बिहीबार, १३ वैशाख २०८१

हट्ने भयो सरकारी अस्पतालबाट निजी फार्मेसी, सर्वोच्चको यस्तो आदेश

समयपोष्ट २०७५ जेठ २३ गते ७:०९

अब सरकारी अस्पताल परिसर भित्र निजी फार्मेसी सञ्चालन गर्न नपाईने भएको छ । परिसर भित्र सरकारी अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्नुपर्ने भएको छ ।

Advertisement

सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिन परमादेश जारी गरेको छ । यससंगै सर्वोच्चले सरकारलार्इ निःशुल्क गरिएका औषधि आपूर्ति गर्न र तोकिएका अस्पतालबाट निःशुल्क वितरण गर्ने व्यवस्था गर्न समेत आदेशमा भनेको छ ।

वीर अस्पतालले २०७२ सालमा फार्मेसी खोल्न सटर भाडामा दिन बोलपत्र आह्वान गरेको थियो । अस्पताल परिसरमा निजी फार्मेसी खोल्न दिने निर्णय र उक्त बोलपत्र आह्वानको सूचना बदर गर्न माग गर्दै उपभोक्ता हित संरक्षण मञ्चका विष्णुप्रसाद तिमिल्सिनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

वीर अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न दिने निर्णय बदर गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र तेजबहादुर केसीको इजलासले सरकारी अस्पताल परिसरमा आफैंले फार्मेसी सञ्चालन गर्न परमादेश जारी गरेको हो ।

‘आफ्नो परिसरभित्र रहेका सटरहरू निजी औषधि पसल सञ्चालन गर्नका लागि भाडामा दिने कार्यलाई कानून बमोजिमको कार्य मान्न सकिएन,’ फैसलामा भनिएको छ, ‘विपक्षी वीर अस्पतालले १ देखि १४ नम्बर सटर भाडामा दिनेसम्बन्धी २०७२ जेठ २७ गतेको गोरखापत्रमा प्रकाशन गरेको बोलपत्र सूचना, आएका आवेदनहरू तथा सो उपर भएका आदेश तथा सम्पूर्ण काम कारवाहीहरू उत्प्रेषणको आदेशद्वार बदर गरिदिएको छ ।’

अस्पतालले आफैं फार्मेसी सञ्चालन गर्नु भनि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा परिपत्र जारी गरिसकेको थियो । यस्तो अवस्थामा पनि वीर अस्पतालले निजी फार्मेसीलाई सटर भाडामा दिने निर्णय गर्नु कानून विपरीत रहेको अदालतको ठहर हो ।

सरकारले तोकेको मापदण्ड अनुसारको आफ्नै फार्मेसी खोल्न सर्वोच्चले वीर अस्पतालका नाममा पनि परमादेश जारी गरेको छ ।

देशभरिको अस्पतालले आफैं फार्मेसी सञ्चालन गरेर सेवा दिएका छन् कि छैनन् भन्ने अनुगमन र मूल्याङ्कनको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयका नाममा आदेश जारी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री