शुक्रबार, १६ चैत २०८०

राष्ट्रिय जनता पार्टी केन्द्रीय सचिव लामाको मृत्यु

समयपोष्ट २०७५ जेठ २५ गते ६:४५

इनरुवा, २५ जेठ (रासस) ः राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार राति मृत्यु भएको छ ।

Advertisement

सुनसरीको इटहरीस्थित आफ्नै घरमा अत्यधिक गर्मीका कारण नुहाउन गएको बेला करेन्ट लागेर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । उहाँ ३१ बर्षको हुनुहुन्थ्यो ।

करेन्ट लागेर गम्भीर घाइते भएका लामाको उपचारका लागि धरानस्थित बिपी कोइराला प्रतिष्ठानमा लैजाने क्रममा बाटैमा मृत्यु् भएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उहाँका श्रीमती र दुई सन्तान छन् ।

कोशीमा एक युवाको शंकास्पद मृत्यु

यसैबीच, सुनसरीको कोशी गाउँपालिका–५ श्रीपुरमा रहेको कोशी नदीको कटानको पानीमा नुहाउने क्रममा बिहीबार एकजना युवाको शंकास्पद मृत्यु भएको छ।

मृत्यु हुनेमा कोशी गाउँपालिका–३ पश्चिमकुशाहाका २३ वर्षीय सञ्जीव यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इटहरी उपमहानगरपालिकामा रहेको एक ग्यारेजमा कार्य गर्दै आएका यादव बिहीबार चार दिनदेखि काम गर्न नगएको र बिहीबार एकाएक ग्यारेजमै काम गर्ने साथीहरुसँग नुहाउनका लागि गएको बेला उनको मृत्यु भएको हो ।

यता मृतकका बाबु रामचन्द्र यादवले व्यक्तिगत रिसइबीका कारण आफ्नो छोराको हत्या भएको आरोप लगाएका छन् ।

इटहरी–७ का भरत पराजुली र विकी ओझासहितको को ७ प २३०२ र को ३७ प ७७३१ नम्बरको मोटरसाइकलमा आएका ग्यारेजमा काम गर्ने साथीहरुले मृतक यादवलाई नुहाउन संगै लगेका थिए ।

भरत पराजुलीले यादवको पानीमा डुबेर ज्यान गएको र शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको बताएका छन् ।

घटना शंकास्पद भएकाले चारैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि जिल्ला अस्पताल, इनरुवामा राखिएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री