शनिबार, १५ वैशाख २०८१

सम्पन्नता र सुखको आधार : परिवार

समयपोष्ट २०७५ कार्तिक २३ गते ३:३४


प्रभुनारायण बस्नेत

Advertisement

परिवार मानव समाजको मेरूदण्ड हो । यसको अभावमा समाजको अस्तित्वको कल्पना पनि गर्न सकिँदैन । मान्छेमा आएको चेतानासँगै परिवारको विकास भएको हो । सुरूमा मान्छे ठूलो समूहमा बस्थ्यो । प्राकृतिक विपत्ति र हिंस्रक जङ्गली जनावरसँग सामूहिक रुपमै मुकाबला गथ्र्यो । त्यस बेला मानिसको त्यही समूह परिवार थियो । जङ्गली जनावरको सिकार गरेर र फलफूल, कन्दमूल जम्मा गरेर सामूहिक रुपमै भोजन गथ्र्यो ।

समयक्रमसँगै त्यसको रुप बदलियो । सामूहिक जीवनबाट मान्छे निजी पारिवारिक जीवनमा प्रवेश ग¥यो । मानिसले कबिला समाज भनिने युगको सामूहिक परिवारबाट निजी सम्पत्ति, आफ्नो छुट्टै परिवार खडा गर्दा हजारौँ वर्ष बितिसकेको थियो । त्यस क्रममा तेरो–मेरोको भावना पनि विकसित भइसकेको थियो । मान्छेलाई यसरी निजी जीवन, निजी सम्पत्ति र छुट्टै परिवारिक जीवनमा हिँडाउने कार्यमा एकनिष्ठ विवाह प्रणालीले महत्वपूर्ण भूमिका खेलेको समाजशास्त्रीहरुको धारणा छ । एकनिष्ठ विवाह प्रणालीको प्रारम्भ अघि समूहमा बस्ने मान्छेका छुट्टै लोग्ने–स्वास्नी, छोराछोरी र सम्पत्ति हुँदैनथ्यो । त्यस बेला कसैको पनि व्यक्तिगत कुरो, व्यत्तित्व हुँदैनथ्यो, समूह नै परिवार हुने भएकाले त्यसको सञ्चालन भए पुग्थ्यो । छुट्टै उन्नति–प्रगतिको आवश्यकता पर्दैनथ्यो । जब यो युग पार गरेर मान्छे निजी सम्पत्तिको जोहो गर्ने, आफ्नो अलग्गै घरपरिवार र त्यसको भरणपोषण, उन्नति–प्रगतिमा लाग्न थाल्यो, त्यहीँदेखि समाज विकासको क्रम अघि बढ्यो । त्यसैले परिवारलाई समाज विकासको प्रारम्भिक बिन्दु मान्न सकिन्छ ।

अहिले धनी–गरीब, राजा–रङ्क, विद्वान्–मूर्ख सबैका आ–आफ्नै परिवार छन् । परिवारको व्यवस्थापनको तरिका हेरेर मान्छेको मूल्याङ्कन गर्ने परम्परा विकास भएको छ । परिवारको स्थिति समाजको प्रतिबिम्ब देखिने भएकाले नै समाजको स्तर, अवस्था र चेतनाको आँकलन गर्ने गरिन्छ । परिवार समाजको इकाइको रुपमा रहेकाले जाति, धर्म, संस्कार आदिको थालनी पनि परिवारबाटै हुन्छ । सामाजिक सम्बन्ध, समस्या, सभ्यता आदि यावत् कुरा परिवारमै निर्भर रहने हुँदा समाजमा परिवारको सर्वाधिक महत्व स्थापित भएको छ ।

