शुक्रबार, १४ वैशाख २०८१

२० बर्षपछि बेल्टारमा बन्नेभयो बसपार्क

समयपोष्ट २०७५ जेठ २७ गते १०:४४

उदयपुर जिल्लाको पूर्वी व्यापारिक केन्द्रका रुपमा रहँदै आएको चौदण्डी गढी नगरपालिकास्थित बेल्टार बजारमा बसपार्कको नाममा जग्गा नभएका कारण यहाँ सञ्चालन हुने सवारी साधन अस्तव्यस्त थियो ।

Advertisement

विसं २०५४ देखि बेल्टार बजार क्षेत्रबाट अन्यत्र क्षेत्रसम्म आवतजावत गर्न औपचारिकरुपमा यातायातका साधन सञ्चालन भए पनि स्थायी बसपार्क नहुँदा बजारको जग्गामा नै अस्थायी बसपार्क सञ्चालन गर्दै आउनु परेको थियो ।

अहिले केही स्थानीयवासीले बसपार्कको नाममा जग्गा प्रदान गर्ने र नामसारीसमेत गरिदिने भएपछि अब स्थायी बसपार्क बन्ने चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राईले बताउनुभयो ।

शहरी डिभिजन कार्यालयले गतवर्ष नै बेल्टार बजारमा बसपार्क निर्माणका लागि नगरपालिकासहित मिलेर रु ४० लाख विनियोजन गरेको र यस वर्ष पनि रु २० लाख विनियोजन गरेकामा जग्गा नभएका कारण बसपार्क निर्माण हुन नसकेको उक्त कार्यालय इन्जिनियर ब्रह्मादेव चौधरीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “विगतदेखि नै बसपार्क निर्माण गर्ने लक्ष्य भए पनि स्थायी जग्गा नहुँदा योजना असफल भएको थियो तर यसपटक जग्गादाता भेटिएका कारण अब बसपार्क निर्माण हुन्छ ।”

विसं २०५४ मा नै बसपार्कका लागि तत्कालीन बेल्टार गाउँपालिका–६ का काशीनाथ र जनकप्रसाद सेँढाईले सात कट्ठा जग्गा बसपार्कका लागि प्रदान गर्ने
विषयमा सहमति भएपनि कार्यान्वयन भएको थिएन अहिले भने सहमति भएकाले र नगरपालिकाले उहाँहरुलाई सम्मान गर्ने र बसपार्कको नाममा आएको जग्गामा बसपार्क निर्माण गर्ने तयारी भइरहेको नगरपालिकाका पदाधिकारीले बताए ।

स्थायी बसपार्क निर्माण पछि यहाँबाट सुनसरी, चतरा, गाईघाट, सिन्धुली हुँदै हेटौँडा भएर राजधानी काठमाडौँ जोड्ने वैकल्पिक राजमार्गमा पूर्वी क्षेत्रबाट सञ्चालन हुने यातायातका साधनलाई समेत पार्किङ गर्न सहज हुने यातायात व्यवसायी केशव मगरले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री