शुक्रबार, १४ वैशाख २०८१

चीनको साम्राज्य रोक्न बिमस्टेक !

समयपोष्ट २०७५ असोज ९ गते ४:२४

सीके लाल

Advertisement

सन् १९९० को दशकको अन्त्यतिर भारतले बङ्गालको खाडीलाई आर्थिक गतिविधिको केन्द्र बनाउने हो भने त्योसँग जोडिएका राज्य सबैलाई लाभ हुन्छ भन्ने अनुभव ग¥यो । थाइल्यान्डले भारत र बङ्गलादेशमा एउटा ठूलो बजार पाउँछ । बर्माले पनि प्राकृतिक स्रोत ग्यास, रुबिलगायतका सामग्रीको लागि बजार पाउँछ । भारतले पनि लगानी गर्ने नयाँ–नयाँ ठाउँहरू फेला पार्छ र निर्यातको लागि बजारहरू उत्पन्न हुन्छ भन्ने आर्थिक दृष्टिकोणले बिमस्टेक परिकल्पना गरिएको हो । खास गरी त्यति बेला ऊर्जाको लागि बङ्गलादेशको ग्यास, थाइल्यान्डको तेल, भारतको कोइला र ऊर्जामा आत्मनिर्भरताको लागि क्षेत्रीय सहयोग महत्वपूर्ण थियो, योबाहेक अन्य आर्थिक मुद्दा पनि थिए । त्यसमा बङ्गालको खाडीको किनारा नभए पनि नेपाल र भुटान पर्नाको कारण बर्मा, थाइल्यान्ड, बङ्गलादेश र भारतसँग अर्थतन्त्र जोडिएको र नेपालबाट बग्ने नदीहरू गङ्गाको ठूलो स्रोत भएकोले हो । दुई तिहाइभन्दा बढी गङ्गाको पानी नेपालबाट बग्ने तीनवटा नदीका आधार क्षेत्रहरू कर्णाली, गण्डकी र कोसी हुन् । त्यसैले नेपाललाई पनि बिमस्टेकमा जोड्नुपर्छ भनेर जोडियो । यसरी आर्थिक रूपमा बिमस्टेकको परिकल्पना गरिएको थियो । तर, सन् १९९० को दशकपछि अचानक नेपालबाट एउटा भारतीय विमान अपहरणमा प¥यो । दरबार हत्याकाण्ड भयो । बङ्गलादेशको राजनीति पनि आफ्नै तरिकाले गयो । बर्मामा जुनताका नेताहरू सैनिक ऐसमा संलग्न थिए । उनीहरूबाट सत्ता हस्तान्तरण हुँदै प्रजातान्त्रिकीकरण धिमे गतिमा भए पनि हुन थाल्यो । थाइल्यान्डमा राजनीतिक परिवर्तन भयो । यसले गर्दा थाइल्यान्ड र बर्मा फेरि आसियानतिर हेर्न थाले । बङ्गलादेश, नेपाल र भारत पुनः सार्कतिर ध्यान दिन थाले । त्यसपछि बिमस्टेकले खासै गति लिन सकेन ।

यसैबीच, चीनको उदय, प्रभाव र विस्तार व्यापक हुन थाल्यो । आर्थिक हितलाई सामरिक सुरक्षासँग अलग गरेर हेर्न मिल्दैन । चीन यदि शक्तिशाली हुँदै आउन थाल्यो भने त्यसलाई रोक्न त सकिँदैन किनभने चीन संसारकै शक्ति राष्ट्र हो । तर त्योसँग आफ्नो हितको सुरक्षाको लागि रणनीतिक रूपमा बिमस्टेकको महत्व बढ्न थाल्यो । खास गरी सन् २००८ को पश्चिमा देशहरूको आर्थिक मन्दीपछि चीन बलियो भएर आयो । चीनले सारा विश्वका आर्थिक स्रोतहरू, प्राकृतिक स्रोहरू, बजारहरूमा कब्जा जमाउन थालेपछि यो क्षेत्रको हित संरक्षणका लागि श्रीलङ्का, बङ्गलादेश, भारत, नेपाल सबै मिलेर एउटा सहयोगको मञ्चको रूपमा बिमस्टेकको महत्व पुनः आएको हो । तर अहिले पनि औपचारिकताभन्दा धेरै अगाडि यो गइसकेको छैन । अर्को साल भारतमा चुनाव हुने भएकाले पनि भारतलाई हतार भएको हो । नेपालको लागि अन्तर्राष्ट्रिय मञ्ज जुन पाउँछ, त्यो गर्नुपर्छ । किनभने त्यसले नेपालको लागि यो महत्वपूर्ण देश हो भनेर दृश्यता दिन्छ । त्यसैले नेपाल खुसी–खुसी राजी भएर सम्मेलन गर्न अगाडि आयो । बिमस्टेक काठमाडौँ सम्मेलनको घोषणापत्र हेर्ने हो भने त्यसमा तात्विक कुरा खास केही पनि छैन । औपचारिक कुराहरू मात्रै छन् ।