पारिवारिक संरचना

एकनिष्ठ विवाह प्रणालीबाट प्रारम्भ भएको परिवारको देश, काल, परिस्थितिअनुसारकै संरचना तयार हुँदै गयो । सुरूमा परिवार गठनमा धर्मको ठूलो स्थान रह्यो । परम्परा, संस्कृति, शिक्षा र चेतनास्तरअनुसार त्यसको परिमार्जन हुँदै गए पनि सुरूमा संसारभरि नै पारिवारिक संरचना उस्तैखालका थिए । परिवारको स्वरुपमा खासै भिन्नता नभए पनि सञ्चालन विधिमा भने सुरूदेखि आजसम्म एकरुपता छैन । कतिपय समाजमा परिवार सञ्चालनको मूल जिम्मेवारी बाबु–बाजे अर्थात् पुरूषलाई छ भने कतिपयमा आमा–हजुरआमा अर्थात् महिलालाई छ । अझ कतिपयमा त सञ्चालकको चुनावसमेत हुने गर्दछ । परिवार सञ्चालनमा त्यसको संरचनाले पनि ठूलो प्रभाव पार्दछ । आमाले सञ्चालन गर्ने र बाबुले सञ्चालन गर्ने परिवारका सोचाइ, चिन्तन र क्रियाकलापमा निकै ठूलो भिन्नता भेट्टाइन्छ । आमाले चलाउने परिवारमा तुलनात्मक रुपले बढी सामूहिकता हुन्छ । त्यहाँ निजत्वभन्दा समानता बढी हुन्छ ।

परिवारमा कार्यविभाजन, सुविधाको वितरणमा पनि एकरुपता पाइँदैन । राज्यका अन्य तहको जस्तै परिवारमा पनि अभिभावकलाई मन परेको सदस्यले बढी सहुलियत प्राप्त गर्ने र मन नपरेको ठगिने परम्परा कायमै छ । समाजमा हुने शोषण, अन्याय–अत्याचार र व्यभिचारको सुरूवात परिवारबाटै हुन्छ । तुलनात्मक रुपले कम भेद्भाव हुने पारिवारिक वातावरण रहेको समाजमा कम हिंसा हुने, विवेकसम्मत निर्णयमा जोड दिने र गरेको कामको जस्टिफिकेसन गर्ने परम्परा देखिन्छ ।

(क) समाज विकासकै क्रममा परिवारको स्वरुप फेरिने, गठन–विघटन हुने क्रम चलिरह्यो । पारिवारिक जीवनको उत्कृष्ट रुप मानिने पूर्वीय समाजमा पनि अहिले अनेक विकृतिले घर जमाउन थाल्यो । सुरूमा संयुक्त परिवारमा रहन रूचाउने त्यसलाई प्रतिष्ठाको विषय बनाउने मान्छे अहिले ‘सानो परिवार सुखी परिवार’ को नाराले तीन वा चार जनाको एकल परिवारमा रुपान्तरण हुन पुग्थ्यो । चार पुस्ता एउटै परिवारमा रहन सक्ने समाज पारिवारिक विघटनले एकल परिवारमा रुपान्तरण हुन पुग्यो । मान्छेमा पारिवारिक जिम्मेवारी र कर्तव्यभन्दा ज्याँदा स्वतन्त्रताले स्थान लियो । आमा–बाबु, बाजे–बजैप्रति छोरा–नाति उदासीन बन्ने तिनलाई अलपत्र छाड्ने क्रम ह्वात्तै बढ्यो । परिणामस्वरुप वृद्ध–वृद्धा अलपत्र पर्न थाले, छोराछोरी, नाति–नातिना हुँदै तिनले सडकमा आउनुपर्ने वा वृद्धाश्रमको कष्टकर जीवन रोज्नुपर्ने बाध्यता आइलाग्यो । फलतः पूर्वीय समाज पनि व्यक्तिगत स्वतन्त्रता, सम्पत्ति र ऐस–आराम, मोजमस्तीको पछाडि अस्वाभाविक ढङ्गले कुद्न थाल्यो । सामूहिक परिवारको स्थान एकल परिवारले लियो । बाजे–बराजुबाट नाति–पनातिले सिक्ने, थाहा पाउने र पालना गर्ने शिक्षा, संस्कार र परम्परा पनि त्यससँगै लोप हुँदै जान थाल्यो ।

