बुधबार, १२ असार २०८१

कोशी प्रदेशसभा स् राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु

समयपोष्ट २०८१ असार ४ गते १६:३४

Advertisement

कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१-८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ११५(२) बमोजिम यही असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले राजस्व र व्ययको वार्षिक अनुमान सदनमा पेस गर्नुभएको थियो ।

छलफल प्रारम्भ हुनुअघि मन्त्री मगरले सङ्घीय सरकारबाट प्राप्त हुने ससर्त अनुदान कम हुने भएकाले प्रदेशको बजेटमा सङ्कुचन आएको जानकारी दिनुभयो । उहाँले बजेटमा स्रोतहरुको कमी भए पनि आन्तरिक राजस्व र राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम बढिरहेको जानकारी दिँदै प्रदेश सरकारले प्रशासनिक खर्च घटाउने बताउनुभयो ।

मन्त्री मगरले कृषिमा आमूल परिवर्तन गर्न अनुदान हटाई कृषिको व्यवसायिकीकरण तथा यान्त्रिकीकरण गर्न वित्तीय संस्थाबाट लिइने क्रृणको ब्याज प्रदेश सरकारले व्यहोर्ने भन्दै आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने तथा १०औँ राष्ट्रिय खेलकुदका निम्ति खेल र खेलाडीको मनोबल बढाउन बजेट विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले यातायात क्षेत्र प्रदेशको आम्दानीको ठूलो स्रोत भएकाले यसलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले बजेट यथार्थपरक तथा सन्तुलित रहेको चर्चा गर्दै सरकार स्रोतको चापमा परे पनि सामाजिक न्याय, कृषि, खानेपानी तथा सिँचाइका निम्ति योजना कार्यान्वयन गर्न सक्नेगरी प्रस्तुत भएको बताउनुभयो ।

Advertisement

सभाका अर्का सदस्य गोम्बु शेर्पाले आन्तरिक आय वृद्धि नभएकामा चिन्ता व्यक्त गर्दै सरकारले चालु खर्चभन्दा पुँजीगत खर्च बढाउनु सुखद पक्ष हो भन्नुभयो । त्यसैगरी, अर्का सदस्य रमेशकुमार बस्नेतले आगामी आर्थिक वर्षको बजेट सङ्घीयताको मर्मअनुरुप समयानुकूल भएको बताउनुभयो ।

प्रदेशसभा सदस्य शोभा चेम्जोङले चालु खर्च घटाई पुँजीगत खर्च बढाउनेतर्फ सरकार लाग्नुपर्ने सुझाव दिँदै किसानलाई अनुदान दिन माग गर्नुभयो । अर्का सदस्य भूपेन्द्र राईले जनताका आवश्यकता बजेटले सम्बोधन नगरेको टिप्पणी गर्नुभयो ।

त्यसैगरी, अर्का सदस्य गोपाल तामाङले बजेटसँगै रातो पुस्तक पनि प्रदेशसभा सदस्यका हातमा आउनुपर्नेमा त्यसअघि नै सामाजिक सञ्जालबाट सार्वजनिक गर्नु दुःखद भएको टिप्पणी गर्नुभयो । अर्का सदस्य एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको पुँजीगत खर्च कमजोर रहेकामा चिन्ता व्यक्त गर्दै फजुलखर्च घटाउन समिति गठन गर्नुपर्ने सुझाव दिनुभयो ।

त्यसअघि शून्य समयमा प्रदेशसभा सदस्यहरु तारादेवी ढकाल, रामदेव यादव, भूमिप्रसाद राजवंशी, रामप्रसाद महतो, मीना श्रेष्ठ, सविना बजगाईं, उमाकान्त गौतम र गोपालबहादुर विश्वकर्माले मुलुकको समसामयिक अवस्थाबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री