शुक्रबार, ७ वैशाख २०८१

दसैं, मासु, मदिरा र हाम्रो स्वास्थ्य : डा. अरूणा उप्रेतीको सुझाव

समयपोष्ट २०७५ कार्तिक २ गते ३:२९

डा. अरूणा उप्रेती

Advertisement

मासुमा प्रोटिन हुने हुँदा यसले शरीरमा हानि पु¥याउँदैन । प्रोटिन नपुगेका मानिसहरूलाई चिकित्सकहरूले मासु खाने सल्लाह दिन्छन् । तर दशैँको बेलामा मानिसहरूले शरीरलाई चाहिने भन्दा पनि बढी मासु प्रयोग गर्ने गर्छन् । मासुका विभिन्न परिकारहरू बनाएर मासु खाने गर्छन् । मासु पकाउँदा एकदम धेरै तेल, मसला हालेर पकाइन्छ । मासुसँगै चिउरा, भात, रोटीहरू पनि खाने गरिन्छ । त्यसले शरीमा क्यालोरीको मात्रा बढाउँछ । मुटु, उच्च रक्तचाप, मधुमेह भएका मानिसहरूलाई यस्तो किसिमको मासु खाँदा धेरै समस्या आइपर्छ । दशैँमा आवश्यक भन्दा बढी खाँदा दशैँपछि त्यसको असर देखिन थाल्छ । दशैँमा पाहुना आउँछन्, आफूहरू पनि गइन्छ । जहाँ गए पनि दशैँमा खाने भनेको मासुकै परिकार हुन्छन् । त्यसैले मासु सकेसम्म कम खानुपर्छ ।

मासु किन्दा ध्यान दिनुपर्ने कुरा

अहिले पत्रपत्रिकामार्फत् मरेका खसी–बोकाका मासुहरू भित्रिने, बिरामी पशुको मासु काटेर बेच्ने भन्ने कुराहरू आइरहेको छ । यस्तो किसिमका अस्वस्थकर पशुको मासु प¥यो भने त त्यसले झन् शरीरलाई हानि गर्ने नै भयो । त्यसैले मासु किन्दा कस्तो किसिमको हो बुझेर मात्र किन्नुपर्छ ।

मासुसँगै सागपात खाऔँ

दशैँमा मासु एकै पटक पकाएर फ्रिजमा राख्ने अनि तताउँदै खाने गरिन्छ । यसरी बारम्बार तताउने र खाने भन्दा पनि आफूलाई चाहिने मात्र निकाल्ने, तताउने अनि खाने गर्नुपर्छ । त्यस्तै, फ्रिजमै पनि मासु धेरै समयसम्म राखिरहनुहुँदैन । धेरै मासु खाएर पखाला लाग्ने समस्याहरू पनि देखा पर्छन् । गाउँ–घरमा बासी मासु खाएर हैजा देखियो भन्ने पनि सुनिन्छ । त्यसैले यस्तो कुरामा एकदम ध्यान दिनुपर्छ । मासु मात्र नभई हरिया सागपात, सलाद, दही, मोही, भटमासबाट बनेका परिकारहरू खानामा प्रयोग गर्दा एकदम राम्रो हुन्छ ।

मासुको विकल्प

मैले मासु नखाएको २५ वर्ष भयो । मलाई आजसम्म त्यस्तो कुनै पनि समस्या छैन, जसले गर्दा मासु खान परोस् । मासुमा पाइने प्रोटिन हामीले क्वाँटी, भटमास, टुसा उमारेको चना र गहुँमा प्राप्त गर्न सक्छौँ । त्यस्तै, भटमासबाट बनेको तोफु एकदम राम्रो हुन्छ । त्यसले मासु नखाने मानिसले मिलाएर खान जान्यो भने प्रोटिनको कुनै समस्या पर्दैन ।

सन्तुलित भोजन खाऔँ

दाल, भात, तरकारी, दही, दूध, मोही भनेका सन्तुलित भोजन हुन् । नेपालीहरूको विदेशी खाना, प्याकेटमा आएको खाना एकदम राम्रो हो भन्ने मानसिकता छ । त्यो एकदम गलत हो । वास्तवमा हाम्रै खानेकुराहरू राम्रा र स्वास्थवद्र्धक छन् । समस्या भनेको हामीहरू बढी जङ्क फुड, मैदाबाट बनेका खानेकुराहरू बढी खान्छौँ । त्यसको सट्टा स्थानीयरूपमा उम्रिएको, सकेसम्म घरमै बनाएको खानेकुरा खान राम्रो हुन्छ । मानिसहरूले आफूले गर्ने श्रमअनुसार खानेकुरा खानुपर्छ ।

मदिरामा चिसो पेय पदार्थ प्रयोग नगरौँ

दशैँमा अत्यधिक मदिराको प्रयोग हुने गर्छ, त्यो एकदम गलत हो । मदिराले शरीरलाई कहिले राम्रो गर्दैन । साथै, मदिरामा पैसा खर्च गर्नु भनेको त पैसाको दुरूपयोग गर्नु हो । मदिरासँगै चिसो पेय पदार्थ प्रयोग गर्नु पनि स्वास्थ्यको दृष्टिले राम्रो होइन । मदिराको प्रयोगले शारीरिक समस्या त उत्पन्न गर्छ नै, त्यसले मानसिक समस्या पनि निम्त्याउँछ । मदिरा शरीरको लागि आवश्यक नै छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री