बुधबार, १२ वैशाख २०८१

बैंकर अनिलकेशरी शाह भन्छन् : तीस वर्ष बैङ्कमा काम गरेर घाम बेचेँ

समयपोष्ट २०७५ कार्तिक १४ गते ५:०१

परिवारलाई समय

Advertisement

वित्तीय क्षेत्रमा काम गर्ने इन्ट्री लेबलदेखि सीईओसम्मलाई नै साथी–भाइदेखि परिवारलाई दिने समय एकदम कम हुन्छ । बाहिरबाट हेर्दा वित्तीय क्षेत्रमा काम गर्नेको सबै कुरा राम्रो देखिन्छ तर हामी बिहान उठेदेखि बेलुका घाम नअस्ताएसम्म बैङ्कमा नै हुन्छौँ । कति विवाह, पास्नी, चाडपर्व छुटे, त्यसको कुनै लेखाजोखा नै छैन । करिअरलाई प्राथमिकता दिने हो भने फेरि यस्ता त्याग गर्नै पर्ने हुन्छ । त्यस कारण बैङ्कमा काम गरेर अरू त थाहा छैन, मैले घाम बेचेँ । बिहान घाम उदाउनुभन्दा पहिले अफिसमा पस्यो, अफिसबाट निस्किने बेला घाम अस्ताइसकेको हुन्छ । त्यस कारण गएको तीस वर्षलाई फर्केर हेर्दा र बढाउन मिल्ने भए म मेरा साथी–भाइ र परिवारसँग बिताएका क्षणहरुलाई बढाउँथेँ होला ।

रमाइलो

मेरो परिवारमा मुमा, मेरी श्रीमती, छोरी, भाइ स्वर्गीय भइसक्यो, त्यस कारण बुहारी र उनको छोरा हामीसँगै छौँ । मेरा सासू–ससुरा हुनुहुन्छ । उहाँको एउटै सन्तान मेरी श्रीमती र मेरो पनि एक्ली सन्तान मेरी छोरी छिन् । परिवारमा रमाइलोका लागि हामी घरमै बसेर टिभी हेर्छौं, गफ गर्छौं । बाहिर जाने हो भने रेष्टुरेन्टमा जान्छौँ । परिवार, साथी–भाइसँगै रेष्टुरेन्ट गएर जापानिज, चाइनिज खाना, पिज्जा खाने सौख छ । परिवारसँग फिल्म हेर्न जान मेरो समय नभएको हुँदा म कमै जान्छु । तर मेरो परिवार धेरै जान्छन् । ‘छक्का पञ्जा– तीन’, ‘इन्टु मिन्टु लन्डन’मा भन्ने मुभि हेर्न म एकदम उत्सुक छु । यस्ता नेपाली सिनेमा प्रदर्शनमा आउँदा म सकेसम्म समय मिलाएर जान्छु । नभए समय निकाल्न एकदम गाह्रो छ ।

झगडा

हरेक परिवारमा ख्यालठट्टा, रमाइलो पनि हुने गर्छ र झगडा पनि हुन्छ । तर मेरो एकदम कम झगडा हुन्छ किनकि समय पनि हुँदैन । झगडा हुन पनि सँगसँगै हुनुप¥यो । दशैँको छुट्टी अलि लामो समय हुन्छ । एक–दुई दिन अलि रमाइलो हुन्छ, त्यसपछि के गर्ने होला जस्तो हुन्छ । उनीहरुले पनि के गर्ने भनेर हेरेको जस्तो लाग्छ । म पनि पानीबाट निकालेको माछा जस्तो हुन्छु । त्यस कारण झगडा हुन पनि सँगै समय बिताउनुप¥यो । सँगै समय नबिताएपछि झगडा पनि कम हुने रहेछ ।

घरको काम

घरको काममा शनिवार सहयोग गर्छु । विशेषतः बाहिर बगैँचा हेर्ने गर्छु । खाना बनाएँ भने सायद कसैले पनि खाँदैन होला । त्यस कारण खाना बनाउनतिर म लाग्दिनँ । एक दिन बिदा हुन्छ, खासै केही गर्न भ्याइँदैन । त्यही भएर हप्तामा दुई दिन बिदा भए एक दिन रिल्याक्स गर्ने र अर्को दिन काम गर्दा ठीकै हुन्छ । घरबाहिरका ट्याक्सहरु तिर्ने काम म गर्छु ।

मन पर्ने परिकार

मलाई नेपाली खाना एकदम मन पर्छ । कालो दाल, भात, तामा, खसीको मासु, गोलभेडाको अचार एकदम मन पर्छ । मैले नबिगारी राम्रो बनाउने भनेको सायद उसिनेको अन्डा होला । पहिले कलेज पढ्दा म स्पागेट्टी र स्पागेट्टीको सस् राम्रो बनाउँथे र साथी–भाइहरुले पनि भन्थे । अहिले नबनाएको धेरै भइसकेको छ । सायद मैले राम्रो बनाउने त्यही होला ।

परिवारको साथ

कुनै पनि पेसामा परिवारको साथ नभई हुँदैहुँदैन । अहिले परिवार भनेको एउटा पार्टनरसीप हो । श्रीमती होस् या छोराछोरी, उनीहरुले आफ्नो रोल के हो, त्यो बुझ्नुपर्छ । त्यो हाम्रो परिवारमा सबैले राम्ररी बुझेको छ । त्यस कारण मलाई घरको टेन्सन नै छैन । परिवारले घरको काम राम्ररी म्यानेज गरिदिएको छ । त्यस कारण घरमा टेन्सन नै हुँदैन । अफिसमा पनि टेन्सन, घरमा गएर पनि टेन्सन भयो भने झेल्न एकदम गाह्रो हुन्छ । न त अफिसको काम राम्रो हुन्छ न त घरको । एउटा राम्रो पार्टनरसीप छ भने मेरो काम के हो, उहाँको काम के हो भन्ने बुझ्छ । बच्चाहरुले पनि राम्ररी पढिदिने हो भने सबै राम्रो हुन्छ । परिवारमा सबैको आ–आफ्नो रोल हुन्छ । म विवाह गर्ने उमेर पुगेकालाई के भन्न चाहन्छु भने लभ भनिन्छ, त्यो राम्रो कुरा हो तर पार्टनरसीप पनि चाहिन्छ । पार्टनरसीप राम्रो भयो भने जिन्दगी राम्रोसँग गुज्रिन्छ ।

समझदारी आवश्यक

परिवार बलियो बनाउन समझदारी हुन एकदम जरूरी छ  । फिल्ममा जस्तो सबै कुरा हन्डे«ड पर्सेन्ट, हन्ड्रेड पर्सेन्ट अफ टाइम हुन्छ भन्यो भने डीसअपोइन्मेन्ट हुन्छ र आक्रोश निस्किन्छ अनि झगडा सुरू हुन्छ । एउटा समझदारी हुनुपर्छ कि हाम्रो परिवारको गोल के हो ? परिवारलाई खुसी र सुखी राख्न के गर्नुपर्छ ? एउटा राम्रो समझदारी भए परिवार मजबुत हुन्छ र राम्रोसँग अगाडि बढ्छ ।

समयबोध म्यागेजिनको कात्तिक अंकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री