बिहीबार, १५ चैत २०८०

१ सातामा ३ सय ट्याक्सी चालक कारवाहीमा, ५ पटकसम्म परेकाको लाइसेन्सनै निलम्बन गरिने

समयपोष्ट २०७५ मंसिर २९ गते ६:५७

नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करीब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको छ ।

Advertisement

लगातार पाँच पटकसम्म कारवाही परेमा चालक अनुमतिपत्र ६ महीनाका लागि निलम्बन गर्न सकिने कानूनी व्यवस्थाअनुसार सो अभियान थालिएको प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्था विभागसँगको समन्वयमा मङ्सिर २० गतेबाट नियम विपरीत चल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने योजनाअनुसार अभिलेख राख्न शुरु गरेको हो ।

सो अभियानअन्तर्गत अहिलेसम्म ३०० बढी चालक कारवाहीमा परेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी खाली भएर पनि यात्रु चढाउन नमान्ने १८९ जना चालकलाई कारवाही गरिएको छ ।
यस्तै भाडा मोलमोलाइ गर्ने ९८ जना, मिटर बिगार्ने र प्रयोजनविपरीत प्रयोग गर्ने २० जनालाई कारवाही गरिएको सापकोटाले बताए । मङ्सिर महीनाभरिमा भने ७६५ ट्याक्सी चालक कारवाहीमा परिसकेको उनको भनाइ छ ।

निलम्बन प्रक्रियामा भने मङ्सिर २० गतेपछिको कारवाहीमा परेका ट्याक्सी चालकमा मात्र लागू हुनेछ । पाँच पटकभन्दा बढी नियम उल्लङ्घन गर्नेको अनुमतिपत्र नै निलम्बन हुने गरी विशेष अभियान शुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तको भनाइ छ ।

उनीहरुलाई सादा पोशाकमा खटिएका प्रहरीले पहिचान गरी जरिवाना तिराएर अभिलेख राख्न थालिएको छ । अभियानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा ५० भन्दा बढी सादा पोशाकका ट्राफिक प्रहरी परिचालन गरिएको छ । पहिचान हुने बित्तिकै उनीहरुलाई महाशाखामा ल्याइने, रु तीन हजार जरिवाना तिराइने र उनीहरुको अभिलेख राखिनेछ । लगातार पाँच पटकसम्म रु तीन हजारका दरले जरिवाना लाग्ने र त्यसपछि अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिश गरिने प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री