बिहीबार, १३ वैशाख २०८१

बीमा संस्थानको अडिट हुन नसक्नुको कारण यस्तो छ

समयपोष्ट २०७४ असोज १ गते ४:३५

बीमा संस्थानको पछिल्लो अवस्था कस्तो छ ?

Advertisement

राष्ट्रिय बीमा संस्थानको पछिल्लो अवस्था ज्यादै राम्रो छ । ७२–७३ र ७३–७४ मा ४८ करोड ५५ लाख प्रथम बीमा शुल्क र १ अरब ६४ करोडको नवीकरण बीमा शुल्क गरी जम्मा २ अरब ६७ करोड ९९ लाख कुल बीमा शुल्क उठेको छ । कुल आम्दानी ३ अरब ७१ करोड, कुल खर्च ३ अरब ६५ करोड भएर ५ करोड ९२ लाखको आम्दानी यसले बचत भएको छ ।

अहिले हाम्रो जुन अडिटेड व्यालेन्ससिट ६४–६५ सम्मको छ, त्यो जम्मा १७ करोड ९३ लाखको पुँजी हाम्रो छ । यो २ अरब पुर्याउने अहिले स्वीकृतिकै क्रममा रहेकाले यसलाई विस्तृतरूपमा नभनौँ तर यो तोकिएको समयमै तोकिएको पुँजी पुग्छ ।

 यतिका वर्षसम्म अडिट हुन नसक्नुको कारण के हो ?

यसका विभिन्न कारणहरू छन् । जसमध्ये एउटा प्रमुख कारण संस्थाको कमजोरी मान्नुपर्यो । दोस्रो बीमा समितिमा धेरै लामो समयसम्म हाम्रो व्यालेन्ससिट स्वीकृत नभएर बस्यो । यो अहिलेको व्यवस्थापन होइन, यो भन्दा पहिलेको व्यवस्थापन हो । अहिलेको व्यवस्थापन आएपछि त्यो स्वीकृत भएर आयो । अहिले २०६४–६५ सम्म स्वीकृत भएर आइसकेको छ । ६५–६६ को स्वीकृतिको क्रममा रहेको छ । जबसम्म ६४–६५ को स्वीकृत भएर आएको थिएन, हामीसँग क्लोजिङ व्यालेन्स थिएन, जसले गर्दा ६५–६६ को ओपनिङ व्यालेन्स हामीले दिन सकेनौँ । अब हाम्रो लेखा परीक्षण कार्ययोजनाअनुसार हामी अगाडि बढिरहेका छौँ । कार्ययोजनामा कार्तिक मसान्तभित्र हामीले सकाउने भनेर पेस गरेका छौँ तर महालेखा परीक्षकको कार्यालयबाट यो भाद्र मसान्तसम्ममा सकाउने भनेर एउटा निर्देशन नै प्राप्त भएको छ । त्यो तर्फ हामी पूर्णरूपले प्रयत्नरत छौँ र मलाई लाग्छ, सायद हामी भाद्र मसान्तभित्र नै सफल हुने छौँ ।

 asiwini 2

अहिले बीमा समितिले पुँजी वृद्धि योजना ल्याएको छ, यहाहरूले कसरी पुँजी बढाउँदै हुनुहुन्छ ?

यसको विस्तृत पुँजी योजना हाम्रो सञ्चालक समितिले स्वीकृत गरी नेपाल सरकारको अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाएको छ । तत्पश्चात् त्यो हाम्रो नियमनकारी निकाय समितिमा जान्छ र त्यहीअनुसार हाम्रो पुँजी वृद्धि हुन्छ । तोकिएको समयभित्रै तोकिएको पुँजी पुग्छ ।

 सरकारले थप बीमा कम्पनीहरूलाई लाइसेन्स दिएको छ, यहाँले कसरी हेर्नुहुन्छ त्यसलाई ?

