शुक्रबार, ७ वैशाख २०८१

भारतमा जीका भाइरसको प्रकोप पुष्टि, नेपालको छिमेकी राज्य विहारमा पनि सतर्कता अपनाइँदै

समयपोष्ट २०७५ असोज २६ गते ८:३०

भारतमा जीका भाइरसको प्रकोप पुष्टि भएको छ । यो दुई वर्ष भित्र भारतमा जिका प्रकोपको तेस्रो घटना हो । यो अघिल्ला दुईको तुलनामा ठूलो पनि देखिएको हो ।

Advertisement

पछिल्लो केही हप्ता भित्र भारतको पश्चिम राज्य राजस्थानमा ३२ जना जिका भाइरस संक्रमित भएको पुष्टि भएको छ ।

नेपालसँग जोडिएको भारतको राज्य विहारमा सर्तकता आह्वान गरिएको छ । जयपुरमा पहिचान भएका ३२ संक्रमित व्यक्तिमध्य एक जना विरामीको मुल घर विहारको सिवान जिल्लामा रहेको समाचार आए पछि यो सर्तकता आह्वान गरिएको हो ।

भारतको स्वास्थ मन्त्रालयले आफूले यो घटनालाई नजिकबाट नियाली रहेको बताएको छ ।

“हामीले उक्त क्षेत्रका गर्भवती भएका सबै महिलाहरुको निगरानी गरिरहेको छौँ,” अक्टोबर ८ मा मन्त्रालयले जारी गरेको एक वक्तव्यमा भनिएको छ ।

भारतमा सन् २०१७ मा एकै वर्ष पश्चिमी राज्य गुजरात र दक्षिणको तमिल राज्यमा जिकाको प्रकोप देखिएको थियो ।

यो वर्ष भने सेप्टेम्बर २२ मा जयपुरमा जिकाको पहिलो विरामी पहिचान गरिएको थियो ।

‘एडिज’ नामको लामखुट्टेले सार्ने यो रोग सन् २०१५ मा ब्राजिलमा महामारीको रुपमा फैलिएको थियो । उक्त समय ब्राजिलबाट संक्रमण दक्षिण अमेरिका र उत्तर अमेरिकामा समेत फैलिएपछि संकटको अवस्था निम्तिएको थियो ।

जिका भाइरसको सम्पर्कमा आएका अधिकांश संक्रमितहरुमा कुनै लक्षण देखिँदैन तर केहीमा भने यसले प्यारालाइसिस गराउँछ । यो भाइरस गर्भवति अवस्थाका आमाबाट भ्रुणमा पनि सर्छ । यो भाइरसबाट संक्रमित भ्रुणबाट जन्मिएका बच्चाको टाउको सानो हुने, सुस्त मनस्थितिको हुनेजस्ता समस्या देखिन्छ ।

सन् २०१७ मा भारतमा देखिएको जिका भाइरसको प्रकोपमा यो रोग संक्रमित मानिसहरुमा मात्र भेटिएकोमा यो पटक वैज्ञानिकहरुले जयपुर वरपरका लामखुट्टेहरुमा पनि यसको भाइरस भेटेका छन् । यसले गर्दा यो पटक रोग फैलिने खतरा बढी रहेकोमा वैज्ञानिकहरु चिन्तित छन् ।

विश्व स्वास्थ्य संगठनले भारतलाई जिका प्रसारको वर्गिकरणको ‘क्याटोगोरी २’ मा राखेको छ । यो भनेको भाइरस फैलिरहेको अवस्था हो ।

“जिका भाइरसको संक्रमणबाट बच्नको लागि उच्च जोखिमयुक्त क्षेत्रमा जादाँ लामखुट्टेले नटोक्ने आवश्यक सावधानीहरु अपनाउनुपर्छ । गर्भवती महिलाले विशेष सावधानी अपनाउनुपर्छ ,” विश्व स्वास्थ्य संगठनले सुझाएको छ ।

विश्व स्वास्थ संगठनको लामखुट्टेको टोकाईबाट बच्ने उपाए बारेमा बताउदै अगाडि भनेको छ ,“लामखुट्टेको टोकाईबाट बच्नको लागि लामेखुट्टे भगाउने धुप प्रयोग गर्ने, लामो बाहुला भएको हल्का कपडा र पाइन्ट लगाउने र घरभित्र लामेखुट्टे प्रवेश रोक्नको लागि झ्याल–ढोकामा जाली प्रयोग गर्ने उपाए गर्न सकिन्छ ।”एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री