बिहीबार, १५ चैत २०८०

विदेशमा रहेका नेपालीका लागि राष्ट्र बैंकले रोजगार बचतपत्र जारी गर्ने,बचतपत्र खरीद गर्दा यसका के छन् फाईदा ?

समयपोष्ट २०७४ मंसिर ५ गते ५:०८

नेपाल राष्ट्र बैंकले मंसिर १० गतेदेखि वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ । बैंकले वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीलाई लक्षित गर्दै  ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको हो । पाँच बर्ष अवधिको वैदेशिक रोजगार बचतपत्र खरिद गर्ने लगानीकर्तालाई राष्ट्र बैंकले प्रत्येक ६ -६ महिनामा बार्षिक दश प्रतिशतका दरले व्याज भुक्तान गर्ने बताएको छ । 

Advertisement

बचतपत्र खरिदका लागि मंसिर १० गतेदेखि २९ गतेसम्म आवेदन खुला गरिने बैंकले जनाएको छ । बचतपत्रको निष्काशन भने पुष ५ गते हुनेछ । वैदेशिक रोजगार बचतपत्रमा न्युनतम  पाँच हजार रुपैयाँ र बढीमा पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सकिनेछ ।  बचतपत्रलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन तथा दिन समेत सकिने बैंकले जनाएको छ ।

उक्त बचतपत्र खरिदकर्ताले आफैँले वा इच्छाइएको व्यक्ति मार्फत ब्याज भुक्तानी लिन सक्नेछन । आफ्नो बैंक खाता वा इच्छाइएको व्यक्तिको बैंक खातामा जम्मा हुनेगरी ब्याज भुक्तानी लिनको निमित्त आफ्नो वा इच्छाइएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्नेछ ।

आफूलाई पायक पर्ने वाणिज्य बैंकहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरुमार्फत सो व्याज भुक्तानी लिन सकिनेछ ।

यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् ।

आवेदन फारम बिक्री एजेण्ट मार्फत निःशुल्क रुपमा प्राप्त गर्न सकिन्छ वा राष्ट्र बैंकको वेबसाइटबाट डाउनलोड गरेर पनि आवेदन गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री