बुधबार, १२ वैशाख २०८१

शिरमा सिउरिन मात्र हैन, खान पनि मिल्छ जमरा

समयपोष्ट २०७५ असोज ३० गते ९:०८

घटस्थापनामा स्थापना गरिने जमरा टीकाको दिन शिरमा सिउरिन मात्र हैन, खान पनि मिल्छ । चिकित्सकहरुका अनुसार जौको जमरा बहुउपयोगी वनस्पती हो ।

Advertisement

स्वास्थ्यका दृष्टिले जौलाई अमृत नै मानिन्छ । वैदिक ग्रन्थहरूमा जौलाई रोग हटाउने यज्ञ–यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने अन्नका रूपमा लिइएको छ । यज्ञहरूमा जौको प्रयोग प्रसस्त मात्रामा गरिन्छ । पौराणिक ग्रन्थहरूमा पनि यवोसि धान्यश भनेर जौलाई अन्नको राजाको रूपमा हेरिएको छ । गीतामा भगवान् श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात् ‘औषधिहरूमा म जौ हुँ’ भन्नुभएकाले पनि यसको महत्व पुष्टि हुन्छ । श्रीमदभागवत् महापुराणमा पनि वामन अवताररूपी भगवान् विष्णुको पूजा गर्दा लोकपालहरूले जमरा चढाएको प्रसङ्गबाट के बुझ्न सकिन्छ भने हिन्दू संस्कृतिमा जमराको महत्व परापूर्वकालदेखि नै रही आएको छ ।

नेपालीहरूको महान् चाड दशैँको पहिलो दिन सबै नेपालीका घर–घरमा जमरा राखिन्छ । देवीलाई जौको जमरा मन पर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई माटोमा छरिन्छ र टीकाको साइतमा त्यही जमरालाई फूलको रूपमा प्रयोग गरेर शिरमा सिउरिदिने गरिन्छ ।

धार्मिक दृष्टिले मात्र हैन, वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौको महत्व उत्तिकै रहेको पाइन्छ । आयुर्वेदिक ग्रन्थहरूमा जौ र अङ्कुरित जौबाट गर्न सकिने उपचारहरूको व्यापक उल्लेख भएको पाइन्छ । जौको प्रयोगबाट सयभन्दा बढी रोगको उपचार हुन सक्ने शास्त्रमा उल्लेख छ । विविध रोगका लागि जौ उपयुक्त रहेको वैज्ञानिकहरूले पनि पुष्टि गरिसकेका छन् । सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, क्यान्सर एवं मधुमेह जस्ता रोगीहरूलाई फाइदा हुन्छ ।

हिन्दू विद्यापीठका अध्यक्ष स्वामी चिन्तामणि योगीका अनुसार जमरा समृद्धि, सौभाग्य, वैभवको प्रतीक हो । हिन्दू मान्यताअनुसार जमराले अन्नको पनि सम्मान गर्छ । मानिसको शरीर अन्नमय शरीर भएकाले अन्नको पूजा गर्ने संस्कृतिसँग पनि जमराको प्रसङ्ग जोडिएको छ ।

अमेरिकाको हस्टन विश्वविद्यालयमा गरिएको एक अध्ययनअनुसार जमराको रसको सेवनले सौन्दर्यसमेत बढाउँछ । यसै गरी बिरामी भएर कमजोर भएका व्यक्तिहरूलाई जौबाट निर्मित खाद्य पदार्थ खुवाउँदा शरीरमा चाँडै शक्ति सञ्चार हुने विभिन्न अनुसन्धानले प्रमाणित गरिसकेको छ । हाम्रा गाउँघरमा अझै पनि दशैँको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ ।

अमेरिकी वैज्ञानिकहरूले गरेको अनुसन्धानअनुसार अङ्कुरित जौ सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट खाद्य पदार्थ हो । अन्य हरिया सागपातमा भन्दा जौ वा अङ्कुरित जौमा पौष्टिक तत्व तुलनात्मक रूपमा बढी पाइन्छ । चिकित्सकहरूले जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरूको सफल उपचार गरिसकेका छन् । प्रसस्त औषधीय गुण पाइने हुनाले पनि अङ्कुरित जौलाई विजया दशमीको प्रसादका रूपमा प्रयोगमा ल्याइनुले हिन्दू धर्म र हाम्रो विजया दशमीमा प्रयोग गरिने जमरा आधुनिक वैज्ञानिक प्रद्धतिअनुसार समेत उत्कृष्ट रहेको ठहर हुन्छ ।

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार जौबाट बनेका चिजहरूको महत्व अहिले आएर बल्ल मानिसले बुझ्न थालेको छ । बजारमा जौका चिउरा, ओट्स र बार्लेको बिक्री हुन थालेको छ । पेट सफा गर्न पनि जौबाट बनेका खाद्य पदार्थ उपयोगी मानिन्छ । जौमा कार्बोहाइड्रेटको मात्रा कम र फाइबर धेरै हुने भएकाले डाइबिटिज र मुटुरोगीहरूका लागि जौका परिकार अमृत मानिन्छ ।

‘हाम्रो धर्म संस्कृतिले परम्परागतरूपमै स्वास्थ्यमा ध्यान दिएको छ, त्यसलाई अपनाउन सके धेरै फाइदा हुने थियो । तर आजको आधुनिक जमानामा मानिसहरू फास्टफुड र जङ्कफुडतिर लागेका छन्’, स्वामी चिन्तामणि योगी भन्छन्– ‘दशैँको महत्व गहिरो गरी बुझ्ने र जीवनलाई सात्विक आचरणमा ढाल्ने हो भने कुनै रोग लाग्दैन ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री