(ख) पश्चिमी दुनियाँको चकाचौँध, कर्तव्यको ठाउँमा अधिकार, बालिग हुनासाथ परिवारबाट मुक्त हुने चलन खुला र स्वतन्त्र यौन क्रियाकलापले परिवारको अस्तित्व विस्तारै समाप्त गर्दै लाँदैछ । शास्त्र, नीति, धर्म–परम्परालाई आँखा चिम्लिएर अन्धविश्वास करार गर्न तम्सने बुजु्रगहरुले पारिवारिक संरचनालाई ध्वस्त पार्दै लगेकोमा चिन्ता गर्नेहरु अहिले हाम्रै समाजमा पनि प्रसस्त छन् ।

पूर्वीय र पश्चिमा पारिवारिक संरचनामा भिन्नता हुन्छ । तर जति भिन्नता भए पनि परिवारको आधारभूत संरचनामा भने संसारभरि एकखाले समानता रहेको पाइन्छ । आधुनिक समाजमा परिवार सञ्चालनका लागि राज्यले पारिवारिक कानुनको प्रबन्ध गरेको हुन्छ । तर कानुन र नियमले मात्र परम्परालाई धान्न नसक्ने भएकाले पारिवारिक संरचना र कानुनबीच कतिपय अवस्थामा विरोधाभाष प्रष्ट देखिन्छ । त्यो अन्तरविरोध सहजै हट्न पनि सक्दैन । हजारौँ वर्ष लगाएर निर्माण भएको, विकसित भएको संरचनालाई ध्वस्त गराउने अनेक तत्वमध्ये उछृ्रङ्खलता र विवेकहीनता प्रमुख छन् । यसलाई बुझेर आजको पिँढी अघि बढ्यो भने पारिवारिक शान्ति, मेलमिलाप, विश्वास र हार्दिकता कायम गर्न सम्भव हुन्छ । त्यही नै सुन्दर परिवारको पहिलो सर्त हो ।

सुन्दर परिवारका आधार

भनिन्छ, बाहिरबाट हेर्दा सुन्दर देखिने वस्तु भित्रीरुपमा कुरुप पनि हुन सक्छ । हरेक सुन्दर कुराका आफ्नै समस्या, जटिलता र विवसता पनि हुन्छन् । सुन्दरता र कुरुपता एक–अर्काका परिपूरक हुन् । त्यसलाई हामीले निरपेक्षरुपमा हेर्नुहुँदैन । परिवारको सुन्दरता भनेको इमानदारी, विश्वास, समझदारी र हार्दिकता हो । के गर्दा त्यो कायम हुन सक्छ भन्ने बुझ्न आवश्यक छ । परिवारका सदस्यहरुबीच अनेकखाले स्वार्थ, अहङ्कार र घमन्डीको बारम्बार टक्कर भइरहन्छ । त्यो स्वाभाविक पनि हो । अस्वाभाविक रुपले तीव्र प्रतिस्पर्धा चल्ने आजको युगमा आफ्ना स्वार्थ सबैका लागि सर्वोपरी हुन्छ र त्यसलाई पूरा गर्न आफ्नैबीच पनि होडबाजी चल्छ । परिवार यही समाजको एउटा अङ्ग हो । समाजमा जे काम हुन्छ न ती सबै परिवारमा पनि हुन्छन् । ती सबै समस्याबाट परिवारलाई ध्वस्त हुन नदिन, विघटन र विखण्डनबाट बचाउन सम्झौताको मार्ग रोज्नुपर्ने हुन्छ । मैले भनेकै हुनुपर्छ, ‘मेरो गोरूको बाहै्र टक्का’ भन्ने ढिपीले परिवार चल्न सक्दैन । त्यसैले सुन्दर र सुखी परिवारका लागि समझदारी र विश्वास मूल आधार हो भने त्यसलाई जोगाउने बाटो सम्झौता हो ।

