शनिबार, १५ असार २०८१

वनक्षेत्र अतिक्रमण गरी बनाइएको भवनमा डोजर चल्यो

समयपोष्ट २०८१ असार १२ गते २०:३६

Advertisement

सिरहाको गोलबजार नगरपालिका–९ स्थित चोहर्वामा वन क्षेत्र अतिक्रमण गरी बनाइएको चारकोठे पक्की भवन डिभिजन वन कर्यालय लहान, सिरहाले भत्काएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गको दक्षिणतर्फ स्थानीय सत्यदेव यादवले सरकारी नाप, नक्सा तथा दर्ता भएको वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको भवन मङ्गलबार भत्काइए डिभिजन वन कार्यालय लहानका प्रमुख सुजीतकुमार झाले जानकारी दिनुभयो । निर्माणाधीन अवस्थामै वन कार्यालयले काम रोक्न मौखिक तथा लिखितरुपमा गरेको अनुरोधलाई बेवास्ता गरेपछि घर भत्काउन बाध्य भइएको उहाँले बताउनुभयो ।

विसं २०७९ को आमनिर्वाचनको समय पारेर उक्त भवन निर्माण गरिएको उहाँले बताउनुभयो । “हामीले निर्माणकै क्रममा पटकपटक मौखिक तथा लिखित सूचना गरेका थियौँ । उहाँले मतदानको दिन पारी कर्मचारी निर्वाचनमा खटिएको मौका छोपेर छत ढलान गर्नुभयो”, प्रमुख झाले भन्नुभयो, “हामीले सबै प्रक्रिया पूरा गरेर घर भत्काएका हौँ ।” सबडिभिजन कार्यालय गोलबजारबाट १५ दिने सूचना दिएर नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा भवन तथा जग्गा खाली गराइएको प्रमुख झाले जानकारी दिनुभयो । मधेस प्रदेश सरकारको चालू आव २०८०÷८१ को कार्यक्रमअनुसार अब वन क्षेत्रको अतिक्रमण हटाइ तारबारसहितको वृक्षरोपण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

वडाध्यक्ष सुरेन्द्रकुमार सिंहले जानाजानी वनक्षेत्रको जग्गामा पक्की घर बनाउन नमिल्ने भन्दै सुरुमै काम रोक्न अनुरोध गरे पनि नमानेकाले डोजर चलाउनु परेको बताउनुभयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री