बुधबार, १२ वैशाख २०८१

प्लस टु हटाइहाल्ने बेला भएको थिएन : प्रा.डा. सुरेशराज शर्माको अन्तर्वार्ता

समयपोष्ट २०७५ साउन १ गते ३:४९

ग्रेडिङ प्रणाली लागू भएसँगै विद्यार्थी र अभिभावक अलमलमा परे । विद्यार्थीले मेहनत गर्न छाडे भन्ने सुनिन्छ, तपाईंलाई के लाग्छ ?

Advertisement

ग्रेडिङ प्रणाली राम्रो हो । १ अथवा २ प्रतिशत कम आउनेबित्तिकै विद्यार्थीलाई यो भन्दा यो राम्रो भन्नु भन्दा यो समूहका विद्यार्थी राम्रा हुन् है भनेर सङ्केत गर्नका लागि यो प्रणालीको विकास गरिएको हो । उत्कृष्ट, अति उत्कृष्ट एउटा वर्ग भयो, राम्रो, ठीकै राम्रो अथवा मध्यम भन्ने अर्को वर्ग भयो । विद्यार्थीहरूको क्षमता अथवा ऊ कुन वर्गको भनेर देखाउन यो परिपाटीको विकास गरिएको हो । अन्य मुलुकहरूमा पनि यस्तै गरिन्छ । तर हाम्रो देशमा विद्यार्थी र अभिभावकहरूमा अलमल देखियो । परीक्षा दिँदा र नतिजा प्रकाशित हुँदा नै विद्यार्थी अलमलमा परे । तर यस विषयमा प्रष्ट भएपछि सबै ठीक हुन्छ ।

जहाँसम्म विद्यार्थीले मेहनत गर्न छाडे भन्ने सन्दर्भमा राम्रो विषय, राम्रो ठाउँमा पढ्न खोज्ने विद्यार्थीलाई त राम्रो ग्रेड ल्याउनुपर्छ भन्ने हुन्छ नै । अहिले सबैभन्दा बढी मेडिकल, इन्जिनियरिङ अथवा अप्लाइड साइन्सको विषयमा अभिरुचि हुने विद्यार्थीहरूले राम्रो ग्रेड ल्याउनुपर्छ भनेर मेहनत गर्न थालेका छन् । तर तिमी कामै नलाग्ने, पासै नहुने विद्यार्थी भन्नुभन्दा अथवा पास र फेल मात्र भन्नुभन्दा तिम्रो योग्यता यति हो, तिमीले यो विषयमा राम्रो ग¥यौ, यता मेहनत गर भन्दा राम्रो हुन्छ ।

यो प्रणालीले अभिभावकको लागि विद्यालय जाने र शिक्षकको गालीबाट बच्न मात्र किताब बोक्ने गरायो भन्ने सुनिन्छ नि ?

शिक्षकहरूले लेख्ने–पढ्ने भन्नुभन्दा पनि विद्यार्थी आफैँले खोज्नु पनि पर्छ । तर एसईईभन्दा माथिको पढाइमा मैले कति पढ्नुपर्छ र त्यो विषय राम्रोसँग पढेपछि मात्र मैले काम पाउँछु भनेर हेर्नुपर्छ । पुस्तक पढेर नम्बर मात्र ल्याउँछु भन्ने होइन कि कुरा पनि जान्नुप¥यो । त्यसको लागि राम्रो विद्यार्थीको रुचि र मेहनत त्यता हुनुप¥यो ।

ए प्लस, ए, बी प्लस, बी भन्नेबित्तिकै तिम्रो त्यो विषय राम्रो भयो भन्ने देखिन्छ । तर त्यो भन्दा माथि पढ्नका लागि कलेजले इन्ट्रान्स टेष्ट लिएको हुन्छ । उनीहरू ग्रेडिङमा मात्र भर पर्दैनन् । आफैँले पनि ग्रेडिङ गरेर कुन तहको विद्यार्थी हो, टेष्ट गर्छन् । पाएसम्म त राम्रै विद्यार्थी लिन खोज्छन् नि । तर यसमै मात्र भर पर्न जरुरी छैन ।

कक्षा १ देखि १२ सम्मको पाठ्यक्रमको ट्र्याक मिलेन भनिन्छ, तपाईंलाई के लाग्छ ?

आधारभूत शिक्षा भनेर ८ कक्षासम्मलाई भनिएको छ । त्यो भनेको नेपालका सबै नागरिककले त्यतिसम्म पढ्नै पर्छ भन्ने अवधारणा हो । माध्यमिकमा गएर दश कक्षामा पनि एउटा लेबल राखिदिएको भए राम्रै हुन्थ्यो । अन्य मुलुकमा जुनियर सेकेण्डरी, सेकेण्डरी भनिन्छ । हाम्रो दक्षिण एसियाली मुलुकहरूमा टेन प्लस टु भन्ने सिष्टम छ । त्यस कारण दश कक्षामा पब्लिक एक्जामिनेसन गरेर तिम्रो योग्यता यति भयो भनेर राष्ट्रिय लेबलमै भनिदियो भने राम्रो हुन्थ्यो । देशकोे सबै ठाउँमा दश कक्षाभन्दा माथि पढाउन सक्ने सुविधा पनि छैन र शिक्षकको पनि अभाव छ । अलि दुर्गम क्षेत्रमा बसोबास गर्नेलाई त्यो भन्दा माथिको शिक्षा आर्जन गर्न गाह्रो हुने हुँदा एउटा टर्मिनल नै गरेर दशलाई माध्यमिक भनिदिने, बाह्र कक्षालाई उच्च माध्यमिक भनिदिएको भए हुन्थ्यो । त्यसले दश कक्षा पढिसकेपछि कुन–कुन विषय बढी पढ्ने भन्ने अवसर दिए राम्रो हुन्थ्यो । १२ कक्षा पढेपछि त्यो अवसर दिँदा ढिलो भयो कि जस्तो लाग्छ ।