नेपाललाई फाइदा

बिमस्टेकको चौथो सम्मेलन गरेर नेपाललाई भएका फाइदाको आँकलन तीनवटा दृष्टिकोणबाट गर्नुपर्छ । पहिलो, कुनै पनि फाइदाको शुद्ध आँकलन गर्ने भनेको आर्थिक नै हो । आर्थिक रूपमा नेपाललाई लाखौँ डलर खर्च गरेर बौद्धमार्गी पर्यटकहरूलाई आकर्षित गर्न प्रचार गर्नुपथ्र्यो । तर सम्मेलनमा आएका बर्मा, थाइल्यान्ड र श्रीलङ्काका राष्ट्रप्रमुख लुम्बिनी गए । त्यसले अन्तर्राष्ट्रियस्तरमा धेरै ठूलो प्रचार भयो ।

दोस्रो, लाभ–हानि कूटनीतिक रूपमा हेर्नुपर्छ । कूटनीतिक रूपमा नेपालको छवि एक्लोरूपमा उभिँदा देखिँदैन । एउटा समूहको सदस्यको रूपमा उभिँदा छवि अलि उज्यालो हुन्छ । अन्य राष्ट्रका राष्ट्रप्रमुखहरूलाई बोलाएर यति ठूलो आयोजना गर्न सक्नु कूटनीतिक रूपले पनि लगानीभन्दा लाभ बढी भएको छ ।

तेस्रो, अर्को भूराजनीतिक दृष्टिकोणले हेर्दा अहिले नेकपाको सरकार बनेदेखि नेपाल अब चीनको पोल्टामा पुग्यो भन्ने छवि बाहिर गएको थियो तर बिमस्टेक त चीनको पोल्टाको होइन । बिमस्टेकको आयोजना गर्नाले नेपालले रणनीतिक लाभको रूपमा नेपाल अझै असंलग्न परराष्ट्र नीतिमा छ भन्ने सन्देश भयो । यसले पश्चिमाहरूलाई अलिकति आश्वस्त पार्न पनि सफल भयो ।

सैन्य अध्यास र केटौले कूटनीति

बिमस्टेक सदस्य राष्ट्रबीच भारतको पुणेमा संयुक्त सैन्य अभ्यासमा नेपाली सेना नपठाउनु नेपालको केटौले पाराका अपरिपक्व कूटनीति हो । यसमा आर्थिक, रणनीतिक र सुरक्षा जोडिन्छ । आर्थिक रूपमा बिमस्टेकबाट लाभ लिने तर त्यसको सुरक्षाको अभ्यासहरूमा भाग नलिने भन्न पाइँदैन । त्यस्तो गर्न मिल्दैन । कि त बिमस्टेकको सदस्यता पनि लिनुभएन र त्यहाँबाट लाभ पनि लिनुभएन । लिएको हो भने त्यहाँ सहभागी हुनै पथ्र्यो । अथवा सहभागी हुन नसकिने कतैको दबाब थियो भने यी कारणले हामी सहभागी हुन सक्दैनौँ भन्न सक्नुपथ्र्यो । पहिले सहमति जनाउने, पछि त्यसबाट फिर्ता हुनु अलिकति केटौलेपन देखियो । यही निर्णय थाइल्यान्डले पनि गरिदिएको हुनाले नेपालको लाज अलिकति जोगिएको छ । थाइल्यान्डले लाज छोप्ने लँगौटी नेपाललाई उपलब्ध गराइदियो । नत्र साह्रै बेइज्जतीको काम हुन्थ्यो ।

यसमा चीन र पाकिस्तानको दबाब आयो भन्ने कुरा पनि आएका छन् । पाकिस्तानको दबाब सार्कलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने हुन सक्छ । चीनको दबाब भने सम्भव छ । आसियान चीनविरोधी मोर्चाको रूपमा देखिएको छ । चीनलाई बिमस्टेक पनि त्यही बाटो लागेको हो कि भन्ने शङ्का हुन सक्छ । यदि त्यसो हो भने चीनको शान्त कूटनीति हुन सक्छ । बाहिर देख्दा शान्त, भित्र–भित्र कान निमोठ्ने काम गरेको सम्भावना धेरै देखिन्छ ।

