शुक्रबार, ७ वैशाख २०८१

दैवीशक्तियुक्त कलाकारका लामो नाचले सिङ्गो पाटन उल्लासमय

समयपोष्ट २०७५ कार्तिक २८ गते १३:२२

–सञ्चिता घिमिरे

Advertisement

असी वर्षीय केशवकृष्ण श्रेष्ठको कात्तिक नाचमा सहभागी हुने रहर अझै सेलाएको छैन । झण्डै छ दशकदेखि कात्तिक नाचमा संलग्न हुँदै आउनुभएका उहाँ छोरा र नातिका उमेरकासँगै अहिले पनि जोशका साथ लाग्नुहुन्छ । पहिले नाच्ने र बाजा बजाउने गर्नुभएका उहाँ अहिले भने वाद्यवादन प्रशिक्षण गर्नुहुन्छ । विसं २००१ देखि उहाँ यो नाचमा सहभागी हुँदै आउनुभएको छ । नाचमा विभिन्न उतारचढाव भए पनि उहाँले कहिल्यै सहभागी हुन छाड्नु भएन । उहाँ भन्नुहुन्छ, “ज्यानले सक्दासम्म नाच्ने रहर छ ।”

काठमाडौँ उपत्यकाको सबैभन्दा लामो नाचका रुपमा रहेको कात्तिक नाच सोमबार शुरु भएसँगै सिङ्गो पाटन उल्लासमय बनेको छ । प्रत्येक दिन साँझ कात्तिक डबलीमा नाच देखाइने गरिएको छ । दिनभर विभिन्न काममा व्यस्त हुने पाटनवासी साँझमा समय निकालेर नाच हेर्न पुग्छन् । यस वर्ष नृत्य गर्ने, गाउने र बाजा बजाउने गरेर झण्डै सय कलाकार रहेको कात्तिक नाच संरक्षण समितिले जनाएको छ । नाचका लागि समिति झण्डै तीन चार महीनादेखि तयारीमा लागेको थियो ।

अघिल्ला केही वर्ष जसरी नै यस वर्ष पनि नाच १२ दिनसम्म चल्नेछ । नाचको पहिलो दिन ‘बाःथ प्याखँ’(बाठोको नाच) नाचअन्तर्गतको ‘ल्यव लायेगु’( नाठो पक्रनु) र दोस्रो दिन ‘खुसी छिकेगु’(नदी तर्नु) देखाइएको थियो । आज साँझ उषाहरण लीलाअन्तर्गतको ‘वाणासुरयात सहस्रभुज वरदान नाच’ देखाइँदैछ । उषाहरण लीलाअन्तर्गतकै नाच पाँच दिन चल्दैछ । ‘उषा व अनिरुद्ध शृङ्गार’(उषा र अनिरुद्धको शृङ्गार) ‘देवी प्याखँ’(देवीनाच) ‘युद्ध कला’ र ‘वाणासुरया सहस्रभुज त्वाल्हाइगु’(वाणासुरको हजार हात काट्नु) नाच यसमा छन् । आइतबारसम्म उषाहरण लीलाअन्तर्गतका नाच देखाइएपछि सोमबार ‘मधु–कैटभ बध’ देखाइने भएको छ । मङ्गलबार बराह अवतारको ‘हिरण्याक्ष’ देखाइनेछ । अर्काे साता बुधबार नाचमा सबैभन्दा धेरै आगन्तुकले रुचाउने नृसिंह अवतारको ‘हिरण्यकश्यप बध’ देखाइने भएको छ । बिहीबार ‘वस्त्रहरण लीला’ र अन्तिम दिनमा ‘दधि लीला’ देखाइने संरक्षण समितिले जनाएको छ ।

यस वर्ष सात वर्षपछि ‘ल्यव लायगु’ र ‘खुसी छिकेगु’ देखाइने भएको छ । पहिले झण्डै एक महीनासम्म सञ्चालन हुँदा धेरै खालका नाच देखाइने गरिएको समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले कम दिन देखाइने भएकाले कुनै वर्ष एउटा त अर्काे वर्ष अर्काे नाच देखाइँदै आइएको छ ।” विसं २००६ सम्म नाच एक महीनासम्म देखाइन्थ्यो । राजनीतिक परिवर्तनपछि विसं २०३७ सम्म दुई दिनमा सीमित भएको थियो । त्यसपछि नाचको अवधि आठदेखि १० दिन बनाइयो । यो नाच विसं २०७१ देखि १२ दिनसम्म सञ्चालन भइरहेको छ ।

कात्तिक नाचअन्तर्गत सबै नाचका फरक फरक विशेषता छन् । बाथ प्याखँ शिक्षामूलक हुने गरेको छ । ‘हिरण्यकश्यप बध’ धेरै आगन्तुकले रुचाउने नाच हो । यो नाचका दिन डबली खचाखच हुने गरेको छ । अरू दिनमा झण्डै एक दुई हजारको हाराहारीमा आगन्तुक नाच हेर्न आउनेमा ‘हिरण्यकश्यप बध’ का दिनमा झण्डै १० हजारसम्म आइपुग्छन् ।

यस वर्ष ललितपुर महानगरपालिकाले नाचका लागि रु दुई लाख आर्थिक सहयोग गर्ने भएको छ । यो रकम पर्याप्त नभएको समितिका सदस्य सञ्जय शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलेदेखि नै यो नाचलाई सरकारी नाच भनिए पनि सरकारका तर्फबाट हुने सहयोग पर्याप्त छैन ।” केही वर्षसम्म नेपाल पर्यटन बोर्डले आर्थिक सहयोग गरे पनि त्यसपछि रोकेको छ । महानगरपालिकाले सहयोग बढाउनुपर्ने समितिले बताएको छ ।

कात्तिक नाचलाई समावेशी नाच मानिन्छ । अरू नाचमा नेवारभित्रको एउटा मात्रै समुदायको सहभागिता हुने गरेकामा यसमा सबैको सहभागिता हुन्छ । नाचमा एउटा पात्रका रुपमा एउटा एउटा समुदाय त अर्काे पात्रका रुपमा अर्काे समुदायको सहभागिता हुन्छ । विसं १६९७ मा राजा सिद्धिनरसिंह मल्लले यो नाच शुरु गरेको पाइन्छ ।
राजा कृष्णभक्त भएकाले उनले कृष्ण मन्दिर निर्माण गर्नाका साथै कृष्णलीलामा आधारित नाचको शुरु गरेका थिए । नाचमा तान्त्रिक विधिको प्रयोग हुने गरेको छ । कलाकारलाई दैवी शक्ति प्राप्ति हुने सहभागी कलाकार बताउँछन् । ‘हिरण्यकश्यप बध’मा हिरण्यकश्यप पात्रको बध गरेपछि कलाकारले साँच्चै होश गुमाउने कथन छ । हिरण्यकश्यपले होश गुमाएर होश फर्काउँदासम्मको दृश्य धेरैले रुचाउने गर्छन् । यही कुरा आगन्तुकका लागि सबैभन्दा चाखलाग्दो बन्ने गरेको छ । दशैँतिहार सकिएर र धान थन्काएर पाटनवासी फुर्सदमा हुने समय पारेर नाच सञ्चालन हुने गरेको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री