नेपाल विद्युत् प्राधिकरणको कार्यालय तोडफोड,४ जना प्रहरी नियन्त्रणमा
विगत तीन दिनदेखि दैनिक आठ घण्टाभन्दा बढी समयसम्म विद्युत् सेवा कटौती गरेको विरोधमा नेपाल विद्युत् प्राधिकरण, बेनी वितरण केन्द्रको कार्यालयमा तोडफोड गर्न पुगेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राति अबेरसम्म पनि विद्युत् नदिएको भन्दै धर्ना बस्न भन्दै प्राधिकरणको कार्यालय अगाडि जम्मा भएको समूहले कार्यालयमा तोडफोडसमेत गरेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मंगलबार रातको करीब १० बजे कार्यालयमा पसेका केही व्यक्तिले कार्यालयभित्र भएको टेलिफोन, चारवटा झ्यालको सिसासमेत फुटाएको कार्यालयले बुधबार अबेर जनाएको छ ।
रातका समयमा कार्यालय तोडफोड गर्ने कार्यमा संलग्न रहेका रामबहादुर थापा, हरिबहादुर शाक्य, दिलीप बरुवाल र गंगा थापालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।
पक्राउ परेकामध्ये हरिबहादुर शाक्य राप्रपाबाट निर्वाचित जिल्ला समन्वय समितिका सदस्य हुनुहुन्छ । पक्राउ परेकालाई सार्वजनिक मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रनाउ बुढामगरले जानकारी दिनुभएको छ ।रासस
प्रतिक्रिया