सोमबार, १७ असार २०८१

बैंकहरुले अग्राधिकार शेयर जारी गर्न पाउने बाटो खुल्यो, केन्द्रीय बैंकले तोक्यो १२ सर्त

समयपोष्ट २०८१ असार १३ गते ८:३७

Advertisement

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै पुँजीकोषको दबाबमा परेका बैंक तथा वित्तीय संस्थाले अग्राधिकार सेयर जारी गर्न पाउने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले निर्देशिका संशोधन गर्दै प्राथमिक पुँजी कोषको ५ प्रतिशतभन्दा कम सञ्चित नोक्सानीमा भएका बैंकहरुले अविमोच्य अग्राधिकार सेयर (पर्पेच्युअल नन्क्युमुलेटिभ अग्राधिकार सेयर) जारी गर्न पाउने व्यवस्था गरेको हो ।

क्यापिटल एडुकेसी फ्रेम वर्क २०१५ मा बैंकहरूले जोखिम भारतीय सम्पत्तिको १.५ प्रतिशतसम्म यस्तो उपकरणमार्फत अग्राधिकार सेयर जारी गर्न सक्ने व्यवस्था रहेकोमा सोही व्यवस्थालाई राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको हो ।

प्राथमिक पूँजीकोषको ५ प्रतिशतभन्दा बढी सञ्चित नोक्सानीमा भएका बैंकहरुले भने यस्तो अग्राधिकार सेयर जारी गर्न पाउने छैनन् । तर यस्तो सेयर संस्थागत लगानकर्ताले मात्रै खरिद गर्न पाउँछन् ।

Advertisement

निर्देशनमा भनिएको छ, ‘अन्तिम लेखा परीक्षण भएको पछिल्लो वित्तीय विवरणको आधारमा कायम रहेको प्राथमिक पुँजीको पाँच प्रतिशतभन्दा बढी सञ्चित नोक्सानी बाँकी नरहेका इजाजत पत्र प्राप्त संस्थाले बढीमा आफ्नो प्राथमिक पुँजीको शत प्रतिशतसम्मको डिबेन्चर/अन्य ऋण उपकरण जारी गर्ने स्वीकृतिका लागि यस बैंकमा निवेदन पेस गर्नुपर्नेछ । त्यस्तो निवेदनका सम्बन्धमा यस बैंकले आवश्यक सर्त तोकी डिबेन्चर तथा अन्य ऋण उपकरण जारी गर्न स्वीकृति दिन सक्नेछ ।’

तर यस्तो अग्राधिकार सेयर जारी गर्न राष्ट्र बैंकले १२ वटा सर्त तोकेको छ । बैंकहरूले जारी गर्ने पर्पेच्युअल नन्क्युमुलेटिभ अग्राधिकार सेयरको भुक्तानी अवधि तोक्न नपाउने, संस्थागत लगानीकर्ताले मात्रै खरिद गर्न पाउने, यस्ता सेयर धनीलाई सञ्चित मुनाफाबाट लाभांश दिने नपाउने जस्ता सर्त तोकेको छ ।

यस्तै संस्था खारेज भएमा निक्षेप, ऋणपत्र र पूरक पुँजीमा समावेश भएका नियामकीय पूँजी पछि मात्रै यस्तो सेयर धारण गर्ने लगानीकर्ताले भुक्तानी पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सो व्यवस्था ‘क्यापिटल एडुकेसी फ्रेम वर्क २०१५’ लागु हुने इजाजत पत्र प्राप्त संस्थाको हकमा मात्र लागु हुने समेत राष्ट्र बैंकले जनाएको छ ।

यस्ता छन् सर्त

१. अविमोच्य असञ्चिति अग्राधिकार शेयरको भुक्तानी अवधि तोकी निष्काशन गर्न पाइने छैन।

२. अविमोच्य असञ्चिति अग्राधिकार शेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुने गरी जारी गर्नुपर्नेछ।

३. अविमोच्य असञ्चिति अग्राधिकार शेयर इजाजतपत्रप्राप्त संस्था स्वयंले निष्काशन गर्नुपर्नेछ। साथै यस्तो शेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्नेछ।

४. अविमोच्य असञ्चिति अग्राधिकार शेयर कुनै पनि सुरक्षण नराखी निष्काशन गर्नुपर्नेछ।

५. अविमोच्य असञ्चिति अग्राधिकार शेयरमा लाभांश वितरण गर्ने वा नगर्ने सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार सम्बन्धित इजाजतपत्रप्राप्त संस्थामा निहित हुनेछ र यससम्बन्धी व्यवस्था इजाजतपत्रप्राप्त संस्थाले विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ। साथै, यस्तो शेयरमा प्रदान गर्ने लाभांश दर समेत विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ।