सम्पन्नता र सुखको आधार

व्यक्तिका आवश्यकता पूरा भए भने उसले थप उन्नतिको बाटो पहिल्याउन सक्छ । अभाव र गरिबीले सताएको मान्छे उन्नतिको पथमा अघि बढ्न सक्दैन । ऊ ईष्र्या, डाहा, कलहको दलदलमा फस्छ । ऊ त्यहाँबाट उठ्नै सक्दैन । त्यसैले परिवार राम्रोसँग चलाउन सबभन्दा पहिले आर्थिक अवस्था मजबुत बनाउन जरूरी छ ।

आर्थिक अवस्था मजबुत बनाउन परिवारको मूलीले विशेषखालको दायित्व पूरा गर्नुपर्छ । काम, योजना, रोजगारी र त्यसबाट प्राप्त रकम व्यवस्थावन समुचित ढङ्गले गर्न सक्नुपर्छ । खर्च बढी गर्ने, अनावश्यक आडम्बर गर्ने र फुङ्साद बन्ने सदस्यलाई सम्झाउन सक्नुपर्छ । आम्दानी बढाउने र खर्च घटाउने उपाय गरेर नै सम्पन्नता हासिल गर्न सकिन्छ । धनी हुने नाममा गैरकानुनी काम गर्न, ठगी–चोरीको बाटो समात्न प्रोत्साहित गर्नुहुँदैन । रातारात करोडपति बन्न खोज्दा त्यसले दुर्भाग्य निम्त्याउन सक्नेतर्फ सचेत गराउनुपर्छ ।

विश्वासको वातावरण

कतिपय संस्थामा ‘पारिवारिक वातावरणमा कार्यसम्पादन गराइन्छ’ भन्ने कथन अङ्कित गरिएको हुन्छ । वास्तवमा पारिवारिक वातावरण भनेको चाहिँ के हो, त्यो बुझ्न आवश्यक छ । पारिवारिक वातावरण कस्तो हुन्छ भन्ने बुझेपछि परिवारको असली रुप जान्न सकिन्छ । पारिवारिक वातावरणको परिभाषा आ–आफ्नै होलान् तर त्यसका निश्चित मापदण्ड निर्धारित हुन्छ, जसलाई सारा दुनियाँले स्वीकार गरेको हुन्छ । त्यसलाई हामीले सधैँ ख्याल राख्न सक्नुपर्छ ।

(क) विश्वास : पारिवारिक वातावरण कायम गराउन सदस्यबीच एक–आपसमा विश्वास हुन जरूरी छ । अनावश्यक शङ्का–उपशङ्का र अविश्वास बढ्यो भने त्यसले उत्पन्न गर्ने कलहले अन्ततः परिवारलाई नै सिध्याउँछ । कसैैले मेरोविरूद्ध केही गर्छ कि, मलाई धोका दिँदै त छैन भनेर कुनै पनि सदस्यले शङ्का–उपशङ्का गर्नु वा त्यस्तो सोच्नुहुँदैन । अझ श्रीमान् र श्रीमतीको चरित्र र सम्बन्धको विषयमा त बिल्कुलै शङ्का गर्नुहुँदैन । श्रीमान्ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्लाई दृढताका साथ विश्वास गर्न सक्ने हो भने पारिवारिक रथ सुचारू ढङ्गले चल्न सक्छ ।

(ख) प्रेम र हार्दिकता : पारिवारिक वातावरणको अर्को आधार हार्दिकता, न्यायोपन, प्रेम, माया–ममता हो । परिवारमा कसैले कुटुता नगर्ने द्वेष, ईष्र्याको बाटो त्याग्ने, सबैलाई भरोसा दिने, सहयोग गर्ने, प्रेम गर्ने हो भने त्यो परिवार साँच्चै सुन्दर बन्न सक्छ । पारिवारिक वातावरण भनेको पनि यथार्थमा न्यानोपन, आफ्नै जस्तो लाग्ने अनुभूति दिन सक्ने परिस्थिति हो । हामीले घरपरिवार मेरै हो, आफ्नै हो भन्ने अन्तर्मनमा नै बस्ने वातावरण निर्माण गर्न सक्नुपर्छ । त्यसोे हुन सक्यो भने पारिवारिक वातावरण बन्न सक्छ । जहाँ बस्दा ढुक्क भइन्छ, न्यानो र आफ्नोपन महसुस हुन्छ वास्तवमा त्यही परिवार हो ।

