शनिबार, ८ वैशाख २०८१

‘आज जम्ने हैन त ?’

समयपोष्ट २०७५ असोज ३० गते ८:५८

कुशुम भट्टराई

Advertisement

‘दशैँ आयो यार, आज जम्ने हैन त ?’– साथीले भन्यो ।

‘हो यार, आज त हल्का लगाउनै पर्छ’– अर्को साथीले भन्यो ।

यसरी साथीहरू भेला हुन्छन् । दशैँको रमझम सुरु हुन्छ । तारेको मासुका साथ रक्सीको चुस्की लगाउँछन् । तासदेखि छोइला कचिलासम्म, तन्दुरी चिकेनदेखि ह्याकुला ब्वायलसम्म । मदिरा पनि हुनेले रेड रेबल र ब्ल्याक लेबल, नहुनेले समान्य ह्विस्की या रमबाटै काम चलाउँछन् । रमझममा जोसमा होस नहुँदा पेगमाथि पेग थप्ने काम हुन्छ ।

यो क्रम कोजाग्रत पूर्णिमासम्म चलिरहन्छ । मदिराको सेवन अत्यधिक भएकाले दशैँ नसकिँदै कसैलाई उच्च रक्तचाप त कसैलाई मुटुको समस्या देखा पर्न थाल्छ । रक्सी र मासुका लागि हजारौँ खर्च भएको थियो, अब उपचारका लागि लाखौँ पनि खर्च गर्नुपर्ने खतरा हुन्छ ।

अनि उनीहरूको मनले भन्छ– ‘तैट, यस्तो पनि उत्सव हुन्छ ? यस्तो पनि पर्व मनाउने काइदा हो ?’ मानिसहरूमा चेत त्यस बेला फर्कन्छ, जब शरीरमा समस्या गम्भीर भइसक्छ ।

९० अर्बको मदिरा

परापूर्वकालदेखि नै रक्सी पिउने चलन चल्दै आएको छ । रक्सी नराखिएको भोज खल्लो जस्तै मानिन्छ भने भोजमा रक्सी नपिउने मानिस एक्लो जस्तै हुन पुग्छ । नेपालका कतिपय धर्म र संस्कृतीमै रक्सी अनिवार्य छ । नेवारलगायत जनजातिहरूको संस्कृतिमा रक्सी नभई हुन्न । विवाहदेखि मृत्यु संस्कारसम्म रक्सी चाहिन्छ । हिजोआज ब्राम्हण समुदायमा पनि मदिरा संस्कृति ह्वात्तै बढेको छ । गाउँदेखि सहरसम्म मदिराको कारोबार मौलाएको छ । चाडपर्वमा त झन् रमाउनुको अर्थ नै मदिरा भएको छ ।

नेपालमा हालसम्म मदिराजन्य पदार्थ उत्पादन गर्ने ७३ वटा कम्पनीले बजारमा रक्सी उत्पादन गरेर पठाइरहेका छन् । नेपाल मदिरा सङ्घका उपाध्यक्ष किशोर भट्टराईका अनुसार नेपालमा वाइनको उत्पादन १८० प्रतिशतका दरले वृद्धि भएको छ । यसको अर्थ हो, पुरुष मात्र हैन, महिलामा पनि मदिरा संस्कृति मौलाएको छ । पर्वका बेला पुरुषहरू ह्विस्की र बियरमा रमाइरहेको बेला महिलाहरू पनि वाइनको चुस्की लगाइरहेका हुन्छन् । वाइन उत्पादन गर्ने कम्पनी नै ३१ वटा छन् । नेपालीहरूमा वाइनको सेवन समान्य भएको छ । बियरमा त नेपाल आत्मननिर्भर नै छ ।

यसै गरी नेपालमा बर्सेनि ३० प्रतिशतका दरले बियरको बजार बढ्दै गएको छ । जुनसुकै अवस्थामा बियर मगाएर पिउनु सामान्य भइसकेको छ । यसै गरी भोडका, ह्विस्की, रम, जिनलगायत बढी मात्रामा अल्कोहल भएको मदिराको उत्पादन पनि हरेक वर्ष २० प्रतिशतले बढिरहेको तथ्याङ्क हेर्दा नेपालमा मदिराप्रेमी या मदिराको कुलतमा लाग्नेहरू बढ्दै गएको पाइन्छ । यस्तो झन्, चाडवाडको बेला मदिराको अत्याधिक खपत हुने गरेको छ । एक तथ्याङ्कका अनुसार नेपालीले वर्षमा ९० अर्ब रूपैयाँ त रक्सीमै खर्च गर्दारहेछन् । नेपालमै उत्पादन हुने मदिराको बजार ७८ अर्ब रहेको छ ।

मदिरा शक्ति

रक्सीमा ठूलो शक्ति छ । यसले मान्छेलाई पशु बनाउन सक्छ । साथै, मान्छेको शरीरका अङ्गहरूलाई क्षत–विक्षत पार्न सक्छ । ‘रक्सी थोरै खाए औषधि, धेरै खाए विष हुन्छ, ठीक्क मात्रामा लिँदा फाइदा गर्छ’ भन्ने बहाना बनाई रक्सी पिउने बानी बसाल्नु हुँदैन । रक्सीले रक्तचाप बढाउँछ, मस्तिष्कघात गराउँछ, हार्ट फेल गराउँछ ।

