शनिबार, ८ वैशाख २०८१

सिकारु चिकित्सकले लिए बिरामीको ज्यान

समयपोष्ट २०७५ साउन २५ गते १६:०१

कर्णाली प्रदेशसभाको आजको बैठकमा सांसदहरुले रुकुम चौरजहारीमा एक महिलाको मृत्यु भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Advertisement

बैठकमा रुकुम पश्चिमबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्माले उक्त घटनामा लासमाथि राजनीति गर्न खोजिएको विचार व्यक्त गर्नुभयो । यही साउन २० गते जाजरकोट भेरी नगरपालिका–१३ कुदुकी २९ वर्षीया यशोदा मल्ल आरसीका उपचारका क्रममा भएको मृत्यु निकै दुःखद भएको बताउँदै सदस्य शर्माले भन्नुभयो, “उपचारमा लापरवाही भयो भएन छानबिन गर्नुपर्ने थियो तर एकातिर ज्यान गएको र अर्कोतर्फ अस्पतालको रु ३५ लाख क्षति भएको छ ।”

अप्रत्यक्ष रुपमा भइरहेको गलत राजनीतिकरणका कारण केही समयसम्म यशोदाको लास अस्पतालमा राख्नु परेको र आज मात्रै आफन्तले बुझेको उहाँको भनाइ थियो । पीडित परिवारलाई राहत र चिकित्सकहरुलाई निरुत्साहित नहुने खालको वातावरण तयार गर्नुपर्ने अवस्था आएको उहाँले जनाउनुभयो ।

त्यस्तै सभा सदस्य अमृता शाहीले सिकारु चिकित्सकका कारण महिलाको ज्यान गएको आरोप लगाउनुभयो । उहाँले अस्पतालको चरम लापरवाहीले यशोदाले अकालमा ज्यान गुमाउनु परेकाले उनको परिवारलाई उचित क्षतिपूर्ति दिन प्रदेश सरकारसँग माग गर्नुभयो ।

सदस्य कृष्णा शाह (आचार्य)ले अस्पतालको लापरवाहीका कारण उनले ज्यान गुमाउनु परेको जिकिर गर्नुभयो । यस विषयमा प्रदेश सरकारले छानबिन समिति गठन गरी दोषीमाथि कारवाही र पीडित परिवारलाई राहत दिनुपर्नेमा उहाँको जोड थियो । यस विषयमा सभामुख राजबहादुर शाहीले विभागीय मन्त्रीहरुलाई ध्यानाकर्षण गर्न रुलिङ गर्नुभएको थियो ।

विधेयक पारित

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले पेश गर्नुभएको ‘प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा बनेको विधेयक, २०७५’ प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
त्यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले “कर्णाली प्रदेश सहकारी विधेयक, २०७५” लाई सामाजिक विकास समितिमा पठाउन सभामा प्रस्ताव राख्नु भएको थियो । प्रस्ताव अनुसार सो विधेयक समितिमा पठाउन प्रदेश सभाले सर्वसम्मतिले पारित गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री