(ग) परिवारमा अनेक चाडबाड, संस्कार, यज्ञ, पूजा, भ्रमण–यात्रा, मनोरञ्जन, मनचाहे भोजन, खानपान, रमाइलो आदि भइरहन्छन् । त्यस्ता कार्यले सदस्यहरुमा नयाँ ताजगी ल्याउँछ । परिवारको सल्लाहमा कहिले घुमफिर, पिकनिक, वनभोज जाने, कहिले थियटर जाने, फिल्म हलमा गएर फिल्म हेर्ने पनि गर्नुपर्छ । खानामा रूचिअनुसारका परिकार थप्ने वा कुनै दिन रेष्टुरेन्टमै गएर खाने पनि गर्नुपर्छ । रमाइलोले परिवारलाई थप मजबुत् पार्छ । परिवारलाई थप खर्चको बोझ नहुने गरी पनि मन परेका परिकार बनाउन सकिन्छ । चाडबाडमा आफन्त, नातागोता सबैलाई विशेष सत्कार गरेर पनि सन्तुष्टि हासिल गर्न सकिन्छ । घरपरिवारसँग नातागोताको बीचमा पनि सुमधुर सम्बन्ध राख्नुपर्छ । त्यसले घरका केटाकेटीलाई राम्रो संस्कार दिन्छ । त्यस्ता अवसरहरुमा यथोचित व्यवहारको भने खाँचो पर्छ । बच्चाको मन दुखाउनुहुँदैन, जेष्ठ सदस्यको मान राख्नु र आगन्तुकप्रति उचित ध्यान पु¥याउने कुरामा भूल हुनुहुँदैन । त्यस्ता कुरामा भूल भयो भने समस्या पर्न सक्छ ।

र, यो पनि

केटाकेटीको स्वास्थ्य, शिक्षा आदिमा राम्ररी ध्यान दिने, कुलत, गलत सङ्गत, अरू कुनै हानिकारक प्रवृत्ति छ भने छोडी हाल्नुपर्छ । त्यसो गर्दा सुखी र खुसी परिवार बन्न सक्छ । परिवार चलाउन ज्यादै गाह्रो छ, झन् आदर्श परिवार चलाउन त अझै गाह्रो छ । यसमा समयको तालमेल, बुद्धि–विवेकको प्रयोग र सिर्जनशीलताको भरपूर उपयोग गर्न सक्नुपर्छ । एकलकाँटे प्रवृत्तिले ‘मै खाउँ, मै लाउँ सुःख सयल वा मोज म गरौँ, अरू सब मरून् दुर्बलहरु…’ अरू सबै भन्ने भावनाले परिवारमा स्वर्गीय आनन्द भित्र्याउन सकिँदैन । परिवार राम्रो, समय, सुरक्षित संस्कारयुक्त बनाउन मूलीले नै विशेष भूमिका खेल्नुपर्छ । घरमूली बिग्रियो भने घरबार सही सलामत रहन सक्दैन । यस तथ्यप्रति सदैव सजग हुने हो भने परिवार भड्किन, विघटन हुनबाट जोगाउन सकिन्छ । अहिलेको तीन या चार जनाका परिवार, त्यसमा पनि गृहिणी होइन, कामकाजी महिला भए भने तनाव कति हुन्छ, त्यो भनिरहनै पर्दैन । तर, जस्तोसुकै परिस्थितिमा पनि रमाउने वातावरण बनाउनु भनेको पारिवारिक विश्वास कायम राख्न सक्नु नै हो । समयबोध म्यागेजिनको कात्तिक अंकबाट ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री