बुधबार, १९ असार २०८१

खुट्टाले लेखेर एसइई उत्तीर्ण

समयपोष्ट २०८१ असार १७ गते १६:०२

Advertisement

“अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन”, खुट्टाले लेखेर एसइई उत्तीर्ण हुनुभएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले भन्नुभयो, “सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुसी छु ।”

मदुईस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयबाट खुट्टाले लेखेर एसइई परीक्षा दिनुभएका खत्रीले दुई दशमलव ९२ जिपिए ल्याएर एसइई परीक्षा उत्तीर्ण हुनुभएको छ । एसइई दिएकै विद्यालयबाट बाली विज्ञानमा उच्च शिक्षा हासिल गर्ने उहाँको योजना छ । उहाँले भन्नुभयो, “मैले कक्षा ९ देखि बाली विज्ञान लिएर पढेको हुनाले उच्च शिक्षा पनि बाली विज्ञानमा नै गर्ने सोचेको छु ।” पढाइ सकेपछि भविष्यमा लोकसेवा दिएर अधिकृत बन्ने इच्छा उहाँको छ ।

शारीरिक रुपले अशक्त १८ वर्षीय उमेश खुट्टाले लेखेर एसइई परीक्षामा उत्तीर्ण हुने यस क्षेत्रकै पहिलो विद्यार्थी हुनुहुन्छ । उमेश जन्मजात दुवै हात र खुट्टा नचल्ने भएर जन्मनुभएको हो । पटक पटकको उपचारपछि हातको नशामा कुनै सुधार नआएपछि उहाँको खुट्टाको भने तीनपटक शल्यक्रिया गरिएको थियो । त्यसपछि अलिअलि खुट्टा चल्न सुरु गरेको आमा गोमा खत्रीले बताउनुभयो ।

खुट्टा चल्न थालेपछि उमेशले खुट्टाकै भरमा आफूले सक्ने काम गर्न थालेको आमा गोमा बताउनुहुन्छ । खुट्टा चल्न सुरु गरेपछि उहाँलाई हिँड्न कसैको सहारा चाहिएन तर धेरै समय उभिन सक्नुहुन्न । खुट्टाले काम गर्न सक्ने भएपछि गोमाले छोरालाई विद्यालय भर्ना गर्नुभएको थियो ।

Advertisement

“सुरुमा गाउँकै जय दुर्गा आधारभूत विद्यालयमा पढायौँ । त्यसपछि गाउँमै सञ्चालित वागेश्वरी वेस्टर्न इङ्लिस बोर्डिङमा कक्षा ७ सम्म पढाएर लक्ष्मी माविमा भर्ना गरेका हौँ”, उहाँले भन्नुभयो, “छोरा पहिलादेखि पढाइमा अब्बल भएकाले एसइईमा पास हुन्छ भन्नेमा ढुक्क थिएँ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री