भारतविरोधी राष्ट्रवाद

भारतले अघि सारेका हरेक कार्यहरूमा नेपाली नेताहरूले त्यहाँ केही रणनीति छ भनेर शङ्का गर्ने परिपाटी र भारतको विरोध गर्दा राष्ट्रवादी भनिन्छ भन्ने भ्रम छ । यो अत्यन्त हीन भावनाले भएको हो । हामी हरेक कुरामा भारतमा निर्भर छौँ । हाम्रो धार्र्मिक स्रोत, धर्मस्थल, भाषा, रोजगारी, शिक्षा, स्वास्थ्य, व्यापार वाणिज्य सबै भारतमा भर पर्नुपरेको छ । हाम्रो आध्यात्मिक, सांस्कृतिक पुनर्जीवनका लागि हामी हेर्ने त्यही भारत हो । यति धेरै परनिर्भरता भारतमाथि भएपछि कुण्ठा, हीन भावना उत्पन्न हुन्छ । अनि मान्छेलाई योभन्दा फरक देखाएनौँ भने हाम्रो अस्तित्व नै रहँदैन भन्ने भावना उत्पन्न हुन्छ । जहिले सानो–सानो कुरामा निहुँ खोजेर भए पनि आफ्नो हीन भावनाबाट उम्किने प्रयत्न हो । कहिलेकाहीँ यसले ठूलो नोक्सानी भइदिन्छ । तर फेरि भारतले क्षमा गरिदिन्छ भन्ने भावना पनि नेपालका नीति–निर्माताहरूमा छ । त्यस कारण बेलाबेलामा निहुँ खोज्ने काम नेपाली राजनीतिकर्मीहरूले गरिरहेका हुन्छन् ।

भारतको विल्कल्प चीन होइन

नेपालमा बेलाबेला भारतको विकल्पमा चीनलाई देखाउने काम मूर्खतापूर्ण छ । आँखा सानो छ, पैताला ठूलो छ । त्यसैले आँखाको विकल्प पैताला हुन सक्छ भनेको जस्तै हो त्यो । भारतसँगको हाम्रो सम्बन्ध यति गहन छ कि यसको विकल्पमा चीन अथवा अमेरिका हुन सक्दैन । हाम्रो साम्राज्यवादी सम्बन्धले गर्दा बेलायत विकल्प बन्न खोजेकै हो । अमेरिकाले पनि शीतयुद्धताका विकल्प बन्न खोजेकै हो । चीन पनि विकल्प बन्न नखोजेको पक्कै होइन । तिब्बतमा चीन आएदेखि नै विकल्प बन्न कोसिस गरेकै छ । भारतलाई हामीले नेपालबाट प्रतिस्र्थापन गर्न सक्दैनौँ भन्ने कुरा चिनियाँहरूलाई समेत थाहा छ ।

पर्यटनकै कुरा गर्दा भारतीय पर्यटकहरू शाकाहारी हुन्छन् । मासु खाने पनि हामी जस्तै हुन्छन् । चिनियाँ पर्यटकहरू आए भने सबैभन्दा पहिले उनीहरूले खोज्ने कि गाईको मासु हुन्छ कि सुँगुरको मासु हुन्छ । त्यस्तै, धेरै नेपाली महिलाहरूले लगाउने सुतीको साडी चिनियाँहरूले पनि बनाइदेलान्, नसक्ने होइन । तर उनीहरूले नेपाल जस्तो सानो बजारका लागि बनाउँदैनन् । भारतीय बजारमा पनि बेच्न पाइने हो भने मात्र बनाउँछन् । हाम्रो पूजा गर्ने बेलामा चाहिने श्रीखण्डको चन्दन, अन्त्येष्टि गर्ने बेलामा घाटमा पुरोहित, भागवत् पुराण लगाउने पुरोहित चीनबाट आउँदैनन् । चीनलाई भारतसँग तुलना गर्न सकिँदैन । चीनसँगको सम्बन्ध मुख्य आर्थिक, कूटनीतिक, रणनीतिक हो । भारतसँगको सम्बन्ध सांस्कृतिक, धार्मिक, आर्थिक र सामाजिक हो । त्यस कारण यो तुलना गर्न नमिल्ने कुरा हो । दुवै चाहिन्छ तर यसको सट्टा ऊ उसको सट्टा भन्नु मूर्खताको तर्क हो ।
(राजनीतिक विश्लेषक सीके लालसँग समयबोधले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

सम्बन्धित सामाग्री