बुधबार, १२ वैशाख २०८१

स्नातक शिक्षा : करियर रोज्ने जग

समयपोष्ट २०७४ कार्तिक २० गते ४:२७

स्नातक तह विद्यार्थीले आफ्नो करियर रोज्ने जगको रूपमा मानिन्छ । यहीँबाट भविष्यमा कुन व्यवसाय र पेसामा लाग्ने भन्ने तय हुन्छ । स्नातक पढ्ने विद्यार्थी १२ कक्षा पास गरेका हुन्छन् । उमेरले पनि परिपक्व भइसकेका हुन्छन् । स्नातक पढ्ने विद्यार्थीलाई अभिभावक र कलेजले निगरानी राख्नुपर्दैन । आफैँ अनुशासनमा बस्ने र आफ्नो भविष्यप्रति सोच्ने भइसकेका हुन्छन् ।

Advertisement

कक्षा १२ को परीक्षा दिएका ३ लाख ५० हजारमध्ये १ लाख ६० हजार यस्ता विद्यार्थीले आफ्नो करियर केमा बनाउने भनेर उपयुक्त कलेज छान्दै छन् । स्नातक पढ्नका लागि कलेजको कमी छैन । विषय पनि छानी–छानी छन् । तर आफ्नो लक्ष्य हासिल गर्न कुन विषय पढ्ने, कहाँ पढ्ने भन्ने प्रश्नले विद्यार्थीलाई सताउने गर्दछ । 

‘स्नातक भनेको रोजगारी सिर्जना गर्ने ताकत र क्षमता राख्ने मान्छे हुन्, जागिर माग्ने मगन्ते होइन’– स्नातकको मूल्याङ्कन गर्दै भारतीय पूर्वराष्ट्रपति अब्दुल कलामले भनेका थिए । उनले भने झैँ नेपालमा रोजगारी सिर्जना क्षमता राख्नका लागि विद्यार्थीले सबैभन्दा पहिले मार्केट हेर्न आवश्यक छ । ‘विद्यार्थीले उद्यमशील भएर काम गर्नका लागि नेपालको मार्केटअनुसार हाइड्रोपावर, इन्जिनियरिङ, एग्रीकल्चर, टुरिजम जस्ता विषयलाई फोकस गर्नुपर्छ’, हिसानका पूर्वअध्यक्ष उमेश श्रेष्ठ भन्छन्– ‘अहिलेको जमानामा पनि हामीले महत्व बुझेका छैनौँ कि डाक्टरले भन्दा बढी पैसा प्लम्बरले कमाउँछ । त्यसैले १५ हजारको जागिर खान होइन, ५० हजार कमाउने सोच लिएर अघि बढ्नुपर्छ ।’

नेपालमा स्नातक तहमा चिकित्सा विज्ञान, इन्जिनियरिङ, मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षाशास्त्र, कृषि, वन, आयुर्वेद, संस्कृत र कानुन सङ्काय छन् । अन्य विषयमा स्नातक तह उत्तीर्ण गरेकाले मात्रै कानुनको स्नातक तहमा भर्ना हुन पाउने व्यवस्था छ । विद्यार्थीले विषय छनोट गर्दा आनो रुचि र पछि उद्यमशील बन्न सक्ने रोज्नुपर्ने पूर्वसांसद टीएल चौधरी बताउँछन् । ‘विद्यार्थीले प्राविधिक विषय छान्नुपर्छ, जसले गर्दा भोलि बेरोजगार बस्न नपरोस् र युवाहरू उद्यमशील भएर नेपालमै काम गर्न सकून’– उनले भने । विषय छनोट गर्दा पूर्वविद्यार्थीको अनुभव, उनीहरूले अध्ययनपछि रोजगारीमा जाँदा भोग्नुपरेको समस्या तथा पाएको अवसरलाई अध्ययन गरेर विषय छनोट गर्नुपर्ने शिक्षाविद् तीर्थराज खनिया बताउँछन् । 

रोजाइका विषय

kings college

अहिले स्नातकमा भर्ना हुने धेरै विद्यार्थीको रोजाइ बीबीए अर्थात् व्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन हुने गरेको छ । यो विषय पढेका विद्यार्थीहरूले बैङ्क, इन्स्योरेन्स कम्पनी, होटल, कर्पोरेट हाउस जस्ता संस्थामा रोजगारीको अवसर पाउँछन् । अहिले नेपालमा त्रिभुवन, पूर्वाञ्चल, पोखरा, विश्वविद्यालयमा बीबीए पढाइ हुन्छ । यो बाहेक विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी कलेजमा पनि बीबीए पढाइ हुन्छ । 

बीबीए पढ्न महँगो र भर्ना पाउन पनि गाह्रो भएपछि विद्यार्थीहरू बीबीएस अध्ययन गर्छन् । त्रिविका आङ्गिक क्याम्पसमा न्यून शुल्कमा बीबीएस पढ्न पाइन्छ । निजी कलेजमा समेत धेरै खर्चिनुपर्दैन । यसमा सैद्धान्तिक पढाइ हुन्छ । 

स्नातकमा बीचएचएम अर्थात् व्याचलर अफ होटल म्यानेजमेन्ट पनि धेरै विद्यार्थीको रोजाइमा पर्दै आएको छ । होटल म्यानेजमेन्ट पढेकाहरू स्वरोजगार बन्न सक्छन् । नेपाली विद्यार्थीहरू बीएचएम सकेपछि नेपालका फाइभ स्टारमा मात्र नभई विदेशमा समेत इन्टर्नसिपका लागि पुग्न थालेका छन् । नेपालमा पढाइ सकेर विदेशमा इन्टर्नसिप जाने मौका पनि यसै विषयले दिन थालेको छ । 

व्यवस्थापन र कम्प्युटर शिक्षा मिलाएर पढाइ हुने विषय बीआईएम हो । यो विषयमा ४० प्रतिशत व्यवस्थापन र ६० प्रतिशत कम्प्युटर सफ्टवेयरको पढाइ हुन्छ । यो विषय अध्ययन गर्न जुनसुकै सङ्कायबाट स्नातक गरेकाहरूले अवसर पाउँछन् । व्यवस्थापनसँगै कम्प्युटर विज्ञान पढ्न चाहनेहरूका लागि यो विषय निकै उपयोगी छ । प्लस टुमा साइन्स तथा व्यवस्थापन विषय लिएर कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण विद्यार्थीले यो विषय अध्ययन गर्न सक्छन् । यो विषय पढेका विद्यार्थीहरू बेरोजगार बस्नुपर्दैन । बीआईएमका जनशक्तिले सफ्टवेयर इन्जिनियर, सटवेर निर्माता, नेटवर्क व्यवस्थापक र डाटाबेस म्यानेजरका रूपमा काम गर्न सक्छन् । 

यस्तै, नेपालमा व्याचलर इन कम्प्युटर इन्फर्मेसन सिस्टम (बीसीआईएस), व्याचलर अफ इन्जिनियरिङ इन इन्फर्मेसन टेक्नोलजी (बीई–आईटी), व्याचलर अफ साइन्स इन इन्फर्मेसन टेक्नोलजी (बीएस्सी–आईटी), व्याचलर इन कम्प्युटर एप्लिकेसन (बीसीए) लगायतका कोर्स सञ्चालनमा छन । यी विषय पढेका विद्यार्थीहरू प्रोग्राम डेभलपर, सेक्युरिटी एनालिस्ट, सिस्टम एनालिस्ट, वेभ एडमिनिस्टेटर, आईटी म्यानेजर लगायतका क्षेत्रमा करियर बनाउन सक्छन् ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री