सीमित थिएँ तर अब सार्वजनिक व्यक्तित्व भएकी छु । अब पहिलेभन्दा अझ बढी जिम्मेवारीबोधका साथ अगाडि बढ्नुपर्छ भन्ने भावना ममा आएको छ ।

मिस नेपाल हुनुभन्दा अघि र पछिको जीवनमा कस्तो भिन्नता पाउनुभयो ?

पहिले अन्य केटीहरू जस्तै एउटा सामान्य केटी थिएँ । सीमित व्यक्ति र समूहहरूसम्म मात्र परिचित व्यक्ति थिएँ । मिस नेपाल भइसकेपछि म थप जिम्मेवार भएको महसुस गर्दैछु । यसअघि सामान्यरूपमा जसरी दैनिकी चलिरहेको थियो, अब त्यो ब्रेक भएको छ । हरेक दिनजसो फोटोसुट, अन्र्तवार्ता, अन्तरक्रिया भइरहेको छ । लाइम लाइट भनेको के हो भन्ने कुरा राम्ररी बुझ्ने मौका पाएकी छु ।

अर्को, मिस नेपाल हुनुभन्दा अगाडि मिस नेपालको तालिम लिन सुरु गरेदेखि नै दैनिकीमा धेरै परिवर्तन आउन थालिसकेको थियो । तालिमको त्यो समय सम्झँदा अहिलेको यो लाइफ निकै सजिलो महसुुस गरेकी छु ।

तपाईं कम्युनिस्ट पृष्ठभूमि भएको परिवारमा हुर्किएको मान्छे, कम्युनिस्टहरूले त सुन्दरी प्रतियोगितालाई नकारात्मक रूपमा लिन्छन् । परिवारबाट कत्तिको सपोर्ट भयो ?

मेरो बुबा–आमा कम्युनिस्ट विचारधाराका भए पनि मलाई यहाँसम्म आइपुग्न उहाँहरूले सधैँ साथ दिनुभयो । सायद उहाँहरूले प्रगतिशील साम्यवादी विचार अपनाउनुभएको थियो । मलाई उहाँहरूले सधैँ मेरो आफ्नो खुसीमा चल्न स्वतन्त्र छाडिदिनुभएको थियो । उहाँहरू मैले कहिल्यै नराम्रो काम गर्दिनँ भन्नेमा विश्वस्त हुनुहुन्छ । तर पनि सुरुवातमा उहाँहरूलाई बुझाउन मलाई केही गाह्रो पक्कै भएको थियो । मैले पूर्वमिस नेपालहरूले गरेका उदाहरणीय कार्यहरूको बारेमा जानकारी गराएँ । मिस नेपाल हुँदैमा मेरो पढाइ, करिअर बिग्रिँदैन । फेम र ग्लामरको लागि भन्दा पनि प्लेटफर्मको मोहले गर्दा मिस नेपालमा सहभागी हुन खोजेकी हुँ भनेर सम्झाएँ । उहाँहरूले बुझ्नु पनि भयो, सहर्ष स्वीकार गर्नुभयो र धेरै सपोर्ट पनि गर्नुभयो ।

तपाईं इन्जिनियरिङ फिल्डको मान्छे, भविष्यको योजना के छन् ?

मेरा योजनाहरू थुप्रै छन् । विशेष गरी भूकम्पपछि जति पनि भौतिक क्षतिहरू भए, ती अझै पुनर्निर्माण हुन सकेका छैनन् । मुख्यतया भूकम्पपछिका निजी तथा सार्वजनिक भवन, सांस्कृतिक सम्पदाहरू पुनर्निर्माणमा जति पनि कमी–कमजोरीहरू भएका छन्, त्यसमा केही गर्ने मेरो योजना छ । भर्खरै मात्र रानीपोखरी पुनर्निर्माणमा ठूलै विवाद देखियो । त्यसैले यी क्षेत्रमा काम गर्ने मन छ ।

अहिले म मेरो आवाज सबैले सुन्ने ठाउँमा छु । सबै निकायले मेरो आवाज सुन्छन् पनि । सुनेर उहाँहरूले कार्यान्वयन गर्नुहोला नहोला, त्यो अर्को पाटो भयो । म आफ्नो क्षेत्रमा भन्दा पनि यी क्षेत्रमा काम गर्ने योजनामा छु ।