६. अविमोच्य असञ्चिति अग्राधिकार शेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँड हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्नेछ। यसका लागि संचित मुनाफा खाता एवम् कुनै पनि कोष खर्च गर्न पाइने छैन।

७. अविमोच्य असञ्चिति अग्राधिकार शेयरमार्फत नोक्सानी प्रशोचन गर्ने सम्बन्धमा:

(क) अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरेका इजाजतपत्रप्राप्त संस्थाको तोकिएको ट्रिगर बिन्दु पुगेको अवस्थामा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो शेयर साधारण शेयरमा परिणत गर्नुपर्नेछ। यसरी परिणत गर्नुपूर्व यस बैंकको स्वीकृति लिनुपर्नेछ।

(ख) यस व्यवस्थाका लागि साधारण शेयर प्राथमिक पुँजी कुल जोखिम भारित सम्पत्तिको ५.१२५ प्रतिशतभन्दा कम भएको अवस्थालाई ट्रिगर बिन्दु मानिनेछ।

(ग) खण्ड (ख) बमोजिम अविमोच्य असञ्चिति अग्राधिकार शेयरलाई संस्थापक समूहको साधारण शेयरमा परिणत गर्नुपर्नेछ। यसरी परिणत गर्दा संख्या निर्धारण गर्ने विधि÷सुत्र विवरणपत्रमा उल्लेख गर्नुपर्नेछ।

८. इजाजतपत्रप्राप्त संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्दा यस प्रकारको शेयरमा निहित जोखिम तथा ट्रिगर बिन्दु पश्चात हुन सक्ने अपेक्षित परिणामका बारेमा स्पष्ट खुलाई रिस्क डिस्कोल्जर स्टेटमेन्ट सार्वजनिक गर्नुपर्नेछ।

९. इजाजतपत्रप्राप्त संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरमा लगानी गर्ने लगानीकर्ताबाट देहायबमोजिम व्यवस्था समेत समावेश गरी लिखित सहमति लिनुपर्नेछ:

(क) उपबुँदा ८. बमोजिम रिस्क डिस्क्लोजर स्टेटमेन्ट लगानीकर्ताहरुले प्राप्त गरेको।

(ख) विवरणपत्रमा उल्लिखित सम्पुर्ण व्यवस्था तथा शर्त पढेको र बुझेको।

(ग) लगानीकर्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयरमा निहित रहेको जोखिमका बारेमा पूर्ण जानकार रहेको।

१०. इजाजतपत्रप्राप्त संस्था खारेजी भएको अवस्थामा अविमोच्य असञ्चिति अग्राधिकार शेयरको भुक्तानी साधारण शेयरभन्दा अगाडि तर पूरक पुँजी मा समावेश भएका नियामकीय पुँजी उपकरणहरु, निक्षेपकर्ता एवं अन्य साधारण साहुभन्दा पछि मात्र हुने।

११. राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर स्वीकृति दिँदा आवश्यकताअनुसार अन्य थप शर्तहरु तोक्न सक्नेछ।

१२. उपर्युक्त व्यवस्था क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ लागू हुने इजाजतपत्रप्राप्त संस्थाको हकमा मात्र लागू हुनेछ।

यसैगरी संशोधित निर्देशनमार्फत अन्तिम लेखापरीक्षण भएको पछिल्लो वित्तीय विवरणका आधारमा कायम रहेको प्राथमिक पुँजीको ५ प्रतिशतभन्दा बढी सञ्चित नोक्सानी बाँकी नरहेका इजाजतपत्रप्राप्त संस्थाले बढीमा आफ्नो प्राथमिक पुँजीको सतप्रतिशतसम्मको डिबेञ्चर÷अन्य ऋण उपकरण जारी गर्ने स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तो निवेदनका सम्बन्धमा यस बैंकले आवश्यक शर्त तोकी डिबेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्न स्वीकृति दिन सक्नेछ।

यसअघिको निर्देशनमा सञ्चित नोक्सानी बाँकी नरहेका इजाजतपत्रप्राप्त संस्थाले बढीमा आफ्नो प्राथमिक पुँजीको सतप्रतिशतसम्मको डिबेञ्चर÷अन्य ऋण उपकरण जारी गर्ने स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेश गर्नुपर्ने व्यवस्था थियो। त्यस्तो निवेदन माथि आवश्यक छानबिन गरी उपयुक्त ठानेमा यस बैंकले डिबेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्ने स्वीकृति दिन सकिने व्यवस्था थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री