यसको दुईवटा पाटो हेरौँ । पहिलो पाटोमा सङ्ख्यात्मक रूपमा के यो यति अतिरिक्त १ वटा बीमा कम्पनीहरूको आवश्यकता थियो भन्ने प्रश्न ज्यादै उठिरहेको छ । तर यसको अलिकति प्राविधिक कामले विश्लेषण गर्यौं भने अहिले बीमाको पेनिट्रेसन कुल जनसङ्ख्याको करिब आठ प्रतिशत मात्र छ । नयाँ बीमा आएपछि यो प्रतिशत बढ्न सक्छ । 

 नेपालमा बीमा गर्नुपर्छ भन्ने अझै पनि चेतनाको अभाव छ, चेतना जगाउन तपाईंको जस्तो कम्पनी अथवा सरकारी निकायबाट के गर्नुपर्छ ?

वित्तीय साक्षरताको अभियान बैङ्कहरूबाट सञ्चालित छ । त्यस्तै, बीमा साक्षरता अभियान पनि सञ्चालन हुनुपर्छ । जसरी वित्तीय साक्षरता अभियानमा नेपाल राष्ट्र बैङ्कले नेतृत्वकारी भूमिका निर्वाह गरेको छ, त्यही हिसाबले बीमाहरूको नियमनकारी निकाय बीमा समितिले पनि यसको नेतृत्व लिनुप¥यो । तर त्यो भन्दैमा व्यक्तिगत बीमा कम्पनीहरूले साक्षरतामा अघि नबढ्ने अहिले विगत एक–दुई वर्षदेखि बीमाको बारेमा अवेरनेस बढाउन प्रयासरत छौँ तर त्यो प्रयास यथेस्ट छ, पूरा छ भन्नेमा म छैन । त्यो प्रयासलाई अझ अघि बढाउनुपर्छ । बीमा भनेको सामाजिक र आर्थिक दुवै किसिमले सुरक्षाको एउटा संयन्त्र हो ।

aswini

 अहिले धेरै नयाँ बीमा कम्पनीहरू आइरहेका छन् र नयाँ–नयाँ प्रडक्टहरू ल्याएर मान्छेहरूलाई आकर्षित गरिरहेका छन् । त्यो कम्पिटिसनमा बीमा संस्थान जान नसकेको हो ?

त्यो कम्पिटिसनमा बीमा संस्थान जान नसकेको भन्नु पूर्णरूपले म स्वीकार गर्दिनँ । सुरुमै मैले तपाईंलाई मेरो प्रथम बीमा शुल्कको रकम भनेँ । अब यसमा एक–दुईवटा समस्या छ । एउटा समस्या जीवन बीमा भनेको बीमा अभिकर्ता, जसलाई हामी इन्स्योरेन्स एजेन्ट भन्छौँ, को माध्यमबाट हुने व्यवसाय हो र त्यसमा एउटा सर्टेन कति खर्च गर्ने, कसरी खर्च गर्ने भनेर नियमनकारी निकायले तोकेको हुन्छ । हामी सरकारी निकाय भएकाले हामी नियमनकारी निकायले तोकेको सीमाभन्दा बढी दिन सक्दैनौँ । निजी कम्पनीहरूले आफ्ना विभिन्न उपायहरू अवलम्बन गरेर ती एजेन्टहरूलाई हामीभन्दा बढी परिचालन गर्न सक्षम भएका छन्, जसले गर्दा उहाँहरूले बजारमा आफ्नो स्थान बनाउनुभएको हो । तर हामी पनि प्रतिस्पर्धीको रूपमा पछाडि छैनौँ र हामीले बजारमा आफ्नो स्थानलाई अझ उकास्दै लैजाने व्यवसायिक योजना तयार पारेका छौँ ।

 केही हाइड्रोपावरहरूमा पनि यहाँहरूको लगानी छ, यहाँहरूको आगामी योजना के छ ?

राष्ट्रिय बीमा संस्थान ऐनअनुसार देशको आर्थिक विकासका लागि हामीले लगानी गर्न सक्छौँ ।  त्यही  अनुसार हामीले अपर तामाकोसी जलविद्युत् कम्पनीमा लगानी गरेका छौँ । अहिले हाम्रो पाइपलाइनमा तीन–चारवटा अरू हाइड्रोपावर प्रोजेक्टहरू छन्, जसमा हामी लगानी गर्छौं । त्यो हिसाबले हाम्रो लगानीको स्थिति सुदृढ नै छ । व्यवसायतर्फ यो आर्थिक वर्षमा हामी न्यूनतम तीनवटा नयाँ बीमालेखहरू मतलब नयाँ प्रोडक्टस् बजारमा ल्याउँदै छौँ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री