बिहीबार, १३ वैशाख २०८१

केटाकी आमाको कारण जापानी राजकुमारीको नोभेम्बरमा हुने भनिएको विवाह स्थगित

समयपोष्ट २०७५ साउन २५ गते ६:३१

जापानकी राजकुमारी माकोका विवाह स्थगित भएको छ । माकोका आमा–बुवाले उनकी छोरीको यही नोभेम्बरमा हुने भनिएको विवाहलाई दुई वर्षका लागि स्थगित गरेको जानकारी दिएका छन् । माकोकी भावी सासुले लिएको ऋण यसको कारण बताइएको छ ।

Advertisement

आर्थिक समस्याको समाधान नभएसम्म माकोको विवाहका लागि आफूहरुले अनुमती दिन नसक्ने उनीहरुले बताए ।

क्योदो समाचारका अनुसार राजकुमार अकिन्सिनो र राजकुमारी किकोले भावी ज्वाईं केई कोमुरोलाई उनको भविष्यको योजना र करियरको आउटलाइन प्रस्तुत गर्न आग्रह गरेका छन् ।

उता केई र माकोले विवाहका लागि आफूहरुलाई थप समय आवश्यक भएको बताएका छन् ।

जापानका ट्याब्लोइडले राजकुमारीको विवाह स्थगित हुनुको मुख्य कारण कोमुरोकी आमा र उनका पूर्व पार्टनरबीचको आर्थिक झमेला भएको दाबी गरेका छन् । रिपोर्ट अनुसार कोमुरोलाई पढाउनका लागि उनकी आमाले आफ्ना पूर्व प्रेमीसँग पैसा लिएको जुन उनले अहिलेसम्म तिरेकी छैनन् ।

यसबारे कोमुरोकी आमाले राजकुमारीकी आमाबुवासँग थुप्रै पटक कुराकानी गरिसकेको पनि बताइएको छ । राजकुमार एकिन्सिनोले उक्त ऋणका कारण जोडीको विवाह र त्यसपछिको जीवनमा समस्या उत्पन्न हुनसक्ने धारणा व्यक्त गरेको बताइएको छ ।

‘कोमुरोकी आमाले उक्त रकमलाई ऋण होइन भनी स्पष्टिकरण दिएकी छिन् तरपनि यो कुरा सल्टाउन उनले आफ्ना पूर्व प्रेमीसँग कुरा गर्ने राजकुमार अकिन्सिनोलाई जानकारी दिइन्, ’ क्योदोले उल्लेख गरेको छ ।

२७ वर्षीया माको राजा अकिहितोकी जेठी नातिनी हुन् । उनले गत वर्ष सेप्टेम्बरमा केई कोमुरोसँग इन्गेजमेन्ट गरेकी थिइन् । व्यवसायिक वकिल केई र माकोको भेट विश्वविद्यालयको पढाईका बेला भएको थियो । जापानमा शाही नियम अनुसार यदि राजकुमारीले राजपरिवार बाहेकका व्यक्तिसँग विवाह गरे उनको शाही दर्जा खोसिनेछ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री