शनिबार, ८ वैशाख २०८१

बीमा विधेयक–२०७५ संशोधन गर्न माग, परिभाषाबाटै सर्भेयर शब्द हटाउनु अव्यावहारिक

समयपोष्ट २०७५ साउन १४ गते १२:४४

संघीय संसद्मा दर्ता गराएको बीमा विधेयक–२०७५लाई सरकारले संशोधन गरिनुपर्नेमा जोड दिइएको छ ।

Advertisement

बीमा सर्भेयर संघ नेपालले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त विधेयक संशोधन गर्न सरकारसँग माग गरिएको हो ।

संघका अध्यक्ष सूर्यप्रसाद जोशीले बीमा ऐनमा ‘सर्भेयर’लाई विस्थापित गरी मध्यस्थकर्ता स्थापित गर्नेगरी भएको परिभाषाबाटै सर्भेयर शब्द हटाउनु अव्यावहारिक रहेको बताउनुभयो ।

ऐनमा सर्भेयरले गर्दै आएको कामलाई वास्ता नगरी इजाजतसम्बन्धी व्यवस्था, नवीकरण, निरन्तरता, शुल्क लगाउने, दण्ड जरिवाना सम्बन्धमा भएको व्यवस्था राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासकोविपरीत रहेको उहाँले बताउनुभयो ।

सर्भेयरलाई पेशाबाट विस्थापित गर्ने गरी ल्याइएको विधेयकलाई सम्बन्धित विषयको विज्ञसँग छलफल गरी संशोधन गरिनुपर्नेमा अध्यक्ष जोशीले माग गर्नुभयो ।

कार्यक्रममा अधिवक्ता वीरेन्द्रकुमार ठाकुरले संसद्मा दर्ता भएको बीमा विधेयक पूर्वगृहकार्य नगरी ल्याइएकामा आपत्ति जनाउनुभयो ।

विधेयकको दफा ९३ को उपदफा ३, ४, दफा ९४ को १, २, दफा ९५ को १, ४, ५, दफा ९७ को ३ ‘ग’, ९९ को ५, १०० को १ र २, १०२ को २, १४० को उप दफा १ र ११, १४२ को १ ‘ङ’, १४३ को ३ तथा १४७ मा रहेको प्रावधान सरकारले छलफल नगरिकनै सर्भेयरलाई विस्थापित गर्ने उद्देश्यले ल्याएको संघले आरोप लगाएको छ ।

दोषीका सम्बन्धमा छानबिन एवं सजाय गर्न न्यायिक न्यायाधीकरणको व्यवस्था विधेयकमा उल्लेख गर्नुपर्ने, रोजगारी गरिरहेकाको सुरक्षाको पूर्ण ग्यारेण्टी हुनुपर्नेमा संघले जोड दिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री