बुधबार, १२ वैशाख २०८१

दसैंको मूलपाटो धार्मिक उपासना हो : सत्यमोहन जोशीको विष्लेषण

समयपोष्ट २०७५ असोज ३० गते ९:१८

दसैं परम्परागत रूपमा पुस्तौं अगाडिदेखि मनाउँदै आएको चाड हो । दसैंको पृष्ठभूमि शक्तिमा आधारित छ । संस्कृति डाइनामिक कुरा भएकाले समयअनुसार चाडपर्व मनाउने तरिकामा परिवर्तन हुँदै आएको पाइन्छ । यसको पृष्ठभूमिको कुरा गर्दा कुनै खास एक दिनमा रामले रावणमाथि विजय हासिल गरेकाले विजयादशमी नाम रहन गएको पाइन्छ । हृदयको विजय भएको दिन । विजय प्राप्त गर्दाको तिथि दशमी परेकाले दसैंको नाम विजयादशमी रहन गएको हो । रामायणकालीन कथामा जोडिएको घटना हो । रामले लंकामा आक्रमण गरेर रावणमाथि युद्ध गरेर विजय प्राप्त गरेको दिन । विजयका निमित्त रामलाई शक्तिको आवश्यकता प¥यो । साधना गरेर शक्तिको उत्पत्ति गर्ने, उतिबेलाको जुग थियो । हिजोआज वैज्ञानिक युगमा यो कुरा मिल्दैन । रामले उपासना गरेर (पावर) दैवीशक्ति आफूमा लिएपछि शक्तिका आधारमा युद्धमा विजय प्राप्त गरे । रामायणकालीन समयमा रामले देवीको पूजाआजा गरेर शक्ति आर्जन गरी युद्धमा विजय प्राप्त गरेको भन्ने भनाइ छ । त्यसैले दसैं भनेको आफ्नो कार्यसिद्धि गर्ने शक्ति प्राप्त गर्नका लागि देवीको उपासना गर्ने हो ।

Advertisement

वैष्णव धर्म मान्नेको वैष्णव भएझैं, शिव धर्म मान्नेको शैव भनेझैं, सूर्यलाई उपासना गर्नेको सौर्य भनेझैं ,गणेशलाई मान्नेहरूका लागि गणपथ भनेझैं, शक्तिबाटै शाक्त सम्प्रदायको उदय भएको पाइन्छ ।.शाक्त सम्प्रदायमा हिन्दु र बौद्ध दुवै परम्परा रहेको छ । धार्मिक सहिष्णुता, धार्मिक समन्वयका कारण दसैंमा आ–आफ्नो परम्परा तथा कुल विधिअनुसार पूजा गर्ने परम्परा आयो । सूर्य, चन्द्रमा र पृथ्वी पनि शक्तिको आधारमै घुमिरहेको छ । वर्षको एकपटक आउने पर्वमा शक्तिको उपासना गर्ने कुरा महत्वपूर्ण छ । शक्तिविना कुनै पनि कुरा गर्न सम्भव छैन । शक्ति भनेको कस्मिक इनर्जी हो । जुन आफैंभित्र छ भन्ने कुरा बुझ्नु आवश्यक छ । शक्तिको प्रतीकका रूपमा देवीको मूर्ति खडा गरेर देवीलाई पूजाआजा गर्ने हाम्रो परम्परा छ । जुन आफूभित्रको शक्तिका रूपमा देवीलाई सिम्बोलाइजमात्र गरेको हो । देवीले खाने पनि होइन, लगाउने पनि होइन । देवी चार अथवा सोह«हाते हुने कुरा सम्भव होइन तर पनि शक्तिका रूपमा परिकल्पना गरेर पूजाआजा, स्तुति गर्ने परम्परा चल्दै गयो । शक्तिविना कुनै पनि सजीव प्राणीको अस्तित्व सम्भव छैन । यसरी समग्रमा भन्नुपर्दा ‘दसैंको मूलपाटो भनेको धार्मिक उपासना हो ।’

