शुक्रबार, ७ वैशाख २०८१

माथिल्लो तामाकोशीको आर्इपिओ आजबाट खुल्यो, डिम्याट खाता नभएपनि आवेदन दिन सकिने

समयपोष्ट २०७५ साउन १६ गते ५:११

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले १ करोड ५ लाख ९० हजार कित्ता साधारण सेयर आजबाट जारी गरेको छ । कम्पनीले आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि १ सय रुपैयाँ अंकित मुल्यको एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड ५ लाख ९० हजार कित्ता आईपिओ जारी गरेको हो । आईपिओमा न्यूनतम ३० कित्ता देखि अधिकतम तीन सय कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।

Advertisement

दोलखाबासीले दोलखाबाट साउन १६ गतेदेखि भदौ १४ गतेसम्म आवेदन दिन पाउनेछन् भने काठमाण्डौं उपत्यकामा रहेका दोलखालीले उपत्यकाका आवेदन संकलन केन्द्रहरुबाट साउन १६ देखि २५ गतेसम्म मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

दोलखाबासीले आयोजना निमार्ण स्थल लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका १९ शाखाबाट आवेदन गर्न सक्नेछन् भने काठमाण्डौंबाट सनरार्इज बैंकका एघार शाखाबाट आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । जिल्लाबासीलाई सेयर आवेदन भर्न डिम्याट खाता अनिवार्य गरिएको छैन । त्यस्तै दोलखाबासीलाई आयोजनाबाट अतिप्रभावित, कम प्रभावित र प्रभावितको सूचीमा वर्गिकरण गरिएको छ ।

आयोजनाको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । आयोजना प्रभावित स्थानीयको आईपिओ बाँडफाँड पश्चात आयोजनाले सर्वसाधारणका लागि एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गरिने कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

स्थानीय र सर्वसाधारण गरि कम्पनीले कूल २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ ।

आयोजनाले गत फागुनमा तीन करोड ६० लाख ६ हजार कित्ता सेयर बीमा संस्थानका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चयकोषमा रकम जम्मा गर्ने कर्मचारीको लागि सेयर निष्काशन गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री