खास गरी चाडपर्वको बेलामा रक्सी र मासु टन्न खाने चलन छ, जुन स्वास्थ्यका लागि अत्यन्तै हानिकारक छ । चिल्लो र रक्सी पनि एकसाथ मिसिँदा मुटुको गति एकदम छिटो–छिटो बेतालसँग चल्ने हुन सक्छ । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार यसलाई ‘होली डे हार्ट सिन्ड्रोम’ भनिन्छ ।

‘यो अवस्था धेरैजसो चाडपर्वमा हुन्छ । खसीको कवाफ र रक्सी खाँदा मीठो त हुन्छ तर यसले मुटुलाई भने क्षति पु¥याउँछ । परिणामस्वरूप दशैँका बेला होली डे हार्ट सिन्ड्रोमका बिरामी धेरै हुने गर्छन्’– प्रकाशराज रेग्मी भन्छन् ।

रक्सीसँगै मासु खानु निकै घातक छ । चाडपर्वको बेलामा चिल्लो, बोसो, मासु धेरै खाने चलन छ । मुटु रोगीहरूले यस्तो परिकार खाँदा धेरै विचार पु¥याउनुपर्छ । छाला भएको मासुमा बोसो र कोलेस्टेरोल धेरै हुन्छ । चिल्लोमा फ्राई गर्दा यो झन् हानिकारक बन्न पुग्छ । यस कारण बोसो र छाला नभएको मासु खाने प्रयास गर्नुपर्छ । मासु उसिनेर वा रोष्ट गरेर पकाउँदा उत्तम हुन्छ । मासु खाँदा हरियो सागपात र सलादसँग खानुपर्छ ।

मिर्गौलालाई बढी खतरा

मिर्गौला विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार दशैँमा अत्यधिक मदिरा सेवनले शरीरका अन्य अङ्गहरू असन्तुलन हुनुका साथै कमजोर हुन पुग्छ । मदिराको बढी असर मिर्गौलामा पर्छ । खास गरी बियर खाएपछि शरीरमा पानीको मात्रा बढ्छ । त्यति नै मात्रा पिसाबबाट बाहिर गएन भने मिर्गौलाको कामलाई असर गर्छ । मदिराले उच्च रक्तचाप बढाउँछ र मिर्गौलामा असर गर्न सक्छ ।

यति मात्र हैन, दशैँका बेलामा मदिरा सेवन गरेर सवारी चलाउने गरिन्छ । किनकि दशैँका दिन आफन्तकहाँ जाँदा मदिरा खाने चलन, घर फर्कंदा गाडी हुनेले आफैँले चलाउँछन् । जोसमा होस नहुँदा दुर्घटना हुने गरेका घटना बढ्दै गएका छन् ।

मदिराको प्रत्यक्ष असर भने मुटुमा पर्ने गरेको डा. प्रकाशराज रेग्मी बताउँछन् । मदिराले मुटु बलियो हुन्छ भन्ने भ्रम भएको उनले बताए ।

मदिरारहित दशैँ

दशैँ भनेको चित्त शुद्ध राख्ने, आपसी द्वेष हटाउने र भाइचारा बढाउने पर्व हो । अतः यस्तो पर्वमा चित्त शुद्ध राख्न शरीर पनि शुद्ध हुनुपर्छ । शरीर र मन शुद्ध भएपछि मात्र भाव शुद्धि हुन्छ । हामीले देख्ने गरेका छौँ, मानिसहरू दशैँमा मदिरा सेवन गरेर आपसमा लडिरहेका हुन्छन् । मदिरा पिउने मानिसहरूकै कारण उल्लासको पर्वमा नमीठो रस घोलिन्छ । अतः यो पर्वमा मदिरारहित बनाउनतर्फ सामाजिक अगुवाहरू पनि अघि सर्नुपर्छ ।

मदिरारहित दशैँका लागि दल, विभिन्न गैरसरकारी संस्था र मिडियाको पनि सार्थक पहल जरुरी छ । तर मिडियाहरू भने यही मौकामा ह्विस्की र बियरका महँगा विज्ञापन प्रकाशन गर्ने होडमा हुन्छन् । मदिराबाटै कमाउने दाउमा हुन्छन् । मिडियाले पनि आनो धर्म निर्वाह गरेर सामाजिक चेतनामूलक सामग्री प्रसारणमा जोड दिनुपर्छ ।

दूध, जुस र ग्रीन टी

मदिराको साटो दूध, जुस र ग्रीन टी खाने बानी बसाल्ने हो र यसलाई नै जीवनशैली बनाउने हो भने हाम्रो जीवन दशैँमा मात्र हैन, सदा उल्लासमय रहन्छ । पैसा पनि बच्ने, शरीर पनि स्वस्थ रहने अनि होस पनि नगुम्ने ।

दूधमा प्रोटिन र क्याल्सियमको मात्रा अत्यधिक हुन्छ । यसले शरीर बलियो बनाउँछ । फलफूलको जुसमा मल्टी भिटामिनहरू हुन्छ, यसले मानसिक तनाव कम गरी चुस्तता बढाउँछ । अनि ग्रीन टीमा रहेको एन्टी अक्सिडेन्टले शरीरमा भएका विजातीय तत्व र टक्सिनहरू बाहिर फाल्छ । अतः घातक मदिराको साटो हामी यी तीन पेयलाई दशैँको पेय बनाउन सक्छौँ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री