शनिबार, ८ वैशाख २०८१

यौन हिंसाको मामलामा मन्त्री समेत मुछिए, बैठकको बहानामा होटलको रुममा बोलाउथे

समयपोष्ट २०७५ असोज २५ गते ९:२१

भारतमा यौन हिंसा वा दुर्व्यहार बारे महिलाहरु मि टू अभियान अन्तर्गत बोल्न थालेका छन् । सामाजिक सञ्जालमा ह्यासट्याग मि टू सहित महिलाहरुले यौन हिंसाका घटनाबारे उल्लेख गरिरहेका छन् ।

Advertisement

यौन हिंसाको मामलामा पछिल्लो पटक अहिले सत्तामा रहेको भारती जनता पार्टी (भाजपा) सरकारका विदेश राज्य मन्त्री एमजे अकबर पनि मुछिएका छन् । अकबरमाथि ‘प्रिडेटरी बिहेवियर’को आरोप लागेको छ ।

उनले वयश्क महिलालाई बैठकको बहानामा होटलको रुमका बोलाउने गरेको आरोप छ । यसबारे अहिलेसम्म भारतीय विदेश मन्त्रालय र अकबर स्वयंले केही बोलेका छैनन् ।

केन्द्रीय महिला एवं बाल कल्याण मन्त्री मेनका गान्धीले राजनेतासहित सबैमाथि लागेका आरोपको छानबिन हुनु पर्ने बताएकी छन् । मि टू अभियान अन्तर्गत अहिलेसम्म भारतमा जति पनि अभिनेता, पत्रकार, लेखक वा चलचित्रकर्मीमाथि आरोप लागेको छ त्यसमध्ये अकबर सबै भन्दा शक्तिशाली व्यक्ति हुन् ।

अकबर पूर्व सम्पादक पनि हुन् । उनी देशका सबैभन्दा प्रभावशाली सम्पादक मध्ये रहेका थिए । उनी द टेलीग्राफ, द एसियन एजका सम्पादक तथा इन्डिया टुडेका सम्पादकीय निर्देशक बनेका थिए ।

वरिष्ठ पत्रकार प्रिया रमानीले गएको सोमबार सबैभन्दा पहिले उनको नाम लिएकी थिइन् । उनले कार्यालयमा भएको उत्पीडनका बारेमा एक वर्ष पहिले लेखेको लेख रिट्वीट गर्दै त्यो लेख एमजे अकबरका बारेमा रहेको बताएकी हुन् । त्यसपछि अरु ६ महिलाले पनि अकबरमाथि आरोप लगाएका छन् ।

बुधबार बसेको मन्त्रीपरिषदको बैठकमा आरोपका बारेमा औपचारिक रुपमा कुनै छलफल नभएको तर शीर्ष मन्त्रीहरुले अनौपचारिक रुपमा कुराकानी गरेको र चासो व्यक्त गरेको उच्च सरकारी अधिकारीलाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले खबर छापेको छ ।

सरकार महिला तथा बालिकाको पक्षमा रहेको र उनीहरुको सशक्तिकरणका लागि प्रतिबद्ध रहेकाले मन्त्रीमाथि नै यस्तो आरोप लाग्नु लज्जाको विषय रहेको एक उच्च अधिकारीले बताएका छन् ।

नरेन्द्र मोदी सरकारले महिलाको सशक्तिकरणका लागि भन्दै उज्ज्वल, बेटी बचाओ बेटी पढाओ, मुद्रा, तीन तलाख विरुद्धको अभियान तथा महिला स्वास्थ्यकर्मीको पारिश्रमिक बटाउनेसहितका काम गरेको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री