त्यसका साथै अझ दक्ष हुनका लागि कुनै स्पेसलाइज्ड विधामा मास्टर्स गर्ने मन छ । मास्टर्स गरिसकेपछि कम मूल्य र दिगो हाउजिङको नमुना घर तयार पार्ने मन छ । जसले हाम्रो परम्परागत स्थानीय तहमा उपलब्ध हुने स्रोत र साधनलाई स्वीकार गरोस् । सस्तोमा बलियो भूकम्प प्रतिरोधात्मक नमुना घर बनाउने योजना छ । हेरौँ, बाटो कता मोडिन्छ ।

फिल्म अथवा मोडलिङ क्षेत्रमा जाने योजना छ कि छैन ?

अहिले त्यो विषयमा केही पनि सोचेकी छैन ।

राजनीतिमा कत्तिको रुचि छ ?

राजनीति गर्छु नै भन्न सक्दिनँ तर देशको जिम्मेवार नागरिकको हैसियतले चेतना अभिवृद्धि गर्ने काम गर्न सक्छु । चेञ्ज मेकर हुनका लागि राजनीतिभन्दा ठूलो प्लेटफर्म अरू कुनै पनि छैन । पछि मेरो छवि नबिग्रिने गरी यदि मैले राम्रो स्थान, जहाँबाट मेरो डिसिजन मेकिङ
लेबलमा राम्रो योगदान हुन सक्ने खालको अवसर पाएँ भने राजनीतिमा जान्छु ।

ब्वाइफ्रेन्ड छ कि छैन ?

मेरो जीवनमा अहिले यति धेरै महत्वपूर्ण इस्युजहरू छन् कि यो विषयमा उत्तर दिन आवश्यक छ जस्तो लाग्दैन । साथै, यो व्यक्तिगत जीवनको कुरा भएको हुँदा सबैलाई सार्वजनिक गर्नुपर्छ भन्ने पनि छैन ।

प्रेम प्रस्ताव धेरै आए होलान् ?

प्रस्ताव पनि कसरी आउँछ भन्ने हो । मैले राम्ररी चिनेकी–बुझेकी मान्छेले प्रस्ताव राख्नु र अनुहार मात्र हेरेर आई लभ यु भन्नुमा धेरै अन्तर छ । आकर्षण र प्रेम भन्ने चिज फरक कुरा हुन् । त्यस्ता प्रस्तावहरूलाई मूल्याङ्कन गर्छु र त्यही हिसाबले रेस्पोन्स गर्छु । प्रस्ताव आएकै छैन त म भन्दिनँ । नचिनेको मान्छेले आई लभ यु भन्छ भने म त्यसलाई सिरियस्ली पनि लिन्नँ ।

विवाह कहिले गर्ने ?

विवाह पाँच–सात वर्षपछि गर्ने ।

ड्रिम ब्वाई कस्तो होस् भन्ने चाहनुहुन्छ ?

हेर्दा जस्तो भए पनि लक्ष्य प्राप्तिमा केन्द्रित, मेहनती होस् । धनी–गरीब जे भए पनि जिन्दगीमा केही गर्ने सङ्कल्प हुनुपर्यो । सबैलाई समान व्यवहार गर्न सक्ने, विशेष गरी मलाई र मेरो निर्णयलाई सम्मान गरेर साथ दिने मान्छे भए हुन्छ ।

तपाईंको विचारमा प्रेम के हो ?

हामी मानवहरूको गुण नै माया हो । संसार मायाले चलेको छ । हामी प्राणी–प्राणीबीच माया भएर धर्तीलाई माया गर्यौं भने संसारमा कुनै समस्या नै हुँदैन जस्तो लाग्छ । धर्म नै माया हो । ‘लभ इज एन एसेन्स अफ लाइफ ।’

खुसी के हो ?

खुसी आफैँभित्रबाट आउँछ । खुसीलाई कहिल्यै पनि आउट सोर्स गर्नुहुँदैन भन्ने गरिन्छ । हामी वस्तु, लक्ष्य र भविष्यमा खुसीलाई निर्भर गराइरहेका हुन्छौँ । तर खुसी आफैँभित्र छ । यदि कुनै पनि कुरालाई खुसीमा असोसिएट गरेनौँ भने खुसी पाउन कतै जानै पर्दैन ।

तपाईंसँग मात्र भएको कुनै विशिष्ट प्रतिभा ?

