शनिबार, ८ वैशाख २०८१

सरकारी सञ्चार माध्यममा विज्ञापनको बक्यौता तत्काल उठाउन निर्देशन

समयपोष्ट २०७५ जेठ २१ गते ५:५२

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी सञ्चार माध्यममा विज्ञापन दिएर वर्षाैंसम्म भुक्तानी नदिनेलाई कारवाही
गर्न निर्देशन दिनुभएको छ ।

Advertisement

सिंहदरबारस्थित मन्त्रालयमा आज पद बहालीपछि आयोजित कार्यक्रममा उहाँले नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्र संस्थानका विज्ञापनको बक्यौता उठ्नुपर्ने रकम तत्काल उठाउन र वर्षौंसम्म बेरुजु नराख्न निर्देशन दिनुभएको हो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “विज्ञापन दिएर नतिर्नेलाई समयमा काम नगर्ने ठेगदारलाई झैँ पाता फर्काइन्छ । सुशासनमा कुनै सम्झौता हुँदैन । अनुगमनको नाममा छड्के गरेर तस्वीर छपाउने पक्षमा म छैन । त्यो काम प्राविधिक समूहले गर्छ । मलाई कसले कहाँ के गरेको छ, सबै सूचना आएको हुन्छ । मैले गर्नुपर्ने कारवाही टेबुलबाटै गर्छु । गल्ती गरेमा मेरै पार्टी निकट छ भने पनि कारवाही हुन्छ ।”

काठमाडौँ उपत्यकाकै कतिपय स्थानमा नेपाल टेलिकमको टावर नटिप्ने समस्या कायमै रहनु र सूचना विभागको नयाँ डायरी जेठ तेस्रो सातासम्म पनि प्रकाशन नहुनुले कामको प्रभावकारिता नदेखिएको उहाँले बताउनुभयो । यसअघि सोही मन्त्रालयमा राज्यमन्त्री हुनुभएका बाँस्कोटा गत शुक्रबार मन्त्रीमा नियुक्त हुनुभएको थियो ।

मन्त्री बाँस्कोटालाई सचिव महेन्द्रमान गुरुङ र मातहतका निकायका प्रमुखहरुले स्वागत गर्नुभएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री