कक्षा ११ र १२ लाई प्रि युनिर्भसिटी बनाउने भन्ने पनि बहस हुँदै आएको छ, यो कत्तिको उपयुक्त छ ?

यो पनि एउटा उपाय हुन सक्छ । विषय छान्नका लागि अथवा त्यो विधामा जानका लागि बाह्र कक्षा पुगेपछि मात्र गर्नुभन्दा त्यो ठीकै हो । दश कक्षालाई राष्ट्रियस्तरमै मान्यता प्राप्त भएको, एउटा तह तिमीले पार ग¥यौ । पहिले आइरन गेट भनिन्थ्यो, त्यो पार गरेको हो भन्ने सिष्टमलाई एकै पटक हटाइहाल्ने बेला अझै भएको थिएन । त्यो पाँच–दश वर्षपछि भए ठीकै हुन्थ्यो । अहिले अलि छिटो भयो कि जस्तो लाग्छ ।

११ र १२ लाई व्यवस्थित गर्न तपाईंको सुझाव के छन् ?

तल्लो तहसम्म शिक्षक असाध्यै राम्रो हुनुपर्छ । त्यो भन्दा माथि गइसकेपछि शिक्षकभन्दा पढ्ने विद्यार्थी राम्रोे हुनुपर्छ । ११ र १२ भनेको शिक्षकले पढाएको मात्र विद्यार्थीले सिक्ने होइन । विद्यार्थीले मेरोे रुचि भएको विषयमा मेरो आनो पनि ज्ञान छ भन्ने किसिमको हुन्छ । कक्षा १२ माथि गएपछि विद्यार्थीले पढ्छन्, शिक्षकले कम पढाउँछन् । शिक्षकले सुझाव, सल्लाह दिने मात्र हो भन्ने मान्यता छ । त्यसैले ११ र १२ मा विद्यार्थीले शिक्षकले पढाएको मात्र नभएर आफूले सिक्ने हो भन्ने प्रणालीको विकास गर्नुपर्छ ।

शिक्षालाई जीवन उपयोगी बनाउन के गर्नुपर्ला ?

जीवन उपयोगी भनेको सीपमूलक हो । जुनसुकै विषयमा पनि सीप जानेको हुनुप¥यो । जस्तो– नृत्यको कुरा गरौँ । नृत्य पढाएर हुँदैन । नाच्नै जानेको हुनुप¥यो । गीत पनि त्यस्तै हो । अर्को इलेक्ट्रिसियनको केसमा बिजुली आउँछ र यसको यो सिद्धान्त भन्ने थाहा भएर मात्र हुँदैन । त्यसमा अपनाउनुपर्ने सुरक्षाका कुराहरू पनि जान्नुप¥यो ।त्यसकारण जीवनोपयोगी कुराहरू आज सिकेको भोलि नै काम लाग्ने भयो भने ठीक छ । डिग्री लियो, त्यो कहिले काम लाग्ने भन्ने थाहा छैन । त्यो अर्कोलाई भन्ने थाहा छ, त्यो भनेर हुँदैन ।

सीपमूलक शिक्षाको धार सजिलो छैन । त्यो धेरै गाह्रो छ । झट्ट हेर्दा सजिलो जस्तो लाग्छ तर काम गर्न दिनका लागि त उसलाई पोख्त नै पार्नुपर्छ । पोख्त नभएको मान्छेलाई बिजुलीको फिटिङ, प्लम्बिङ, ड्राइभिङ आदि जस्ता काम गर्न दिन सकिँदैन । त्यसको लागि प्रशिक्षकहरूको जमात बलियो बनाउनुप¥यो । अहिले सिक्न खोज्ने मानिस धेरै छन् तर सिकाउन सक्ने धेरै भएका छैनन् । भन्न शिक्षक अथवा शिक्षा शास्त्र भनिएको छ तर प्रभावकारी ढङ्गबाट कसरी शिक्षा दिने भन्ने कुरा बलियोसँग आएको छैन । प्रशिक्षकलाई, शिक्षकलाई राम्रो बनाउने कुरामा हाम्रो जोड हुनुपर्छ । राम्रो कलेज, स्कुल दिएको छ भनेर बस्ने कुरा आउँदैन । त्यतिले पुग्दैन पनि । भनेको जस्तो स्तर त्यहाँ कायम भएको छ कि छैन, त्यसमा सरकारले अनुगमन गर्नुपर्छ । समयबोध म्यागेजिनबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री