शुक्रबार, १६ चैत २०८०

बिमस्टेक सैन्य अभ्यास : अपरिपक्व कूटनीति

समयपोष्ट २०७५ असोज ९ गते ४:३८

दीपकुमार उपाध्याय

Advertisement

बिमस्टेक बङ्गालको खाडीहरूसँग जोडिएका देशहरूबीचको आर्थिक विषयलाई केन्द्रित गरेर बनाइएको हो । यी देशहरूमा बौद्ध र हिन्दू धर्ममा विश्वास राख्ने मानिसहरू धेरै छन् । बौद्ध र हिन्दू धर्मको अन्तर्राष्ट्रिय बजारीकरण गर्न सक्यौँ भने नेपाल र भारत दुवैले राम्रो लाभ लिन सक्छन् । बौद्ध र हिन्दू तीर्थाटन पर्यटनमा नेपाल र भारत एक किसिमले उद्गम नै हुन् । यसलाई ग्लोबल मार्केटिङ गर्न थाइल्यान्डलाई बेस बनाउन सक्यौँ भने दुवैलाई फाइदा हुन्छ । राम्रा–राम्रा बुद्धिष्ट साइटहरू बङ्गलादेश र श्रीलङ्कामा छन् । यी सबै एरियाका बुद्धिष्ट सर्किटलाई जोडेर ग्लोबल मार्केटिङमा जाने र हिन्दूको रामायण सर्किटलगायतलाई ध्यान दिन आवश्यक छ ।

प्रत्येक मुसलमान आफ्नो जीवनकालमा एक पटक हज गर्न जान्छ । यहुदीहरू जेरुसेलम जाने र हिन्दूहरू चार धाम तीर्थयात्रा गर्ने गर्छन् । विश्वभरका बुद्धिष्टहरूलाई एक पटक लुम्बिनीमा ल्याउन सक्ने गरी नेपाल अघि बढ्नुपर्छ । त्यसलाई मध्यनजर गर्दै लुम्बिनी गुरुयोजना छिट्टै सम्पन्न हुने दिशामा छ । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सम्पन्न हुँदैछ । त्यसपछि भने यसले टेकअप गर्छ ।

नेपालको व्यापार घाटा कहालीलाग्दो छ । त्यसको लागि गफ मात्र गरेर हुँदैन, उत्पादन बढाउनुपर्छ । नेपालमा हिमाल, पहाड र तराई मिलेको प्रकृतिको वरदान छ । तर हामीले नेपाललाई भू–स्वर्ग बनाउन सकेका छैनौँ । पानीको प्रवद्र्धनका लागि भारतसँग मिलेर सम्पूर्ण समाधनमा जाने हो भने नदीहरू हामीलाई अभिशाप हुने थिएनन् । प्रत्येक वर्ष बाढी, भू–क्षय, डुबानलगायतका पीडैपीडा छन् । त्यो हामीलाई मात्र होइन, भारतलाई पनि छ । उत्तर प्रदेश र बिहारका हाम्रा नदीले प्रभावित गर्ने ठाउँहरूमा एउटै पीडा छ । हामीले यसको सम्पूर्ण उपयोग गर्न सक्यौँ भने त्यो अभिशाप वरदानमा परिणत हुन्छ । यो कुरामा हामीले भारतलाई विश्वास दिलाउन सक्नुपर्छ । भारतमा हाम्रा नदीहरू प्रवेश गरेपछि केही गर्न सकिँदैन । जे गर्ने हो, नेपालमा गर्ने हो । त्यसका लागि भारतले पनि नेपालको विश्वास जित्न सक्नुपर्छ । यहाँ ठूला–ठूला रिजर्भवायर प्रोजेक्टहरू गरेर वाटर टेबल मेन्टेन गर्ने । भारतमा पनि वाटर टेबल मेन्टेन गर्ने हो भने पूर्वसूचना जान्छ । बाढी अकस्मात पस्दैन । पूर्वसूचना दिन्छ र जनधनको क्षति कम हुन्छ । नेपाल सधैँभरि किन ल्यान्डलक रहने भनेर अहिले वाटर–वेका कुराहरू उठेका छन् । यस्ता काम मिलेर गर्न सार्क आयो । सार्कमा पाकिस्तान र भारतको कुरा नमिलेपछि बीबीआईएन अर्थात् बङ्गलादेश, भुटान, इन्डिया र नेपाल चार देशको परिकल्पना भयो । त्यहाँ हामीले नर्थ इष्टमा पावर बैङ्क बनाएर पावर टे«डिङ गर्ने । खास गरी नेपाल र भुटानले आफ्नो उत्पादन बङ्गलादेशलाई बेच्ने । भारतले त्यसको लागि ट्रान्समिसन लाइन र अरू पनि कनेक्टिभिटी दिने भनेर यी कुराहरू भएका छन् । कनेक्टिभिटीका कुराहरूमा सार्क, बीबीआईएनले धेरै कमिटमेन्ट गरेर पूरा नभएको अवस्थामा बिमस्टेक आएको छ । यसको चार्टर पनि बनेको छैन ।