सामाजिक–आर्थिक पक्ष

हुनेखानेले भव्य रूपमा दसैं मनाउँछन् । हुनेखानेको देखासिकीमा नहुनेले पनि आफ्नो औकातभन्दा माथि गएर यसलाई मनाउने गरेको पाइन्छ, यसो गर्नु राम्रो होइन । वर्षमा एकपटक आफन्त, घरपरिवारसँग भेट हुने पर्व भएकाले यसलाई विसंगति र विकृतिका रूपमा लिनुहुँदैन । दसैं मनाउने शैलीमा समयअनुसार परिवर्तनभइरहेको छ । वास्तवमा दसैं आफ्नो रीतिथितिअनुसार मनाउने तथा यसका राम्रा पक्षलाई हाइलाइट गर्ने हो । २००७ अघि खरिदार, मिलिटरीमा सुवेदार जर्नेल, कर्नेल, निजामती सेवामा डिठ्ठा, खरिदारदेखि लिएर सबैले कोतमा गएर राँगो,बोका दिनुपर्ने चलन थियो । त्यो समयमा सरकारी जागिर खाने मानिसले कोतमा अनिवार्य रूपमा बलि चढाउनुपर्ने बाध्यता थियो । नपठाएमा गयल गर्ने, सजाय गर्ने परम्परा थियो । तर, सबैले पूजा पठाउनमा गौरव सम्झन्थे । त्योभन्दा पछाडि राजाले देशभित्र र बाहिर बसेका नेपालीलाई शुभकामना दिने चलन आयो । ग्रिटिङ कार्डलेख्ने, शुभकामना आदान–प्रदान गर्ने चलन आयो । दसैं नमान्ने मान्छेले पनि दसैं मान्ने मान्छेलाई भेटघाटक्रममा शुभकामना दिने चलन विकास भयो । यसरी विकास हुनेक्रममा दसैंको समयमा सरकारी कर्मचारीलाई एड्भान्स रूपमा दसैं पेस्की दिने चलन थियो । त्यो पेस्की पछ्र्यौट गर्न कर्मचारीलाई सात÷आठ महिना लाग्थ्यो ।

तर, अहिले समय फेरिएको छ । सरकारी कर्मचारीलाई एक महिना बोनस दिने व्यवस्था छ । दसैंको समयमा सरकारी कर्मचारी तथा इच्छुक व्यक्ति श्री ३, श्री ५ कहाँ टीका थाप्न, आशिर्वाद लिन जाने चलन विकास भयो । पछिल्लो समयमा आएर गुरुकुलले दसैंको अवसरमा सहभोज आयोजना गर्ने गरेको थियो । जुन दसैंका अवसरमा गरिने सहभोज यस पर्वको सकारात्मक पक्ष थियो । सबैभन्दा जेठो पाको साहित्यकार र कलाकारलाई बोलाएर सबै जात, धर्म र वर्गका मानिसलाई ंटीका लगाउने कार्यक्रम ६÷७ वर्ष सम्म चलायो । दलितदेखि बाहुनसम्मलाई बोलाएर सहभोज कार्यक्रम गथ्र्याे । समयसापेक्ष रूपमा नयाँ कुराको थालनी हुँदै गएको छ । विकृति विसंगतिमात्र होइन, यसले गरेको सकारात्मक कुरालाई लिन सक्नुपर्छ । मूल्यांकन गर्नुपर्छ ।

आफ्नो गच्छेअनुुसारको खर्च गर्ने, देखासिकी नगर्ने, आफ्नो आर्थिक, सामाजिक व्यवस्थाअनुसार आर्थिक स्रोतअनुसार पर्व मनाउने गरेमा दसैंलाई आपसी सद्भावको पर्वका रूपमा विकास गर्न सकिन्छ । वर्षको एकपटक सार्वजनिक बिदा मनाउँदा खुसी र हर्षोल्लाससाथ मनाउनु राम्रो हुन्छ ।

जीवनमा जहिले पनि टन्टा, लन्टा, चिन्ताग्रस्त यो भएन, ऊ भएन भन्नुमात्र राम्रो होइन । कहिलेकाहीं जीवनलाई सत्यम् एउटा सत्य, शिवम् सबैलाई कल्याण आफूलाई पनि कल्याण, सुन्दरम् राम्रो गर्नका निमित्त दसैंलाई एउटा मेलमिलापको पर्वका रूपमा मनाउनसक्नुपर्छ । दसैं आयो भने केटाकेटी पनि खुसी हुन्छन् । अरू मानिस पनि दसैंका लागि भनेर जोडजाम गर्ने कुरा गर्छन् । दसैंका लागि भनेर घर बिदामा घर जान्छन् ।

आफ्नो कर्मभूमि, आफ्नो जन्मभूमि, आफ्ना आफन्त र परिवारसँग बसेर मीठो–मसिनो खाने, रोटेपिङ खेल्ने मालश्री गीत गाउने, भगवतीको प्रार्थना गर्ने यी राम्रा पक्ष हुन् । दसैंलाई खुसीसाथ मनाउन सके यसले सबै मानिसमा ऊर्जा प्रदान गर्छ । नेपालमा सात सालपछि मात्र शुभकामना आदान–प्रदानको चलन सुरु भएको हो । उतिबेला पनि मान्यजनकहाँ टीका थाप्न जाने चलन थियो । सरकारी मान्छे राजाकहाँ टीका थाप्न जान्थे भने कर्मचारी आफ्ना तालुकवालाकहाँ । पहिले–पहिले मान्छेमा श्रद्धाको, आत्मियता र भाइचाराको भावना थियो । तर, पछिल्लो समयमा आत्मीयता हराउँदै गएको छ । यो दुःखको कुरा हो । दशा लाग्ने गरेर दसैं मान्नु ठीक छैन तर परिवार र आफन्तबीच सुख–दुःख साट्ने पर्वका रूपमा यो पर्वलाई मनाउनु आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री