प्रतिभाभन्दा पनि मेरो एउटा गुण भनेको म धेरै पोजेटिभ छु जस्तो लाग्छ । जस्तो सिचुएसन्स पनि म राम्ररी सामना गर्न सक्छु । जति दुःख परे पनि म दुई दिन रुन्छु तर तेस्रो दिन म एकदम बलियो भएर निस्किन्छु । जति दुःख परे पनि म आत्तिन्नँ र सुखमा म मातिँदा पनि मातिन्नँ । मलाई थाहा छ, जीवनका भोगाइहरू सबै क्षणिक हुन्छन् । सुखदुःख भन्ने सबै क्षणिक हुन् । त्यसैले हरेक कुरालाई स्वीकार गर्न सक्ने र सकारात्मक रूपमा लिन सक्ने गुण ममा छ जस्तो लाग्छ ।

सबैभन्दा धेरै खुसी भएको क्षण ?

म सानो–सानो कुरामा रमाउने मान्छे हुँ । म यही पल सबैभन्दा खुसी भएँ भन्ने छैन । मिस नेपालको ताज जित्दा पनि एकदम खुसी थिएँ भन्न सक्दिनँ । मेरो परिवार म सानो हुँदादेखि नै काठमाडौँ–हेटौँडा गर्ने हुँदा दुई जना यता, तीन जना उता हुने । वर्षमा सायद एक पटक मात्र सँगै भएर एउटै टेबलमा डिनर अथवा लञ्च गर्ने अवसर मिल्छ । मलाई त्यो जति खुसीको क्षण अरू केही पनि लाग्दैन ।

परिवर्तन गर्न मन लागेको बानी ?

म चुनौतीहरू लिन्छु तर मलाई कुनै पनि चुनौतीहरू स्वीकार गर्न बफर पिरियड जस्तो चाहिन्छ । सहर्ष म केही कुरा चेञ्ज गरिहाल्न सक्दिनँ । पछिसम्म चेञ्ज त हुन्छु तर समय लाग्छ । छिट्टै आफूमा परिवर्तन ल्याउन सक्ने, नयाँ कुरा सिक्न सक्ने कुरामा आफूलाई विकास गर्नुपर्ने छ जस्तो लाग्छ ।

अहिलेसम्म गरेको सबैभन्दा ठूलो भूल ?

त्यस्तो केही छैन ।

बाहिरी सुन्दरतालाई बढी महत्व दिनुहुन्छ कि भित्री ?

समाजको हेर्ने आँखा पनि सिचुएसनअनुसार परिवर्तन हुन्छ । एउटा एरामा एक किसिमको फिचर्स राम्रो भनिन्छ । अर्कोमा अर्को । त्यस कारण बाहिरी सुन्दरता भनेको सब्जेक्टिभ हुन्छ । भित्री सुन्दरता अब्जेक्टिभ्ली सुन्दर हुन्छ । यी कुरा आफैँले विकास गर्ने कुरा हुन् । त्यसैले म भित्री सुन्दरतालाई महत्व दिन्छु ।

मलाई मन पर्छ

ठाउँ
हेटौँडा, आफ्नै घर ।

ड्रेस
लामो स्कर्ट, लङ ड्रेस ।

खाना
दाल, भात, चिकेन करी ।

रङ
पहेँलो

फिल्म
पर्कस अफ विइङ अ वाल फ्लावर र बी फोर सनराइज ।

बुक्स
पर्कस अफ विइङ अ वाल फ्लावर ।

अभिनेता
हरिवशं आचार्य र मदनकृष्ण श्रेष्ठ ।

अभिनेत्री
परिवर्तन भइरहन्छ, ठ्याक्क यही भन्ने छैन ।

गीत
एरो स्मिथको आई डन्ट वान अ मिस अ थिङ, नेपालीमा विस्तारै–विस्तारै र विपुल क्षेत्रीको गहिरो ।

गायक–गायिका
नेपाली गायक विपुल क्षेत्री, गायिका नोरा जोन्स ।

घडी
मलाई घडी, औठी, घाँटीमा चेनहरू लगायो भने अनकम्फर्टटेबल फिल हुन्छ । मैले यो बानी परिवर्तन गर्नुपर्ने छ ।

मोबाइल
वान पल्स ।

सामाजिक सञ्जाल
इष्टाग्राम, अब ट्विटरमा सक्रिय हुने सोच्दै छु ।

Back to Top