बिमस्टेकबाट नेपाल धेरै आशावादी हुनुभन्दा पनि हामी अनन्त सङ्क्रमणमा थियौँ । कहिले राजसंस्था, कहिले अस्थिरता र कहिले द्वन्द्वमा फस्यौँ । अहिले हामी पाँच वर्षका लागि स्थायी सरकार पाएका छौँ । अब एक–अर्कालाई दोषारोपणभन्दा पनि यहाँबाट प्रस्थान बिन्दु यो भनेर जानुपर्ने छ । बिमस्टेक जस्ता सङ्गठनमा पनि राष्ट्र र जनताको हितमा परिणाममुखी अप्रोचसहित कूटनीतिक कला, कौशल र चातुर्यता देखाउन सक्नुपर्छ । त्यो एउटा व्यक्तिबाट सम्भव हुँदैन । जुनसुकै सरकारमा पुगोस्, जुनसुकै पार्टीको होस्, राष्ट्रको हित भनेको राष्ट्रमा भएका उपलब्ध ज्ञान, अनुभव, सीप, दक्षता जे छ, त्यसलाई एउटै डालोमा राखेर प्रस्थान बिन्दु बनाउन सक्नुपर्छ ।

नेपाललाई फाइदा

नेपालमा भूकम्पपछि अन्तर्राष्ट्रियस्तरमा अझै के हो, कसो हो भन्ने अस्पष्टता थियो । नेपाल सुरक्षित छ भनेर हामीले अन्तर्राष्ट्रिय मिडियामा गएर प्रचार–प्रसार गर्न सक्दैनौँ । तर बिमस्टेक सम्मेलनले नेपालमा शान्ति सुरक्षादेखि कुनै पनि समस्या रहेनछ । जनजीवन सामान्य रहेछ भन्ने सन्देश विश्वभर दिएको छ । जस्तै– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जुन–जुन मन्दिरमा गएर पूजा गर्छन्, त्यसको विश्वव्यापी प्रचार हुन्छ । त्यसबाट हामीलाई कति फाइदा भयो भन्ने कुराको हामी कल्पना पनि गर्न सक्दैनौँ । नेपालमा बिमस्टेक सम्मेलन सफलताका साथ सम्पन्न हुनु नै ठूलो उपलब्धि हो । त्यसमा कति अवसर र लाभ हासिल गर्न सक्छौँ भन्ने कुराको सरकारले आफ्नो किसिमको भूमिकाबाट परिणाम निकाल्न सक्नुपर्छ ।

सैन्य अभ्यास

मैले दुई वर्ष नेपालको राजदूतको रूपमा भारतमा काम गर्ने अवसर पाएँ । त्यो समयमा मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नजिकबाट चिन्ने मौका पाएँ । मोदीजीले हरेक काम योजनाबद्ध गर्नुहुन्छ । अहिले बिमस्टेककै कुरा गर्दा बिमस्टेकको एजेन्डा नराम्रो छैन । अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागूऔषध कारोबारविरुद्ध एकढिक्का भएर प्रतिकार गर्न सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास गर्ने भन्ने मोदीजीको भाषणमा आयो । त्यो त्यसै पक्कै आएको होइन । त्यसमा कसले कुन तहको कमिटमेन्ट गरेका थिए, खुल्दै जाला । सेनाले विभिन्न किसिमका मित्र राष्ट्रहरूसँग आफूले अभ्यास गर्छ, त्यो नयाँ कुरा होइन । तर त्यसलाई हाम्रा नेताहरूले राम्रोसँग ह्यान्डल गर्न सकेनन् । हाम्रा नेताहरूमा अपरिपक्व कूटनीति देखियो । सैन्य अभ्यासमा सहभागी बन्दा चीन र पाकिस्तानको नजरमा आफू अलोकप्रिय बन्ने डरले पुणेमा नजाने निर्णयमा नेपाल पुगेको हुनुपर्छ । कूटनीतिमा अन्तिम समयमा कुनै पनि कुरा निषेध गर्नु भनेको अपरिपक्व कूटनीति हुन्छ । सैन्यको मामलामा त्यो अलिकति बढी नै संवेदनशील हुन्छ । सेना भनेको पृथक अङ्ग हो । उसले आफैँ पनि गर्न सक्छ र गरिराखेको हुन्छ । नेपालमा आएर विभिन्न देशका सेनाहरूले संयुक्त सैन्य अभ्यास यहाँ गरिरहेका हुन्छन् । हाम्रो सेना पनि अन्यत्र गएर गरिराखेको हुन्छ । त्यस कारण यो त्यति ठूलो गम्भीर विषय थिएन । तर अहिले सैन्य अभ्यासमा नपठाउनु अपरिपक्व कूटनीतिको एउटा ठूलो उदाहरण हो । यो हुनु भनेको देशको विश्वसनीयता गुम्नु र बेइज्जत हुनु हो । आखिर प्रधानमन्त्री, परराष्ट्रमन्त्री जसले गरे पनि नेपालकै बेइज्जती हुन्छ । यसमा अलि विशेष ध्यान दिनुपथ्र्यो । अब यस्तो नहोस् भन्नेबारेमा सचेत हुनुपर्छ ।

