शुक्रबार, १६ चैत २०८०

यौनका बिषयमा खुल्न थाले किशोरकिशोरी

समयपोष्ट २०७५ असार २ गते १३:२४

–शीतलप्रसाद महतो
केही समयअघिसम्म ‘यौन’ र ‘प्रजनन’ शब्द सुन्नेबित्तिकै लजाउने किशोरकिशोरीहरू अहिले यौन र प्रजनन स्वास्थ्यबारे खुलेर कुरा गर्न थालेका छन् ।

Advertisement

जिल्ला जनस्वास्थ्य कार्यालय र नेपाल परिवार स्वास्थ्य कार्यक्रमले युवा तथा किशोरकिशोरीका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न थालेपश्चात् जनसङ्ख्या, व्यवस्थापन, प्रजनन स्वास्थ्य एवं परिवार नियोजनसम्बन्धी कार्यक्रममा उनीहरूको सहभागिता वृद्धि हुँदै गएको पाइन्छ ।

किशोरकिशोरीको उमेरमा वृद्धिसँगै शरीरको अङ्गहरूमा आउने परिवर्तन र यौन एवम् प्रजनन स्वास्थ्यसम्बन्धी समस्याका बारेमा साथीसङ्गीहरूसँग कुरा गर्नेमात्र होइन, अभिभावकसँग सल्लाह गरेर समाधान समेत गर्न थालेका छन् ।

आफ्नो शरीरका अङ्गहरूमा भएको परिवर्तन र रजस्वला हुँदा आफ्नै परिवारका सदस्यलाई भन्न नसकेको तीतो अनुभव सँगालेकी ठोरीकी लक्ष्मी श्रेष्ठ यौन र प्रजनन स्वास्थ्यबारे घण्टौँसम्म बहस गर्नसक्ने भएकी छिन् ।

यौन र प्रजनन स्वास्थ्यबारे खुलस्त भएर निर्धक्कका साथ कुरा गर्ने श्रेष्ठ रजस्वला हुने समयमा महिलालाई हुने गरेको पीडा र परम्परागत विचारका कारण कैयौं किशोरीको पढाइ तथा शरीरमा बाधा व्यवधान उत्पन्न हुने गरेको बताउँछिन् ।

यौन र प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको अभावका कारण महिलाको प्रजनन स्वास्थ्यमा समेत ठूलो समस्या पर्ने गरेको नेपाल परिवार स्वास्थ्य कार्यक्रमले जनाएको छ ।
विद्यालय तथा क्याम्पसमा यौन एवम् प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा दिइने भएपनि खुलेर पाउने स्थिति नरहेको सन्दर्भमा युवा तथा किशोर किशोरीलाई सोही उमेरका किशोर किशोरीबाट दिइने शिक्षा उनीहरूको समस्या समाधान गर्न प्रभावकारी हुने भएकाले यौन र प्रजनन स्वास्थ्यसम्बन्धी वर्षमा दुई–तीनपटक विभिन्न कार्यक्रम नेपाल परिवार स्वास्थ्य कार्यक्रमले सञ्चालन गर्दै आएको छ ।

आफ्नो उमेरको वृद्धिसँगै शरीरको अङ्गहरूमा हुने परिवर्तन र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको अभावबाट किशोरीहरू मात्र होइन, किशोरहरू समेत पीडित हुने गरेका छन्, जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत सच्चितानन्द सिंहले बताउनुभयो ।

कैयौं किशोरहरू अझै पनि आफ्ना अभिभावक र साथीसँग यौन स्वास्थ्यसम्बन्धी कुरा खुलेर गर्न हिच्किचाउने गरेको बताउँदै उहाँले यौन स्वास्थ्यसम्बन्धी ज्ञानका अभावमा कैयौं किशोर सुरुसुरुमा हीनताबोधबाट ग्रस्त हुने गरेको उल्लेख गर्नुभयो ।

यौन र प्रजनन स्वास्थ्यको प्रभावकारिताका लागि सरकारले यससम्बन्धी व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ, स्वास्थ्य क्षेत्रमा कार्यरत दिव्य युवा क्लबका प्रमुख रामाकान्त पटेलले भन्नुभयो, “यौन र प्रजनन समस्या एक प्रमुख स्वास्थ्य समस्या हो, यसको निराकरणका लागि यौन र प्रजनन स्वास्थ्य कार्यक्रमलाई ग्रामीण तहसम्म लग्नसक्नु पर्दछ ।”
यौन र प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको अभावमा विशेषगरी किशोरकिशोरीको प्रजनन स्वास्थ्यमा समेत ठूलो समस्या पर्ने गरेको छ, उहाँले भन्नुभयो, विद्यालय र उच्च विद्यालयमा यससम्बन्धी साथी शिक्षा कार्यक्रम लागू गर्नुपर्दछ ।
यौन सम्बन्ध सुखद र सुरक्षित यौन अनुभवका साथ एक सकारात्मक र सम्मानजनक दृष्टिकोण चाहिन्छ । साथै, यसमा दबाब, भेदभाव र हिंसा बिनाको वातावरण चाहिन्छ ।
यौन स्वास्थ्य क्षेत्र व्यापक र विश्वव्यापी छ, यौन रोग विशेषज्ञ डा सुमन प्रसाद भन्नुहुन्छ, “यसमा यौन स्वास्थ्य, यौन उत्साह, यौन सम्बन्ध र यौन असन्तुष्टिजस्ता समस्या र चुनौती देखा पर्छन् ।”
यौन र प्रजनन स्वास्थ्यबारे व्यापक जनचेतना जगाउन सक्यौं भने यससम्बन्धी रोगलाई न्यूनीकरण गर्न सकिन्छ, उहाँले भन्नुभयो, ‘यौन स्वास्थ्यबारे किशोरकिशोरीसँग खुलेर कुरा गर्नुपर्दछ ।’
मुलुकमा बढ्दो यौन हिंसाको घटनालाई कम गर्नका लागि पनि यौन स्वास्थ्यबारे व्यापक जन जागरुकता ल्याउनुपर्ने सुझाव डा सुमनको छ ।
सुरक्षित गर्भपतनको व्यवस्था गरेपछि गत सालभन्दा यो वर्ष गर्भपतन गर्न आउनेको सङ्ख्यामा समेत वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री