बिहीबार, १३ वैशाख २०८१

प्रतिस्पर्धाले बजार परिपक्व हुन्छ : हिमालयन जनरल इन्स्योरेन्सका सीईओ सुशील बज्राचार्यको अन्तर्वार्ता

समयपोष्ट २०७५ असोज ९ गते १३:१७

हिमालयन जनरल इन्स्योरेन्सको पछिल्लो वित्तीय विवरण कस्तो छ ?

Advertisement

आ.व. २०७४–७५ को वित्तीय विवरण सन्तोषजनक रहेको छ । अघिल्लो वर्षभन्दा मुनाफामा केही वृद्धि देखिएको छ । जगेडा तथा कोष र बीमा कोषमा उलेख्य वृद्धि रहेको छ । यस वर्ष लगानी आयमा पनि वृद्धि भएको छ । यस वर्ष एक अर्ब १९ करोड बीमा शुल्क सङ्कलन गर्न सक्षम रहेको छ । साथै, यस वर्ष करिब तीन अरब ५० करोड कुल दाबी भुक्तानी गरेको छ ।

बीमा समितिले तोकेअनुसार चुक्ता पुँजी कति पुग्यो, कति बाँकी छ, कसरी पुर्याउँदै हुनुहुन्छ ?

बीमा समितिले निर्देशन दिनुपूर्व नै यस कम्पनीले एक अरब दुई करोड ७२ लाख चुक्ता पुँजी पु¥याइसकेको छ । यस कम्पनी एक अरब चुक्ता पुँजी पु¥याउने पहिलो निर्जीवन बीमा कम्पनी बन्न सफल भएको छ ।

के–कस्ता प्रडक्ट सञ्चालन गर्नुभएको छ ?

यस कम्पनीबाट निर्जीवन बीमातर्फका सम्पूर्ण बीमा उपलब्ध गराउँदै आएका छौँ । तसर्थ अग्नि, मोटर, सामुद्रिक, इन्जिनियरिङ, हवाई, विविध, लट र कृषि तथा पशुपक्षी बीमा सेवा प्रदान गर्दै आइरहेका छौँ । यस कम्पनीले उद्योग, व्यवसाय, हवाई सेवा, टेलिफोन सेवा, हाइड्रोपावर, होटलहरूको बीमा गर्दै आइरहेको छ । हाइड्रोपावर बीमाको क्षेत्रमा यो कम्पनी अग्रणी रहँदै आएको छ । साथै, व्यक्तिगततर्फ घर, मोटर, स्वास्थ्य, ट्राभल इन्स्योरेन्स आदिको पनि बीमा गर्दै आएका छौँ ।

अहिले नयाँ कम्पनी थपिएसँगै तपाईंहरू जस्ता पुराना कम्पनीलाई कत्तिको प्रभाव परेको छ ?

बजारमा नयाँ कम्पनी थपिनु भनेको स्वाभाविक प्रक्रिया हो । यसबाट प्रतिस्पर्धामा वृद्धि भई बजार परिपक्व हुन मद्दत पुग्दछ । हरेक कम्पनीको आ–आफ्नो सशक्त क्षेत्र हुन्छ, तसर्थ सबैले आफू सशक्त क्षेत्रमा व्यवसाय गर्दै आफूलाई जीवन्त रोखेको हुन्छ ।

अहिले बीमा कम्पनी थपिए पनि बीमा गर्ने भन्ने कुरा आफ्ना लागि भन्दा अरूका लागि भन्ने सोच छ, यो सोच कसरी हटाउन सकिएला ?

बीमा गर्नु भनेको सदैव आफ्नो धनजन तथा वित्तीय सुरक्षाको लागि हो । देशको आर्थिक विकाससँगै बीमाप्रति मानिसको सोचमा सकारात्मक परिवर्तन आइरहेको छ र बीमा आफ्नै सुरक्षाको लागि भन्ने सोच ल्याउन बीमा क्षेत्रप्रति जनचेतनामा अभिवृद्धि ल्याउन आवश्यक छ ।

बीमाको बजार बढ्न नसक्नुमा कम्पनीप्रति विश्वासको कमी पनि हो भन्ने गरिन्छ नि ?

प्रतिस्पर्धा बढेसँगै बिमितको बीमा कम्पनीप्रति विश्वास बढ्दै गएको छ । त्यसको प्रभावले बीमा क्षेत्रमा क्रमिक रूपमा विकास भइरहेको छ । बीमा बजारको वृद्धि देशको आर्थिक समृृद्धि तथा शिक्षाको विकाससँग पनि जोडिएको हुन्छ ।

कम्पनीहरू बीमा भुक्तानीमा अनेक लफडा झिक्छन् भन्ने आरोप सधैँ लाग्ने गर्छ नि ?

बीमा कम्पनीहरूले गरिने दाबी भुक्तानीमा धेरै सुधार एवं शीघ्रता आएको छ । २०७२ सालको महाभूकम्पबाट बीमा बजारको क्षतिबापतको दाबी रकम करिब १७ अरबमध्ये अधिकांश भुक्तानी भइसकेको छ । यसबाहेक पनि हरेक वर्ष ठूलै रकम दाबीबापत भुक्तानी भइरहेको छ । दाबी परेको अवस्थामा नियमसम्मत प्रमाण तथा कागजात बिमितले बुझाउनुपर्ने नै हुन्छ ।

संसद्मा दर्ता भएको बीमा विधेयकलाई कसरी लिनुभएको छ ?

सबै कुरा एकै पटक राम्रो नहोला । राम्रो हुँदै जान समय लाग्छ । परिवर्तित सन्दर्भमा समयसापेक्ष सुधार गर्दै जानुपर्ने हुन्छ ।

तपाईंको कम्पनीका आगामी योजना ?

यस कम्पनीले आगामी वर्ष व्यक्तिगत जनजीवनमा चाहिने बीमा सेवामा व्यापक विस्तार गरिने छ । सर्वसाधारणमा बीमाको पहुँच बढाइने छ । आर्थिक समावेशीको अवस्थाको विस्तार गर्न वैकल्पिक माध्यमबाट बीमा सेवा प्रदान गर्नेतर्फ कार्ययोजना राखेका छौँ । सर्वसाधारणलाई बीमामा चेतना जगाउने कार्य पनि गरिने छ । लघु बीमातर्फ विशेष कार्यनीति बनाई अघि बढ्ने योजना रहेको छ । निम्न आय भएका सर्वसाधारणलाई बीमामा सहज पहुँच दिलाई घर–आवास र औषधोपचार तथा दुर्घटना बीमा सेवा पुर्याइने छ । कम्पनीले उच्चकोटिको छरितो बीमा दाबी सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिँदै आफ्ना कर्मचारी र सेयरधनीको हितलाई अधिकतम लाभ प्रदान गर्ने अथक प्रयास गर्ने छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री