भारत र चीनको समान स्वार्थ

नेपाल भारत र चीन दुवैसँग मिलेर अघि बढ्नुपर्छ । कुनै पनि देशले भूगोल बदल्न सक्दैन । भूगोल बदल्न नसकेपछि कनेक्टिभिटीको सन्र्दभमा भारतसँग जति सहज छ, चीनसँग त्यति छैन । अहिले पनि रसुवाको बाटो बिग्रिएपछि सामान्य पहिरो जाँदैन । त्यहाँ पहाड नै सिफ्ट गर्छ । भोलि त्यो पहाडको अस्तित्व नै नरहने गरी पहाड खस्यो भने कसरी बनाउने ? यस्ता कुराहरूमा चिनियाँहरू बढी सतर्क छन् । चीन र भारत दुवै नेपालसँग कनेक्टिभिटीको लागि अन्तर्राष्ट्रिय सडक सञ्जाल वा रेलसँग कसरी जोडिने भन्नेमा छन् । प्रविधिमा चिनियाँहरू धेरै अगाडि छन् । मोदीजीले आफू गुजरातको मुख्यमन्त्री भएको बेला त्यहाँको विकास गर्न सबैभन्दा बढी चिनियाँ पुँजी र प्रविधि भित्र्याउनुभयो । तर मिडियामा बुझेर वा नबुझेर चाहिने भन्दा बढी होहल्ला हुन्छ । त्यस कारण सबैको आ–आफ्नो स्वार्थ हुन्छ । नेपालमा स्थिरता हुँदा चीन र भारत दुवै ढुक्क हुन्छन् ।

आज नेपालको शान्ति र स्थिरता भारत र चीन दुवैको मुल एजेन्डा बनेको छ । नेपालमा अस्थिरता हुँदा कोही मानवअधिकारको नाममा त कोही अरू केही बहानामा चीनतिर फर्केर फ्रि तिब्बतका कुराहरू उचालिदिने खतरा हुन्छ । यस्तै, भारतसँगको खुला सिमाना र समान संस्कृति र सभ्यताको जुन नेपालमा लागेको आगो भारतमा सीधै सल्किन्छ । त्यस कारण नेपालमा द्वन्द्व चाहने शक्ति पनि होलान् । नेपालमा स्थायित्व, समान एजेन्डा र सामूहिक स्वार्थ भन्ने कुरा दुवै देशले बुझेका छन् । चिनियाँहरूले प्रष्टसँग भन्छन्– हामी भूगोल बन्द हुन सक्दैनौँ । सप्लाइको मामलामा हामीसँग चाहिने भन्दा बढी आशा नगर्नुहोस् । किनभने कुनै पनि सामान सप्लाइ भनिसकेपछि मूल्य र समयको कुरा हुन्छ । चीनले नेपालको सानो जनसङ्ख्यालाई हेरेको होइन । उसले खास गरी भारतको युपी, बङ्गाल, बिहारको सबैभन्दा बढी जनघनत्व भएको बजार हेरेको छ । अहिले हामीले पारवहन र प्रोटोकलको कुरा गरेका छौँ । । नेपालमा रेल आयो भने समुद्रबाट गरेको व्यापारभन्दा सडकबाट गरेको व्यापार छिटो र सस्तो हुन्छ । यी कुराहरूलाई बढी सैद्धान्तिक भन्दा पनि परिणाममुखी प्रयास नेपालमा जारी गर्नुपर्दछ । (भारतका लागि पूर्वराजदूत उपाध्यायसँग समयबोधले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया

सम्बन्धित सामाग्री